जब आफ्नै सन्तानले वृद्धाश्रममा छोडेपछि…

मोरङ, वैशाख १४ । आफ्नो श्रीमान्, छोराछोरी, परिवार या आफन्तको साथ नपाएपछि को पो खुसी हुन सक्छ र ?

आश्रममा आफन्त नभएका कोही छैनन् । सबैका आफन्त छन्, तैपनि उनीहरू आश्रममा बस्न बाध्य छन् ।

विराटनगर–१३ स्थित विराटेश्वर वृद्धाश्रममा रहेकी ७३ वर्षीया विष्णु श्रेष्ठको घर भोजपुर जिल्लाको साबिक सिक्तेल–५ हो । उनका पाँच छोरा र एक छोरी छन्, तर भएर पनि नभए जत्तिकै छ । उनी भन्छिन्, ‘श्रीमानको मृत्यु भएको दश वर्ष भयो । सबै छोराछोरी विवाहपछि आ–आफ्नै दुनो सोझ्याउनतिर लागेपछि म यहाँ आइपुगेँ, आफन्तले वास्ता नगरे पनि दुःखीका लागि भगवान हुँदारहेछन् ।’

६९ वर्षीया सिङ्घामाया तामाङ पाठेघरको शल्यक्रियापछि विभिन्न समस्यामा छिन् । आमा बन्न नसक्ने भएका कारण धेरै पीडित भइन् । श्रीमानको मृत्युपछि आफन्तले दुःख दिन थाले । आफ्नो घर ठेगाना बताउन नचाहने उनी कतै केही नलागेपछि विराटनगरको विराटेश्वर वृद्धाश्रमको सहारा लिन पुगेको बताउँछिन् ।

श्रीमान् ३५ वर्षको उमेरमा लागुपदार्थ सेवनको कारण बिने । श्रीमान् बितेपछि उनी बेसहारा भइन् । उनले आफन्तलाई सहयोग पनि गरिन् तर आफूलाई पर्दा साथ दिने कोही नभएकामा उनी साह्रै दुःखी छिन् ।

सुनसरी छिटाहा गाविसकी भकुमारी थापामगर शारीरिकरुपमा अशक्त देखिन्छिन् । उनी जन्मँदै यस्तै थिइन् । भकुमारी कान सुन्छिन् तर, बोल्न भने सक्दिनन् । तीन वर्षअघि विराटेश्वर वृद्धाश्रम आइपुग्दा यस्तै थिइन् उनी । अहिले पनि उनको स्वरुप बदलिएको छैन । बिहे भएको छैन । उमेर त्यस्तै ५०/५५ जतिको हो ।

उनका दाजुभाइ कहिलेकाहीँ आउँछन्, जान्छन् । केही खानेकुरा छोडिदिन्छन्, फर्किन्छन् । भकुमारीलाई यतिमै पनि सन्तुष्ट मान्नुपर्ने बाध्यता छ । शारीरिक अवस्था यस्तो भए पनि उनीजति जाँगरिली यो आश्रममा कोही छैनन् । राति ३ बजे उठेर नुहाउँछिन् । आश्रम वरपर सफासुग्घर गर्छिन् ।

‘उहाँलाई यस्तो अवस्थामा उहाँकै आफन्तले ल्याइदिए,’ आश्रमका अध्यक्ष जगत अर्ज्याल भन्छन्, ‘काम लाग्न छोडेपछि वृद्धवृद्धालाई आश्रमतिर ल्याउँछन्, आफन्त भन्ने त कामलाग्दा मात्र हुँदोरहेछ ।’

वृद्धाश्रममा बस्दैमा कोही गरिब र कोही दुःखी हुँदैन भन्ने उदाहरण बनेका छन्, विराटनगरस्थित विराटेश्वर वृद्धाश्रमका वृद्धवृद्धा । यी वृद्धवृद्धा कोही आफन्तले स्याहारसुसार नगरेपछि आफैँ आइपुगे, कतिपयलाई आफ्नै छोराबुहारीले बूढेसकाल लागेपछि यहाँ ल्याएर छाडिदिए ।

यहाँ आश्रय लिएपछि उनीहरूले आफन्त बिर्सिएका छन्, अतीत भुलेर नयाँ जिन्दगी सुरु गरेका छन् । विराटनगर–१३ मलायारोडस्थित विराटेश्वर वृद्धाश्रममा करिब ३० वृद्ववृद्धा बस्दै आएका छन् । उनीहरूका पनि आ–आफ्नै कथाव्यथा छन् । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖