दुवै मिर्गौला खराब भएर डायलासिस गरिरहेका पतिको उपचार खर्च जुटाउन टेम्पो चलाउँदै २६ वर्षीया शान्ता राई !

काँकडभिट्टा (झापा), २६ वैशाख । दुवै मिर्गौला खराब भएर विगत एक वर्षदेखि डायलासिस गरिरहेका पतिको उपचार खर्च जुटाउन अर्जुनधारा–७ की २६ वर्षीया शान्ता राईले टेम्पो चलाउन थाल्नुभएको छ ।

दुवै मिर्गौला खराब भएर विगत एक वर्षदेखि डायलासिस गरिरहेका पतिको उपचार खर्च जुटाउन अर्जुनधारा–७ की २६ वर्षीया शान्ता राईले टेम्पो चलाउँदै । तस्बिर : चन्द्रकला भण्डारी, काँकडभिट्टा(झापा), रासस

शान्ताका पति ३६ वर्षीय भूपिन राईको दुवै मिर्गौला खराब छ । आर्थिक अवस्था ज्यादै नाजुक भएकाले दाताबाट आर्थिक सहयोग जुटाएर उहाँको उपचार भइरहेको छ ।

सातामा तीनपटक डायलासिस गर्नुपर्ने अवस्था भएका भूपिनलाई उपचारका लागि सहयोग जुटाउन स्थानीयवासीले युवा नेता चतुर्भुज काफ्लेको संयोजकत्वमा ‘भूपिन राई बचाऊ अभियान’ गठन गरेका थिए । सोही अभियानबाट सङ्कलित रकमले टिभिएस कम्पनीको टेम्पो आइतबार खरिद गरिएको हो ।

‘सधैँभरि चन्दा मागेरमात्र साध्य नभएपछि उहाँ (पति)को उपचार खर्च जुटाउन टेम्पो चलाउने निर्णय लिएकी हुँ’ – रासससँगको कुराकानीमा शान्ता बताउनुहुन्छ ।

सहयोग जुटाउन गठित अभियानले विगत छ महिनामा रु १६ लाख सङ्कलन गरेको थियो । काठमाडौँ, धरान र बिर्तामोडमा उपचार गराउँदा खर्च भएर अब सो अभियानको नाममा बैंकमा रु ११ लाखमात्र बाँकी रहेको संयोजक काफ्ले बताउनुहुन्छ ।

बारम्बार सहयोग नजुट्ने र दिगो स्रोतको खोजी नगर्दा भएको ढुकुटी पनि रित्तिने भएकाले बेलैमा आय आर्जनको बाटो पहिल्याउँदै भूपिनकी पत्नी शान्तालाई टेम्पो किनेर दिएको उहाँको भनाइ छ ।

मजदुरी गर्ने भूपिनका दुवै मिर्गौला खराब भएपछि परिवारकै अबस्था पनि नाजुक हुँदै आइरहेको थियो ।
हाल बिर्तासिटी अस्पतालमा सातामा तीनपटक डायलासिस गराइरहेका भूपिनलाई पत्नी शान्ता र आफन्तहरुले एउटा मिर्गौला दान गर्न मञ्जुर भएपनि परीक्षण गर्दा फरक देखिएको अभियानका सदस्य चन्द्रलाफा मगर बताउनुहुन्छ ।

मिर्गौला प्रत्यारोपण हुन नसक्ने अवस्था भएकाले समितिले हाल उठेको सहयोग रकम परिवारका सदस्यलाई हस्तान्तरण गर्न चाहेपनि परिवारको सल्लाहमा दिगो आर्थिक स्रोतको पहिचान गर्ने क्रममा त्यही रकमबाट टेम्पो किनिएको हो ।

टेम्पोको बजार मूल्य पाँच लाख ३५ हजार हो । तर सहारा नेपालले रु २५ हजार छुट गरिदिएकाले शान्ताले रु पाँच लाख १० हजारमा टेम्पो पाउनुभएको हो । टेम्पो कुदाएर दैनिक रु एक हजारदेखि एक हजार ५०० सम्म आम्दानी हुने शान्ताको अपेक्षा छ । त्यसबाट उहाँले सातामा तीनपटक पति भूपिनको डायलासिस र परिवारको भरणपोषण खर्च पु¥याउनुपर्छ । उनीहरुका १० वर्षकी एक छोरी सगुन कक्षा ४ मा पढ्छिन् भने छ वर्षका छोरा तान्छोप्पा एलकेजीमा पढ्छन् ।

शान्ताले बिहानै उठेर परिवारका सबैलाई खाना पकाएरमात्र टेम्पो लिएर बजारतिर आउने गर्नुहुन्छ । बिरामी भूपिनले छोराछोरीलाई भात खुवाएर स्कुल पठाउने गर्नुहुन्छ । भूपिन अरु काम गर्न नसक्ने हुँदा बेलुका शान्ता छिट्टै घर फर्किनुहुन्छ ।

आर्थिक स्थिति कमजोर भएकाले वैदेशिक रोजगारीका लागि कतार पुगेपनि भूपिनको अवस्था ज्यादै नाजुक भएपछि सात महिना पछि उहाँ नेपाल फर्केर पतिको उपचारमा जुटनुभएको थियो

भूपिन बचाऊ अभियानका संयोजक काफ्लेले अब टेम्पो चलाएर गरेको आम्दानीले भूपिनको उपचार र परिवारको पालनपोषणमा सहयोगी हुने बताउनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।