चट्याङ लागेर चितवनमा माओवादी उमेदवारको मृत्यु
के हुन्छ जब कुनै उम्मेदवारको मृत्यु हुन्छ ? यस्तो छ ब्यबस्था...
काठमाडौं । चितवनको कालिका नगरपालिका–११ का खुला सदस्य पदका उमेदवारको चट्याङ लागेर मृत्यु भएको छ ।
माओवादी केन्द्रको तर्फबाट उमेदवार बनेका ३८ वर्षीय सिफल चेपाङको घरमै सुतिरहेका बेला मंगलबार बिहान ३ बजे चट्याङ लागेको थियो । उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कालिका नगरपालिकाका निर्वाचन अधिकृत नेत्रप्रसाद शर्माका अनुसार उमेदवारको मृत्यु भएको खबर आफूहरुले पाएको जानकारी दिए ।
यसबारे निर्वाचन ऐनमा भएको व्यवस्थाअनुसार निर्णय गरेर अगाडि बढ्ने उनले बताए ।
===
स्थानीय तह निर्वाचन ऐनअनुसार उमेदवारको अन्तिम नामावली प्रकाशित भएपछि कुनै दलबाट मनोनयन भएको उमेदवारको मृत्यु भएमा निम्न अनुसार निर्वाचन कार्यक्रम अगाडि बढ्ने छ ।
२७. उम्मेदवारको मृत्यु भएमा
(१) दफा २४ बमोजिम उमेदवारको अन्तिम नामावली प्रकाशन हुनुभन्दा अघि दलबाट मनोनयन भएको उमेदवारको मनोनयनपत्र रीतपूर्वकको ठहर भई सकेको र आफ्नो नाम फिर्ता नलिएको कुनै उम्मेदवारको मृत्यु भएमा र त्यस्तो मृत्यु भएको लिखित सूचना निज उम्मेदवारको निर्वाचन प्रतिनिधि वा सम्बन्धित दल वा अन्य कुनै व्यक्तिबाट प्राप्त भएमा र त्यस्तो कुरामा निर्वाचन अधिकृत विश्वस्त भएमा निजले त्यस्तो निर्वाचनसँग सम्बन्धित अन्य कार्यक्रम तुरुन्त स्थगित गर्नु पर्नेछ र त्यसको जानकारी आयोगलाई दिनु पर्नेछ ।
(२) दफा २४ बमोजिम उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि कुनै दलबाट मनोनयन भएको उम्मेदवारको मृत्यु भएमा र त्यस्तो मृत्यु भएकोे लिखित सूचना निज उम्मेदवारको निर्वाचन प्रतिनिधि वा सम्बन्धित दल वा अन्य कुनै व्यक्तिबाट प्राप्त भएमा र त्यस्तो कुरामा निर्वाचन अधिकृत विश्वस्त भएमा निजले त्यस्तो निर्वाचनसँग सम्बन्धित अन्य कार्यक्रम तुरुन्त स्थगित गर्नु पर्नेछ र त्यसको जानकारी आयोगलाई दिनु पर्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम कार्यक्रम स्थगित भएकोे सूचना अन्य उम्मेदवार समेतको जानकारीको लागि निर्वाचन अधिकृतले आफ्नोे कार्यालयमा टाँस्नु पर्नेछ ।
(४) आयोगले उपदफा (१) बमोजिमको जानकारी प्राप्त गरेपछि त्यस्तो निर्वाचनको मतदानको कार्यक्रममा असर नपर्ने गरी उम्मेदवारको मनोनयन सम्बन्धी कार्यक्रम यथाशक्य छिटो पूरा गर्न अर्को कार्यक्रम निर्धारण गरी निर्वाचन अधिकृतलाई पठाउनु पर्नेछ ।
(५) आयोगले उपदफा (२) बमोजिमको जानकारी प्राप्त गरेपछि त्यस्तो निर्वाचनमा मतदान गर्ने मिति लगायत निर्वाचनको लागि यस परिच्छेद बमोजिमको अन्य कार्यक्रम पुनः निर्धारण गरी निर्वाचन अधिकृतलाई पठाउनु पर्नेछ ।
(६) उपदफा (१) वा (२) बमोजिम कार्यक्रम स्थगित भएकोमा पहिले मनोनयन पत्र पेश गरी रीतपूर्वकको ठहर भईसकेको वा उम्मेदवारको अन्तिम नामावलीमा नाम रहेको उम्मेदवारले पुनः मनोनयनपत्र दाखिला गर्नु पर्ने छैन र जुन दलको उम्मेदवारको मृत्यु भएको हो त्यस्तो दलको तर्पmबाट मात्र पुनः उम्मेदवार मनोनयन गर्न सकिनेछ ।
(७) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उम्मेदवारको मृत्यु भई निर्वाचनको कार्यक्रम स्थगित गर्नु पर्दा निर्वाचन कार्यक्रममा लेखिए बमोजिमको काम सम्पन्न गर्नु पर्ने अवधि सात दिन भन्दा बढी भएमा पुनः अर्को कार्यक्रम प्रकाशन गर्नु पर्ने छैन र सोही कार्यक्रमको समयावधिभित्र मतदानको काममा बाधा नपुग्ने गरी उम्मेदवारको मनोनयन सम्बन्धी काम पूरा गर्नु पर्ने गरी मिलाउनु पर्नेछ ।


