‘जिउँदो शहीद’को रिक्सा सहारा

बिर्तामोड, झापा, १६ माघ । जनआन्दोलनमा घाइते गोपाल श्रेष्ठको दैनिकी अहिले फेरिएको छ । उहाँलाई झापाको धुलाबारी सडकखण्डमा सिटी रिक्सा कुदाइरहेको देख्न सकिन्छ ।

झापा मेचीनगर–९ खुट्टीडाँगी निवासी श्रेष्ठको सिटी सफारी किनेर आम्दानीको बाटो समात्नु बाध्यता पनि हो । घरमा रहेकी वृद्धा आमा, श्रीमती र छोरा पाल्ने दायित्व उहाँकै काँधमा छ, त्यसैले उहाँ सकिनसकी सिटी रिक्सा चलाइरहनुभएको छ ।

“के गर्नू, गरी त खानै प¥यो नि,” जिउँदो शहीद श्रेष्ठले भन्नुभयो, “आम्दानीको बाटौ छैन, त्यही भएर रिक्सा चलाइरहेको छु ।” उहाँले छ महिनाअघि सिटी रिक्सा किस्तामा किन्नुभएको हो । त्यसबाट कमाएको पैसाले किस्ता तिर्ने र बचेको पैसाले घर चलाउने गरेको उहाँ बताउनुहुन्छ ।

विसं २०६२÷६३ को जनआन्दोलनमा चन्द्रगढीमा सैनिकले हानेको गोली लागेर उहाँ घाइते हुनुभएको थियो । राजतन्त्र फाल्न र गणतन्त्र ल्याउनका निमित्त २०७३ वैशाख ६ गते चन्द्रगढी मैदानमा उत्रनुभएका श्रेष्ठको देब्रे तिघ्रामा गोली लागेको थियो ।

घाइते उहाँलाई तत्कालै उपचारका लागि धरानको घोपा क्याम्प लगिएको थियो । लामो समयको उपचारपछि उहाँ घरैमा आराम गरिरहनुभएको थियो तर आम्दानीको बाटो नहुँदा अहिले उहाँले सिटी रिक्साको सहारा लिनुभएको हो । “अहिले पनि घुँडाको घाउ दुखिरहन्छ”, श्रेष्ठले भन्नुभयो, “तैपनि सकिनसकी रिक्सा चलाइरहेको छु ।”

त्यसैबेला राजनीतिक दलहरुले उहाँलाई सहयोग नगरेका भने होइनन् । समिति नै बनाएर उहाँको उपचार गरियो । समितिले घर बनाइदियो, विवाह पनि गराइदियो । मासिक रुपमा नगरपालिका र धुलाबारी खानेपानी संस्थानले रकम सहयोग गरेको थियो तर अहिले सहयोग रोकिएको श्रेष्ठ बताउनुहुन्छ । “अहिले कतैबाट सहयोग रकम आएको छैन,” उहाँले गुनासो पोख्नुभयोे, “बाँच्नकै लागि भए पनि काम नगरी भएन ।”

सरकारी तवरबाट पनि उहाँले सहयोग खासै पानुभएको छैन । सरकारले उहाँको अवस्था हेरेर रु ४० हजार सहयोग गरेको थियो । त्यसबेला अन्य घाइतेले रु पाँच लाखसम्म पाएका थिए । घाइतेको अवस्था हेरेर सरकारले त्यसबेला बनाएको मापदण्डमा उहाँको अवस्था ‘सामान्य घाइते’ भनेर उल्लेख गरिएको थियो ।

उहाँलाई स्थानीयस्तरबाट सबैतिर सहयोग मिलेको नेपाली काँग्रेस क्षेत्रीय सभापति मणिकुमार उप्रेतीले बताउनुभयो । उहाँले अरु घाइतेभन्दा श्रेष्ठलाई बढी नै सहयोग प्राप्त भएको बताउँदै भन्नुभयो, “गोपाललाई घाइते अवस्थामा सबैले खुलेर सहयोग गर्नुभएको छ” उहाँले भन्नुभयो, “जब कि अरु घाइतेले यतिको सहयोग पाउन सकेनन् ।”

श्रेष्ठ करिब १० वर्ष जति हिँडडुल गर्न सक्नुभएन । उहाँ त्यसबेला जनान्दोलन समितिले बनाइदिएका घरमा आराम गरिरहनुभयो । दुई वर्ष यतादेखि उहाँ सामान्य हिँडडुल गर्न सक्ने हुनुभएको छ । लामो समयसम्म हिँड्दा खुट्टा दुख्ने गरेको उहाँ सुनाउनुहुन्छ । उहाँको खुट्टा पूर्णरुपमा निको भएको छैन । चिकित्सकले बेलाबेला जाँचका लागि आउनू भनेछन् तर नगएको धेरै समय बितिसकेको उहाँ बताउनुहुन्छ ।

श्रेष्ठले सिटी रिक्साबाट शुरु शुरुमा राम्रै आम्दानी भए पनि अहिले खासै नभएको बताउनुभयो । अहिले दिनमा रु एक हजार २०० देखि रु एक हजार ५०० सम्म कमाउने गरेको उहाँ जानकारी दिनुहुन्छ ।

“रिक्सा पनि धेरै भइसके, यात्रु पाउनै छाडिसक्यो,” उहाँले भन्नुभयो। धुलाबारीमा मात्र करिब दुई सय सिटी रिक्सा सञ्चालित छन् । उहाँले मेचीनगर नगरपालिकाले दिने भनेको मासिक रु तीन हजार ५०० रु भत्ता रोकिएकामा उहाँको गुनासो छ । उक्त सहयोग नरोक्न उहाँले नगरपालिकासँग आग्रह गर्नुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।