एमाले नेताले प्रमुख निर्वाचन आयुक्त यादवलाई हप्काएपछि…

काठमाण्डौ, १७ पुस । वाम गठबन्धनले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको परिणाम अविलम्ब सार्वजनिक गर्न आज निर्वाचन आयोगको ध्यानकर्षण गराएको छ ।

गठबन्धनमा आबद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुले सोमबार प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव र आयुक्तसँग भेटी जनताले दिएको मतको सम्मान एवं संविधान तथा कानुनको मर्म र भावनाको कदरका लागि सो परिणाम सार्वजनिक गर्न माग गरे । राष्ट्रियसभाको निर्वाचन भएपछि मात्र सो परिणाम सार्वजनिक गर्ने तयारीप्रति आपत्ति जनाउँदै गठबन्धनले संविधान र निर्वाचन कानुन निर्माणमा संलग्नसमेत भई अनुभव हासिल भइसकेकाले कुनै पनि निर्वाचनको परिणाम अविलम्ब सार्वजनिक गर्न कुनै अप्ठेरो नहुने स्पष्ट गरेको छ । मुलुकलाई जनादेशानुसार अघि बढाउन पनि गठबन्धनले आयोगलाई आग्रह गरेको छ ।

समानुपातिकको परिणाम नआउँदा नयाँ सरकार निर्माणको प्रक्रिया ढिलो हुने भएकाले यस प्रक्रियाका सम्बन्धमा कुनै संवैधानिक वा कानुनी समस्या भएमा नेपाल सरकार र संवैधानिक निकायले फुकाउनुपर्ने अन्यथा जनताले फरक ढंगले प्रतिक्रिया दिँदा लोकतन्त्रका लागि हानि पुग्न सक्नेतर्फ नेताहरुले ध्यानाकर्षण गराउनुभएको छ । गत मंसिर १० र २१ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो ।

भेटपछि प्रमण्डलका तर्फका एमालेका उपाध्यक्ष भीमबहादुर रावलले ‘संविधानको भावनानुसार सात दिनभित्र निर्वाचन परिणाम दिनुपर्नेमा लामो समयसम्म अड्काएर राख्दा मत दिने जनताको आदेश विपरीत हुने’ विषयमा आफूहरुले सविस्तार स्पष्ट पारेको बताए । उनले ‘राष्ट्रियसभा र प्रतिनिधिसभामा गरी संघीय संसद्मा कुल ३३ प्रतिशत महिलाको संख्या पुग्ने विषयमा कुनै अन्योल नरहेकाले’ समानुपातिकको परिणाम सार्वजनिक गर्न राष्ट्रियसभाको निर्वाचन पर्खन नपर्ने जिकिर गरे ।

जवाफमा आयोगले आफूहरु पनि अनन्तकालसम्म परिणाम सार्वजनिक नगरी राखिरहने सोचमा नरहेकाले दलहरुसँगको थप परामर्शका आधारमा समस्या समाधानका लागि सामूहिक पहल गर्न तयार रहेको विश्वास दिलाएको रावलले जानकारी दिए । भेटमा ‘एमालेका नेताहरुले कानुनको व्याख्या गर्न जान्दैनन्’ भनी प्रमुख आयुक्त डा यादवले सार्वजनिक अभिव्यक्ति दिएको भन्ने विषयमा नेताहरुले चासो व्यक्त गरे पनि उनले आफूहरुले त्यस्तो धारणा नदिएको र दिन नसक्ने स्पष्ट गरेका थिए ।

प्रमण्डलमा एमालेबाट रावलसहित स्थायी कमिटी सदस्य सुवास नेम्वाङ तथा नेताहरु अग्नि खरेल र कृष्णगोपाल श्रेष्ठ तथा माओवादी केन्द्रबाट नेताहरु कृष्णबहादुर महरा, वर्षमान पुन र रामनारायण बिडारी संलग्न थिए । यसअघि सोमबारै एमाले र माओवादी केन्द्र आबद्ध युवा विद्यार्थी संगठनले पनि सोही विषयमा आयोगमा ध्यानाकर्षण गराएका थिए । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।