चिनियाँ रक्षामन्त्री बिहीबार नेपाल आउँदै

काठमाडौँ, ९ चैत । छिमेकी मुलुक चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमणको सिलसिलामा बिहीबार यहाँ आउँदै हुनुहुन्छ ।

रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणमा आउन लागेको रक्षा मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चीनका रक्षामन्त्री चाङले प्रधानमन्त्री निवास बालुवाटारमा भोलि बिहीबार शिष्टाचार भेट गर्नुहुनेछ ।

रक्षामन्त्री खाँण र चाङबीच सिंहदरबारस्थित रक्षा मन्त्रालयमा बिहीबार नै भेटवार्ता हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । चिनियाँ रक्षामन्त्री चाङले नेपाली सेनाको उपत्यका पृतनाको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुहुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग उहाँले शुक्रबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुहुनेछ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिसँग रक्षामन्त्री चाङले सोही दिन भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।

यसअघि सोही दिन बिहान मन्त्री चाङले सैनिक मुख्यालयमा प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेटवार्ता गर्नुहुनेछ । रक्षामन्त्री चाङले वसन्तपुर क्षेत्रका क्षतिग्रस्त सम्पदाको अवलोकन भ्रमण गर्नेसमेत कार्यक्रम रहेको छ ।

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका क्रममा आपसी हित, द्विपक्षीय चासो र सहयोगका बारेमा छलफल हुने रक्षा मन्त्रालयका प्रवक्ता उत्तमप्रसाद नागिलाले राससलाई जानकारी दिनुभयो ।

चिनियाँ रक्षामन्त्री चाङको उच्चस्तरको भ्रमणले नेपाल र चीनबीचको सम्बन्धमा थप उचाइ प्रदान गर्ने विश्वास प्रवक्ता नागिलाले व्यक्त गर्नुभयो ।

नेपालको पूर्वाधार निर्माणमा चीनको सबैभन्दा ठूलो सहयोग रहँदै आएको छ । चीनले पछिल्लो समय नेपालका ऊर्जा, सडक सञ्जाल, प्रविधि तथा व्यापार क्षेत्रमा लगानी र सहयोग गरिरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।