सरकारमा गएको ८ महिनापछि माओवादी सरकारबाट बाहिरियो, मन्त्रीहरुले दिए सामूहिक राजीनामा

काठमाडौं । विनाविभागीय मन्त्रीको हैसियतमा ११७ दिनसम्म सरकारमै रहेका माओवादीका मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सरकारमा गएको आठ महिनापछि माओवादी सरकारबाट बाहिरिएकाे हाे ।

विनविभागीय जिम्मेवारीमा रहेका गिरिराजमणि पोखरेलले ‘बिहीबार नै हामीलाई पार्टीले सरकारबाट फिर्ता बोलाएको थियो,’ उनले भने, ‘सार्वजनिक बिदा परेकाले शुक्रबार पार्टीको पत्र प्रधानमन्त्रीकहाँ पुगेको छ ।’ माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा हस्ताक्षरित पत्रमा माओवादी सरकारमा नरहेको पत्र पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका हुन् । आजको अन्नपूर्णमा खबर छ ।

माओवादी केन्द्रले आफ्ना मन्त्रीलाई अब सरकारमै राखिरहन ‘औचित्यपूर्ण’ नहुने निष्कर्ष निकाल्दै फिर्ता बोलाएको हो । माओवादीका नौ मन्त्री र सात राज्यमन्त्री मन्त्रिमण्डलमा सहभागी थिए । उनीहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज ३१ मा जिम्मेवारीमुक्त गरेका थिए ।

चुनावपछि नयाँ जनादेशका आधारमा प्रधानमन्त्री आफैँले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने अपेक्षामा रहे पनि त्यसो नगरेकाले पार्टीले मन्त्री फिर्ता बोलाएको उनले बताए । ‘नयाँ जनादेशपछि प्रधानमन्त्रीले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्नुपर्ने हो, त्यसैमा हाम्रो निकास हुन्छ भन्ने थियो तर ढिला हुँदै गएकाले त्यहाँ बसिरहनु औचित्य रहेन’, उनले भने ।

कांग्रेस–माओवादी ‘आलोपालो’ सरकार चलाउने निर्णयका साथ देउवा नेतृत्वको सरकारमा माओवादी सहभागी भएको थियो । माओवादीले असोज १७ मा सरकारमै रहेर तात्कालीन प्रतिपक्षी एमालेसँग प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा तालमेल गर्ने र पार्टी एकता नै गर्ने निर्णय गरेपछि उसका मन्त्रीलाई सरकारबाट हट्न त्यसबेलै दबाब बढेको थियो । तर पनि माओवादीले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको थिएन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।