अबको शिक्षा समाजवाद उन्मुख हुनु आवश्यक : अध्यक्ष दाहाल

चितवन, १३ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अबको शिक्षा समाजवादउन्मुख हुनु आवश्यक रहेको बताउनुभएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन, चितवनको आठौँ जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले देशलाई नयाँ युगमा लानका लागि शिक्षा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

देशमा समाजवादको यात्रा सुरु भएको भन्दै उहाँले यसको शुरुवात शिक्षा क्षेत्रबाटै हुने बताउनुभयो । देशलाई नयाँ युगमा लैजान शिक्षा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै उहाँले यसका लागि शिक्षकहरूको सहयोगको आवश्यकता रहेको अध्यक्ष दाहालले बताउनुभयो ।

समाजवाद उन्मुख शिक्षाले निजी क्षेत्रको भूमिकालाई घटाउँदै सामुदायिक क्षेत्रको भूमिकालाई बढाउने उहाँको भनाइ थियो ।

अहिलेको निर्वाचनले देशलाई समाजवादतर्फ लाने शक्तिको झण्डै दुईतिहाई आएको भन्दै यसको जग हाल्ने काम शिक्षा क्षेत्र रहेको उहाँले बताउनुभयो । शिक्षकहरूले देशको परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै उहाँले उनीहरूको सम्मान हुन आवश्यक रहेको बताउनुभयो ।

सरकारले शिक्षा क्षेत्रलाई निजी क्षेत्रलाई दिएर आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको आभास भएको भन्दै उहाँले अब शिक्षा क्षेत्रलाई अराजकता र माफियाकरणतर्फ जानबाट रोक्नुपर्ने बताउनुभयो ।

वाम गठबन्धनका नेताहरू शिक्षा क्षेत्रको परिवर्तनका लागि प्रतिबद्ध रहेको बताउँदै उहाँले अहिले पनि सम्बोधन भएन भने शिक्षा क्षेत्रको समस्या मात्रै नभई राष्ट्रकै समस्या विकराल हुने खतराप्रति सचेत रहनुपर्ने बताउनुभयो ।

कम्युनिष्ट एकता, राजनीतिक स्थिरता, स्थाई सरकारको बाटोमा मुलुक गएको भन्दै उहाँले शिक्षा नीतिमा आमूल सुधार गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । राजनीतिक परिवर्तनमा शिक्षकहरूले खेलेको भूमिकालाई आत्मसात गर्दै अब बन्ने सरकारले शिक्षा क्षेत्रको बेथिति रोक्नका लागि काम गर्ने अध्यक्ष प्रचण्डले बताउनुभयो ।

अध्यक्ष दाहालले अहिले वाम गठबन्धन तोड्नका लागि ठूलो कसरत भइरहेको भन्दै यो दुष्चक्रमा आफूहरू नफस्ने बताउनुभयो । अहिले कामचलाउ सरकारले देशलाई दूरगामी असर पार्ने निर्णयहरू गरिरहेको भन्दै उहाँले यसको प्रतिवाद सबै मिलेर गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश सांसदहरू घनश्याम दाहाल अविनास, विजय सुवेदी, रामलाल महतो, नेपाल शिक्षक महासंघका उपमहासचिव पूर्णप्रसाद दवाडी, जिल्ला शिक्षा अधिकारी मनोजकुमार गैरे, संगठनका केन्द्रीय उपाध्यक्ष ईन्द्र भट्टराई, नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष कोमल घिमिरेलगायतले बोल्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।