पैसा कमाउन विदेश जानै पर्दैन, कपाल काटेरै लाख कमाउछन पवन !

मोरङ । पवन हेयर सैलुन, मोरङ जिल्ला उर्लाबारीको यो निकै चर्चित सैलुन हो । यहाँ कपाल काट्नका लागि पालो कुरिरहेका ग्राहकको लाइन देख्दा लाग्छ, शहरमा अर्को कुनै सैलुन नै छैन । उर्लाबारीमा अन्तर्राष्ट्रियस्तरका सैलुन भने नखुलेका होइनन्, तर पवन नै सबैको रोजाइ बन्नुभएको छ ।

उर्लाबारीमात्र होइन, दमक, पथरी र इटहराबाट पनि कपाल काट्न आउनेको लर्को लाग्ने गर्छ उहाँको पसलमा । यो सैलुन चलाउने युवा हुनुहुन्छ, उर्लाबारी–४ का पवनदेव ठाकुर । दश वर्षअघि आफ्नो गोजीमा भएको रु ५०० बाट सरसामान किनेर उर्लाबारी बरगाछीमा कपाल काट्ने व्यवसाय शुरु गर्नुभएका उहाँले अहिले उर्लाबारीमै लाखौँ मूल्यका घर बनाइसक्नुभएको छ ।

तीन महिना दिल्लीमा कपाल काट्न सिकेर उर्लाबारीमा सैलुन खोल्नुभएका पवन अहिले काम भएन भनेर विदेशिने युवाका लागि पनि गतिलो उदाहरण बन्नुभएको छ । शुरुमा पढ्न नसकेर कपाल काट्न सिक्नुभएका उहाँले १० वर्षमै मनग्य कमाउनु मात्रै भएन, आफ्ना भाइहरु अनि गाउँका अरु युवालाई पनि रोजगारी दिइरहनुभएको छ ।

उहाँको सैलुनमा पाँचजनाले कपाल काट्ने काम गर्छन् । तर पनि कुर्सी एक छिन पनि खाली हुँदैन, कैँची चलाउन व्यस्त उहाँलाई कसैलाई हेर्ने पनि फुर्सद थिएन । पालै दिन मुस्किल हुन्छ, ग्राहक फोन गरेर आउनुहुन्छ, मेहनती पवनले भन्नुभयो । हुन पनि त्यहाँ पालो नपाए बरु केही दिन कुर्छन् ग्राहक । तर त्यहाँ कपाल काटिरहेकाहरू सितिमिति अन्यत्र जाँदैनन् ।

काम सानो ठूलो लाग्दैन उहाँलाई । उहाँ भन्नुहुन्छ, “काम त कामै हो नि, सानो ठूलो केही हुँदैन, त्यो बुझ्नेहरूमा भर पर्छ । पहिले मलाई गिज्याउने धेरै थिए”, शुरुवाती दिन पवनले सम्झनुभयो तर उहाँहरु नै अहिले मेरो गुणगान गर्नुहुन्छ बरु, ‘क्या प्रगति गरिस्’ भन्नुहुन्छ ।

सैलुनमा भेटिएका मोरङ रतुवामाइका खगोल न्यौपाने पवनको कपाल कटाइ नै राम्रो लाग्ने बताउनुहुन्छ । भन्नुहुन्छ, पवनबाहेक अरुसँग कपाल काट्दा चित्त नै बुझ्दैन । आजभोलि उहाँले दैनिक रु दुई हजारदेखि रु तीन हजारको हाराहारीमा कमाउनुहुन्छ । उहाँलाई बिहान ६ देखि राति ८ बजेसम्म पनि खाना खाने फुर्सदै हुँदैन । काममै जोतिइरहेका भेटिनुहुन्छ, पवन ।

अहिले थुप्रै संघसंस्था पनि उहाँलाई कपाल काट्ने तालीम दिनुप¥यो भन्दै माग गरिरहेका छन् । तर आफ्नै पसलमा आफ्ना ग्राहकको कपाल काट्नै भ्याइएको छैन, उहाँले भन्नुभयो, यहाँ पालो नपाएर, पालो मिचियो भनेर ग्राहक झगडै गर्छन् । तर पनि उहाँले केहीलाई भने तालीम दिनुभएको छ ।

आफ्नै सैलुनमा अनि संघसंस्थामार्फत तालीम लिएर अरुहरू पनि अन्य ठाउँमा यस्तै पसल खोलेर बसेका छन् । आफूले सिकाएकाहरूले पनि प्रगति गरेको देख्दा सन्तोष लाग्छ, उहाँ भन्नुहुन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।