हचुवाको भरमा प्रादेशिक राजधानी तोके उल्ट्याउँछौं : प्रचण्ड
चितवन, २१ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हचुवाका भरमा प्रादेशिक राजधानी नतोक्न सरकारलाई चेतावनी दिएका छन् । उनले अध्ययन नगरी हचुवाका भरमा तोकिएको प्रदेश राजधानी उल्ट्याउने चेतावनी दिए ।
शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले अध्ययन गरेर प्रदेश राजधानी तोक्न सुझाव दिएका छन् । उनले सबै दलहरुसंग परामर्श गरेर ात्र प्रदेश राजधानीका विषयमा निर्णय गर्नुपर्ने बताएका छन् । उनले प्रमुख दलहरुसंगको परामर्श विना गरिएको निर्णय मान्य नहुने चेतावनी दिए ।
भूगोल, जनसंख्या र अनुकूलताको अध्ययन गरेर प्रमुख राजनीतिक दलसंगको परामर्शमा मात्र राजधानी तोक्नु पर्छ प्रचण्डले भने । उनले अहिले तोक्ने भनेको अस्थाई केन्द्र मात्र भएकाले त्यसको अन्तिम निर्णय प्रदेश सभाको बैठकले गर्ने बताए । सरकारले समग्रताको अध्ययन गरेर प्रदेश राजधानी तोके मात्र ठीक हुने अन्यथा प्रदेश सभाले निर्णय गर्ने बताए ।
अध्यक्ष दाहालले सरकार गठनअघि नै पार्टी एकता हुने दावी गरेका छन् । उनले प्रधानमन्त्री र पार्टी अध्यक्षको जिम्मेवारी बाँढेर एकता गर्ने विषयमा विवाद नभएको बताएका छन् । ‘अध्यक्ष र प्रधानमन्त्री पदमा विवाद छैन । बाँढेरै लिने सहमति छ’उनले भने । दाहालले अध्यादेशको गाँठो फुकेसँगै राष्ट्रिय सभा गठनको लागि वाटो खुलेको प्रतिकृया दिएका छन् ।


