जनताका सामु गरिएको प्रतिबद्धता लागू गरेरै छाड्छौँ : अध्यक्ष दाहाल

काठमाडौँ, १५ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको क्रममा वाम गठबन्धनका तर्फबाट गरिएका प्रतिबद्धता पूर्णरुपमा लागू गरेरै छाडिने दृढता व्यक्त गर्नुभएको छ ।

प्रेस सेन्टर नेपालको १४ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले जनताका सामु गरिएका प्रतिबद्धता पूर्णरुपमा कार्यान्वयन गरेर छाडिने र कुनै पनि प्रकारको अवरोधलाई चिरेर अगाडि बढ्ने बताउनुभयो ।

राष्ट्रिय एकता र समृद्धिका लागि नयाँ संकल्प गरेर जानुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो “जनताको अपेक्षा पूरा गर्न नयाँ संकल्प जरुरी छ । राजनीतिक स्थायित्वलाई पूर्णता दिन पनि आर्थिक क्रान्ति जरुरी छ ।”

देशलाई अराजकतातर्फ लैजाने प्रयास भइरहेको भन्दै उहाँले त्यस्तो प्रयासलाई सफल हुन नदिने विश्वास व्यक्त गर्नुभयो । “हामी मुलुकलाई अराजकतामा धकेल्न खोज्नेको प्रयासलाई सफल हुन दिँदैनौँ” अध्यक्ष दाहालले भन्नुभयो ।

सरकारका पछिल्ला गतिविधिप्रति संकेत गर्दै अध्यक्ष दाहालले आर्थिक अराजकता देखिन खोजेको र त्यस्तो प्रयास भइरहेकाले वाम गठबन्धनले त्यसलाई बाहिर निकालेर छाड्ने बताउनुभयो ।

वाम गठबन्धनले जनताका अगाडि गरेका प्रतिबद्धता पूरा गर्ने बताउँदै उहाँले देशलाई राजनीति स्थायित्व, सुशासन र समृद्धितर्फको यात्रामा लैजाने अठोट गर्नुभयो । देशको पक्षमा सकारात्मक भूमिका खेलिदिनसमेत उहाँले पत्रकारलाई आग्रह गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले विगतमा आफूहरुले देखेको सपना पूरा गर्न पनि सबै मिलेर जानुको विकल्प नभएको उल्लेख गर्नुभयो । जनयुद्धको समयमा कलमसँगै मादल र हतियार पनि प्रयोग भएको प्रसंग जोड्दै उहाँले केही सपना अझै बाँकी रहेकाले ती सपना कलमका माध्यमबाट पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहालले पत्रकारको पेशागत हित र सुरक्षाका लागि पनि राजनीतिक स्थायित्वको जरुरी रहेको धारणा राख्नुभयो । कार्यक्रममा प्रेस सेन्टरले हालै स्थापना गरेको ‘शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार’बाट पत्रकार तुलसीदास महर्जनलाई सम्मान गरियो । पुरस्कारको राशि रु १० हजार र सम्मानपत्र रहेको छ ।

यस्तै जनयुद्धको समयमा युद्धपत्रकारितामा नै संलग्न संगीता खड्का, देवकी तिमिल्सिनालगायतलाई पनि सम्मान गरिएको थियो । विसं २०६१ माघ १५ गते अखिल नेपाल क्रान्तिकारी पत्रकार संघको नाममा स्थापित संस्था गत वर्ष सम्पन्न अधिवेशनबाट प्रेस सेन्टर नेपालमा रुपान्तरित भएको थियो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।