चुनावको कमाल: एक महिना भयो चुनावका कारण फुटपाथमा ब्यापार गर्ने गरिबको सामान जफत भएको छैन
ब्यापारी खुशी, स्थानिय प्रतिनीधि भन्छन,- ‘हाम्रो पार्टीको एजेण्डा नै फुटपाथमा काम गर्नेहरुको हितका लागि हो ।’
धनकुटा खबर / जेठ ९, ईटहरी । ईटहरी चौक देखि उत्तर तर्फको धरान रोड क्षेत्रमा सदा झैं सवारी र मानिसहरुको बाक्लो आवागमनको कोलाहल थियो ।
यहाँ हरेक मान्छे र सवारीहरु बर्खामा निस्केको छिचिमिराझै आ–आफ्नो सुरमा छरपष्ट र ब्यस्त देखिन्थे ।
यहि भिडभाडको सडक किनारामा बिगत १० बर्ष देखि मकै पोलेर बेच्दै आएकी ईटहरी ४ बाहुन्नेकी रेणु मण्डल पनि हरीयो मकै पोल्ने सुरसारमा थिईन् ।

तस्वीर: मकै पोल्दै मण्डल र सोहि स्थानका अर्की एक महिला ।
टन्टलापुर घाममा गम्छाले निधारको पसिना पुस्दै मण्डल मकै पोल्न मात्र लागेकी के थिईन । अचानक,‘ए माई ! आजपनि फेरी बस्यौ ?’ भन्दै उनको सबै मकैको धोक्रो नगर प्रहरीले जफत ग¥यो । सडक पेटीमा बसेर मकै पोल्नेहरुको भागाभाग भयो ।
उनले आफ्नै लवजमा ‘भोली देखि हामी आउदैनौं’ भनेर मकै खोस्न खोजेपनि उनको मकै फिर्ता भएन ।
यो छोटो तर पीडादायीक कथा ईटहरी सडक क्षेत्रको सडक पेटी र फुटपाथको निषेधित क्षेत्रमा ब्यापार गर्दा महिनामा दर्जनौ पटक नगरपालिकाद्वारा सामान जफत हुनेहरुको हो ।
तर एक महिना भयो चुनावका कारण यो क्षेत्रमा नगर प्रहरीले कसैको सामान जफत गरेको छैन । किनकी यतिबेला मण्डल जस्ता दर्जनौ फुटपाथमा ब्यपार गर्ने निरीह गरिवहरु पनि कसैका भोट बैंक हुन् ।
‘चुनावले गर्दा आजकल त पुलिसले लगेको छैन सर’–खुशी मुद्रामा मण्डल भन्छिन् । मासिक १५ हजार सम्म कमाएर ६ जनाको परिवार पाल्दै आएकी मण्डले अब ढुक्क काम गर्न पाईन्छ भन्ने आस पलाएको छ ।
चुनाव नभएको १९ बर्ष सम्म उनीहरुको बारेमा केहि नबोले पनि स्थानिय प्रतिनीधि आउन लागेकोले उनीहरुलाई हटाउन नदिईएको ईटहरीका एक ठूला दलका सचिव रोशन भिमिरेले बताए । चुनाव प्रचारका क्रममा भेटिएका उनले भने–‘हाम्रो पार्टीको एजेण्डा नै फुटपाथमा काम गर्नेहरुको हितका लागि हो ।’


