धुलिखेलमा साहसिक खेल ‘जिपलाइन’ शुरु हुँदै

बनेपा । पर्यटकीय क्षेत्र धुलिखेलमा आकर्षक तथा साहसिक खेल ‘जिपलाइन’ व्यवसाय छिट्टै सञ्चालन हुने भएको छ ।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ र पाँचखाल नगरपालिका–५ को सिमानामा पर्ने खावामा ‘वल्र्डवाइड एड्भेञ्चर प्रालि’को सञ्चालनमा सो व्यवसाय शुरु हुन लागेको हो । प्रालिका सञ्चालक केदार थापाले नेपालकै पहिलो ‘सुपरम्यान जिपलाइन’ व्यवसाय आफूले सञ्चालन गर्न लागेको दावी गर्नुभयो ।

“सुपरम्यान जिपलाइन मेरो बाहेक अरुको छैन”, उहाँले भन्नुभयो, “यो मेरो दावी हो, नेपालमा यस्तो व्यवसाय अर्को छैन, यसमा एक जोडीले एकैपटक हातखुट्टा फैलाएर फ्लाइ(उडेको) जस्तो प्रकृतिमा खेल्न सक्छन्, अरु जिपलाइनमा एक जनाले ‘फूलबडी आर्नेस’मा बसेर खेल्ने हो, यसमा यहाँको जस्तो हेलिकप्टर झैँ उडेर खेल्ने सुविधा छैन ।”

उहाँले सुपरम्यान जिपलाइनका लागि अमेरिकी र क्यानेडेली प्रविधिको सामग्री प्रयोग गरेकाले खासै जोखिम नहुने बताउनुभयो । पर्यटन विभाग, पर्यटन बोर्ड, उद्योग विभाग र उद्योग मन्त्रालय तथा वन मन्त्रालय लगायतका निकायबाट स्वीकृति लिएर सो व्यवसाय सञ्चालन गर्न लागिएको उहाँको भनाइ छ । नेपाल सरकारको नियमानुसार रु पाँच लाखको दुर्घटना बीमाको समेत व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

हेर्दा संरचनाको हिसाबले सामान्य देखिए पनि नेपाल भूकम्पको दृष्टिकोणले जोखिम क्षेत्रभित्र पर्ने भएकोले बनाउने ठाउँमा माटो परीक्षण गरी टावर हाल्ने काम गरेको उहाँको भनाइ छ । प्रयोग गरिएका सबै सामान अन्तर्राष्ट्रियस्तरको गुणस्तरयुक्त रहेको सञ्चालक थापा बताउनुहुन्छ । जिपलाइनका लागि मात्रै रु दुई करोड ५० लाख खर्च भएको र सो खेलसँगै त्यहाँ आउनेलाई थप सुविधा प्रदान गर्न अरु व्यवस्थापनको काम भइरहेको बताइएको छ । त्यससँगै सो वरिपरि बालबालिकालाई उपयुक्त खेलका लागि अरु संरचना निर्माण गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । सम्पूर्ण व्यावसायिक कार्य सम्पन्न हुँदा रु छ करोड लगानी लाग्ने सञ्चालक थापाले बताउनुभयो ।

व्यवसाय सञ्चालनका लागि करीब ७० रोपनी जग्गामा संरचना निर्माण गर्ने तयारीमा रहेको छ । उहाँले व्यावसायिक हिसाबले काठमाडौँबाट पनि नजिक र पर्यटकीय हिसाबले निकै प्रख्यात भएकाले पनि धुलिखेललाई नै रोजेर नयाँ व्यवसायका रूपमा जिपलाइन खेल व्यवसाय सञ्चालन गर्न लागेको बताउनुभयो ।

व्यवसाय सञ्चालन गर्न आवश्यक जनशक्तिका लागि स्थानीयवासीलाई प्राथमिकता दिने बताउँदै उहाँले दक्ष प्राविधिकबाहेक २० देखि २५ कामदारले प्रत्यक्ष रोजगार पाउने बताउनुभयो । व्यवसायको संरचना निर्माणका लागि अहिले प्राविधिक जनशक्ति भारतबाट झिकाएर काम भइरहेको छ ।

सिन्धुपाल्चोकको लास्ट रिसोर्टमा सञ्चालन भइरहेको बञ्जीजम्प नेदरल्याण्ड्सका नागरिक डेबिड र नेपाली व्यवसायी विष्णु न्यौपानेले शुरु गर्ने बेलामा आफ्नो घरमा बसेर शुरु गरेको र त्यही व्यवसायबाट प्रभावित भएर जिपलाइन सञ्चालन गर्ने सोचलाई साकार पार्न मद्दत मिलेको सञ्चालक थापाले बताउनुभयो ।

पछिल्लो समयमा खासा व्यापारी भएर काम गर्दै आउनुभएका उहाँले क्यानडामा रहेका भाइको सल्लाहअनुसार करीब आठ महीना अगाडि काम शुरु बताउनुभयो । अहिले करीब ९९ प्रतिशत सम्पन्न भएको उहाँको भनाइ छ । लास्ट रिसोर्टको क्यानोनिङ (छाँगा वरोहण) व्यवसायपछि बीचमा अरनिको यातायात समितिमा व्यवसायी भएर काम गर्नुभएका उहाँले खासाको व्यापारमा समेत उत्तिकै अनुभव लिइसक्नुभएको छ ।

जिपलाइन खेलको उडान विन्दुदेखि अवतरण विन्दुसम्मको दूरी एघार सय मिटरको रहेको छ । उहाँले सो खेल नेपाली नागरिकका लागि प्रतिव्यक्ति एक पटकमा दुई हजार पाँच सय र विदेशीको लागि ३५ देखि ४० डलरसम्म लाग्ने बताउनुभयो । सबै उमेर समूहका व्यक्तिले खेल्न सकिने सो खेल दिनको ६० जनासम्मले खेल्न सकिने उहाँको भनाइ । टिकट बुकिङ गर्नेका लागि तौल र सबै प्रकारको स्वास्थ्य जाँचपछि मात्रै सो खेलमा सहभागी गर्नसक्ने नियम रहेको छ । जिपलाइन खेल सञ्चालनमा आएपछि काभ्रेपलाञ्चोकको धुलिखेलमा आन्तरिक तथा बाह्य पर्यकटको थप आकर्षण बढ्ने पर्यटन व्यवसायी बताउँछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।