क्लिनिकभित्रै बलात्कार प्रयास गरेको आरोपमा एक डाक्टर पक्राउ
राजविराज, ८ माघ । बलात्कारको प्रयास गरेको आरोपमा सप्तरीका एक डेन्टल चिकित्सक पक्राउ परेका छन् ।
सेवाग्राहीलाई बलात्कार गर्न खोजेको आरोपमा ४५ वर्षीय डा. हृदयनारायण झा लाई प्रहरीले नियन्त्रणमा लिएको हो । राजविराज १ पडरिया निवासी झाले वडा नं. ७ मा सञ्चालन गरेको आरती डेन्टल क्लिनिकमै एक सेवाग्राही किशोरीमाथि बलात्कारको प्रयास गरेका थिए ।

साथमा आएकी आमालाई औषधि पसलमा राखेर किशोरीलाई क्लिनिकभित्र लगी डा . झाले बलात्कार प्रयास गरेका थिए, काठमाण्डू टुडेमा खबर छ । किशोरीले प्रतिवाद गरेपछि उनी असफल भएका थिए।
पीडितको उजुरीका आधारमा डा. झालाई पक्राउ गरिएको डिएसपी ध्रुवकुमार श्रेष्ठले बताए । गत पुस २७ गते भएको यो घटना मिलापत्र गराउने प्रयास भएकाले ढिलोगरी सार्वजनिक भएको हो । अहिले पनि पैसाको चलखेल गरेर मिलापत्रका लागि दबाव आइरहेको पीडित पक्षले आरोप लगाएका छन्। डिएसपी श्रेष्ठले भने ‘मिलापत्र गरेर जाने भन्दै हामीसँग पनि कुरा आएको हो, तर हामीले मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाएका छौं।’
आफ्नो पहिचान लुकाउन झाले औषधि पसल र क्लिनिकमा समेत आफ्नो नाम मेटाउन लगाएका छन् । यसअघि गत पुस ९ गते राजविराज १० का १८ वर्षीया रामविलास साहले एक किशोरीलाई बलात्कारको प्रयास गरेका थिए ।
साँझ करिव ७ बजे शौच गर्न निस्किएकी किशोरीलाई एकान्त स्थान पारेर उनले बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ । दुवै घटनाका आरोपीलाई जिल्ला अदालत राजविराजबाट ‘जबर्जस्ती करणी उद्योग’ मा म्याद थप गराएर थप अनुसन्धान अगाडि बढाइएको डिएसपी श्रेष्ठले बताए।


