भरतपुरमा मतपत्र कति च्यातियो एकीन नहुँदा अझै अन्योल, एकीन गरेर प्रतिवेदन पठाउन आयोगको निर्देशन
काठमाडौं, जेठ १७ – निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मतगणनको क्रममा च्यातिएको मतपत्र एकीन गरेर प्रतिवेदन पठाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।
भरतपुरमा मतपत्र च्यातिएपछि रोकिएको मतगणनाबारे निर्णय गर्न बुधबार बसेको आयोगको बैठकले दलको प्रतिनिधिको रोहबरमा च्यातिएका मतपत्रको संख्या एकीन गर्न निर्देशन दिएको हो ।
बुधबार आठ घण्टासम्म बसेको आयोगको बैठकले भनेको छ, ‘उम्मेदवार वा निजका एक एक जना प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख समेतको रोहवरमा खोली गणनाको क्रममा रहेका मतपत्र मध्ये च्यातिई नोक्सान भएका मतपत्रको संख्या एकीन गरी प्रतिवेदन मुख्य निर्वाचन अधिकृतलाई लेखी पठाउन निर्णय भएको छ ।’
घटनाबारे छानबिन गर्न आयोगले सोमबार गीताप्रसाद तिमिल्सिनको संयोजकत्वमा अनुगमन समिति गठन गरेको थियो । निर्देशनअनुसार समितिले बुधबार आयोग समक्ष प्रतिवेदनसमेत बुझाइ सकेको छ । आयोगमा बुझाइएको प्रतिवेदनमा मतपत्र कति च्यातिएको हो भन्ने एकीन विवरण नहुँदा अझै के गर्ने भन्ने निर्णय हुन सकेन । निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले घटनाबारे प्रतिवेन पठाए पनि आयोगले च्यातिएको मतपत्र एकीन गर्न भनेको हो ।
आइतबार राति भरतपुर महानगरपालिकाको १९ नम्बर वडाको मतगणना जारी रहेका बेला माओवादी केन्द्रका प्रतिनिधि मधु न्यौपाने र द्रोणराज शिवाकोटीले मतपत्र च्यातेपछि मतगणना रोकिएको छ । भरतपुर महानगरपालिकामा कांग्रेसको समर्थनमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेणु दाहाल र एमालेकी देवी ज्ञवालीबिच मेयरमा प्रतिसपर्धा छ ।
मतगणना रोकिने बेलासम्म ज्ञवाली र दाहालको मतअन्तर ७ सय ३३ थियो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार देवी ज्ञवालीले ४१ हजार ६ सय ४१ र रेणु दाहालले ४० हजार ९ सय ८ मत पाउनुभएको थियो ।


