४० लाखको लागतमा विदेशीले बनाए भूकम्पले भत्काएको विद्यालय भवन

गोरखा (रिप्चेत), १४ वैशाख । गोर्खाको नुब्रे चुम गाउँपालिका रिप्चेतमा भूकम्पले भत्काएको सिप्चेत प्राथमिक विद्यालय भवन निर्माण गरिएको छ ।

एसओएस नेपाल र स्टेप जिरो वानको आर्थिक सहयोग तथा हिमालय पिस एजुकेसन फाउन्डेसनको समन्वयमा रु ४० लाखको लागतमा सो विद्यालय भवन निर्माण गरिएको फाउन्डेसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले राससलाई बताउनुभयो ।

गोर्खाको नुब्रे चुम गाउँपालिका रिप्चेतमा भूकम्पले भत्काएको सिप्चेत प्राविको नवनिर्मित भवन उदघाटन समारोहका सहभागी । एसओएस नेपाल र स्टेप जिरो वानको आर्थिक सहयोग तथा हिमालय पिस एजुकेसन फाउन्डेसनको समन्वयमा रु ४० लाखको लागतमा सो पाँच कोठे विद्यालय भवन निर्माण गरिएको हो । तस्बिर : सूर्यचन्द्र बस्नेत, रासस

प्रसिद्ध पर्वतारोही स्टेफन केक, जोसेफ इनवलर र हयान्स आर्कसहितको सक्रियतामा आर्थिक सहयोग जुटाएर पाँचकोठे भवन बनाइएको हो ।

विद्यालय बनाउने क्रममा हेलिकप्टरबाट सामान ढुवानीमा सहयोग गरेका अस्ट्रियाका हयान्स आर्कको दुर्घटनामा परी निधन भएपछि उनको स्मृतिमा विद्यालय बनाइएको हो । विद्यालयमा त्यस क्षेत्रका २१ छात्रासहित ३० विद्यार्थी अध्ययनरत रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठिन्ले ग्याम्जो लामाले बताउनुभयो । बुधबार आयोजित कार्यक्रममा पर्वतारोही स्टेफेन केक र फाउन्डेसनका अध्यक्ष लामाले व्यवस्थापन समितिलाई विद्यालय भवन हस्तान्तरण गर्नुभएको थियो ।

सदरमुकाम गोर्खाबजारबाट तीन दिनको पैदल यात्रामा पुगिने चुम उपत्यकाको रिप्चेत करिब दुई हजार ४७० मिटरको उचाइमा अवस्थित छ । भूकम्पले भत्काएका रिप्चेतका ४२ मध्ये अधिकांश घर निर्माण भए पनि खानेपानीको मुहान निर्माण तथा नियमित बिजुली बाल्नका लागि रकम अभाव भएको अध्यक्ष लामाले बताउनुभयो । गणेश, श्रृङ्गी, लङ्जुलगायतका हिमालको काखमा रहेको रिप्चेतमा भूकम्पले भत्काएका चारवटा गुम्बा अझै बनाउन नसकिएको स्थानीयवासीले बताए ।

हिमालय पिस एजुकेसन फाउन्डेसनले नुवाकोट, सिन्धुपाल्चोक र गोर्खामा छ विद्यालय बनाइसकेको छ । काभ्रेमा खानेपानी योजना र सगरमाथा आधार शिविर जाने पदयात्रा मार्गमा पथप्रदर्शक बस्न मिल्ने भवन निर्माणाधीन छ । रसुवामा गुठीमा भएको जग्गाको स्वामित्व ३०५ घरपरिवारलाई दिलाउन आर्थिक सहयोग दिनाका साथै ५० बालबालिका अटाउने बालगृह बनाएको फाउन्डेसनका उपाध्यक्ष शैलेन्द्र कार्कीले बताउनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।