सीमा छुट्याउने खम्बा सारेर भारतले ५० बिघा नेपाली भूमी मिचेपछि अनेरास्ववियू क्रान्तिकारीको यस्तो आक्रोस
नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीले पर्साको छकपैयामा करीब ५० बिघा नेपाली भूमि नेपाली भूमि मिचिएकामा आपत्ति जनाएको छ ।
क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले भारतीय पक्षले सीमा छुट्याउने खम्बा सारेर मिचेकामा आपत्ति जनाउँदै विज्ञप्तिमा भनेका छन्, “पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं १ को छकपैयामा करिब ५० बिघाभन्दा बढी नेपाली भूमि मिचिनु नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले दुवै देशको दशगजा क्षेत्र व्यवस्थित गर्न गरेको सहमति विपरीत कार्य भएको छ ।”
क्रान्तिकारीले सीमा सर्वेक्षणको काम तत्काल रोकी नेपाली पक्षका सदस्यलाई फिर्ता वोलाएर कूटनीतिक माध्यमबाट अविलम्ब समस्या समाधान गर्न माग गरेको छ ।
सीमा सारिएको उक्त क्षेत्रमा स्थलगत रुपमा अध्ययन गर्न क्रान्तिकारीले उपाध्यक्ष विजय गौतमको नेतृत्वमा आठ सदस्यीय केन्द्रीय टोली छकपैया पठाउने निर्णय गरेको छ ।
टोलीका अन्य सदस्यमा उपमहासचिव जिपी मैनाली, सचिवद्वय गजेन्द्र देव र सूर्यनारायण शाह तथा केन्द्रीय सदस्य शिवम् शाह, इस्ककुमार पासवान, जुवेर आलम र सकिना बस्नेत रहनु भएको विज्ञप्तिमा उल्लेख छ ।


