जब जेबी टुहुरेले गाए ‘आमा दिदीबहिनी हो’…

काठमाडौँ, २१ पुस । जनसांस्कृतिक महासंघको सभाकक्षमा जनवादी गायक जेबी टुहुरेले एकदेव ज्ञवालीको पुरानो ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर’ गीत गाउँदा उपस्थित दर्शकले पनि स्वरमा स्वर मिलाएर गाए ।

जनसंगीत मञ्च नेपालले आयोजना गरेको ‘आरोह जनसंगीत यात्रा–२५’मा टुहुरेको एकल गान कार्यक्रममा स्रोेताले पनि गीतमा स्वर मिलाउँदै गाए । करिब १० वटा गीत गाउनुभएका टुहुरेले उक्त गीत अन्तिममा गाउँदा स्रोता झन् उत्साहित हुँदै थिए । पिछडिएका महिलालाई उठाउन गाइएको गीत

गीत गाउने क्रममा उहाँले पहिले चुलोचौका गर्ने महिलाहरु अहिले राज्यको प्रमुख स्थानमा पुगेकामा खुशी व्यक्त गर्नु भयो । ‘‘पहिला उक्त गीत आमा, दिदी बहिनीको वेदना देखेर गाए पनि अहिले भने परिवर्तन आएको छ’’, उहाँले भन्नुभयो, ‘‘ अहिले हाम्रा आमा, दिदीबहिनी राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुखसम्म बन्नुभयो ।’’

कार्यक्रममा मदन भण्डारीको निधन, विदेशमा श्रम गर्दाका समस्या, बसाइँ सर्नेको व्यथा, राष्ट्रिय एकता, छुवाछुतविरुद्ध, गाउँमा उकालीओराली गर्दाको दुःख विसं २०४५ माघ १ मा पञ्चायतले पिस्करमा गरेको दमनजस्ता विषयका १० गीत गाउनुभएको थियो ।

‘साना साना ढुङ्गा माटो मिली अग्लो पहाड बन्छ, साना साना खोलाखोली मिली ठूलो नदी बन्छ, सागर बन्छ’, ‘पानी चल्दैन रे तर रगत चल्दछ, कहिलेसम्म यस्तो ढोंगी जगत् चल्दछ’, ‘पसिना झार्दै तरर, चार दिनको बाटो कटारी बजार ’ जस्ता बोलका गीत गाउँदा ७३ वर्षीय टुहुुरेमा तीसको दशककै जस्तो जोश थियो ।
उहाँलाई गायनमा माधव प्रधान, डम्बर पहाडी, आकाश गोर्खाली, भागीरथ सुस्लिङ र वेदनिधि नेपालले संगीतमा साथ दिनुभएको थियो । आफ्ना गीतहरु गाउनुपूर्व उहाँले गत मंसिर ६ गते निधन हुनुभएका जनवादी गायक खुशीराम पाख्रिनका गीत गाएर उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो–

कार्यक्रममा नेकपा –एमाले)बाट काठमाडाँै क्षेत्र नं ३ मा नवनिर्वाचित कृष्ण राईले मदन भण्डारीलाई आफूहरुको सांस्कृतिक अभियानले नै शुरुमा प्रस्तुत गरेको जानकारी दिनुभयो । नेकपा(एमाले) संस्कृति विभाग प्रमुख तथा महासंघका अध्यक्ष खगेन्द्र राईले जनसंगीत यात्रामा नयाँ पुराना दुवै प्रतिभालाई स्थान दिइने बताउनुभयो । महासंघका महासचिव प्रेमनाथ अधिकारीले टुहुरेका गीतले वास्तविक समाजको चित्रण गर्ने बताउनुभयो । मञ्चले हरेक महिनामा एक जनवादी गायकलाई एकल प्रस्तुति गर्ने अवसर दिँदै आएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।