‘देउवाको अभिव्यक्ति स्वागत योग्य छ, भारतको डुबान रोक्न सप्तकोशीमा उच्च बाँध सही छ’ : राजपा
काठमाडौं, ११ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा दिएको अभिव्यक्ति र गरेका सम्झौताको विरोध भइरहेको बेला राष्ट्रिय जनता पार्टीका नेताहरुले भने त्यसको स्वागत गरेका छन् ।

राजपाका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्रीले संविधान संशोधनबारे दिएको अभिव्यक्ति स्वगत गर्दै विरोध गर्नुको कुनै तुक नरहेको बताए । उनले प्रधानमन्त्री देउवाले गरेको गरेका सम्झौताको पनि स्वागत गरे ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कर्णले नेपाल सप्तकोशीमा उच्च बाँध बाँध्ने सहमतिको बचाउँ गरे । उनले भने, ‘खोला हाम्रो, पानी हाम्रो अनि बाढी चाँही भारतको हुने ?’ उनले भारतको विरोध गर्दा राष्ट्रवादी हुने चलन छ त्यो उचित नभएको बताए ।
उनले नेपालको पानीले भारतमा बाढी-डुबान हुने भन्दै अझै सीमा बाँधहरु बाँध्नु पर्ने सुझाव दिए । नेता कर्णले चुरे फडानीले तराई मरुभूमिकरण हुँदै गएको भन्दै समाधानको कुनै उपाय नपनाए १० वर्षमा मधेसमा मरुभूमिकरण हुने दाबी समेत गरे ।


