अध्यक्ष प्रचण्डले भने,- मलाई लम्पसारवादी भन्नेहरु चुनावपछि राजनेता भन्न थाले
बारा, १९ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री बन्ने बेला लम्पसारवादी भन्ने एमालेका नेताहरुमा नै दस महिनामा प्रधानमन्त्री नछोड्नु भन्ने ठाउँमा आई पुगेको बताएका छन् ।
सोमबार बिहान सिमरामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले दश महिना सरकारको नेतृत्व गर्दा आफूले देश र जनताको पक्षमा काम गरेको बताए ।
‘म प्रधानमन्त्री बन्नको बेला देशको विदेश नीति लड्खडाएको थियो, राष्ट्रिय एकता जोखिममा थियो’, उनले भने, ‘मधेश र पहाड एक आपसमा भिडेर देश नै भीडन्तमा जाने त होइन ? भन्ने परिस्थिति थियो तर, मैले दस महिनामा जुन काम गरें, त्यसबाट एमालेका साथीहरु पनि मलाई प्रधानमन्त्री नछोड भन्ने ठाउँमा आई पुग्नुभयो ।’
उनले एमाले त्यो स्थानमा आउनुमा आफूले गरेको काम नै प्रमुख भएको दावी गरे । ‘मलाई लम्पसारवादी भन्ने साथीहरु नै ठूलठूला षड्यन्त्र चिरेर स्थानीय तह र स्थानीय चुनाव गरेपछि राजनेता तपाईं नै हो भन्न थाल्नुभयो’, उनले भने, ‘यो सामान्य मेहेनतले भएको होइन ।’
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले माओवादीकै नेतृत्वमा निजगढ बिमानस्थल, फास्ट ट्रयाक र हुलाकी मार्ग बन्न लागेको बताए । उनले ७.५ प्रतिशत आर्थिक वृद्धि, मूल्य नियन्त्रण, विकास आयोजनाहरुमा तिब्रता, लोडसेडिङको अन्त्य जस्ता काम पनि आफ्नै नेतृत्वमा भएको दावी गरे ।
नेपालमा अहिले दुईखाले अतिवाद हाबी भएको भन्दै उनले अतिवादले देशको शित नगर्ने बताए । ‘अहिले देशमा दुई खाले अतिवादीहरु छन् । एउटा अतिवादले पहाडलाई मात्र देख्छ, अर्को अतिवादले मधेशलाई मात्र देख्छ । हामी यी दुवै अतिवादको विपक्षमा छौं, राष्ट्रिय एकताको पक्षमा छौं’, उनले भने ।


