अपाङ्गमैत्री शौचालय सहितको नवनिर्मित विद्यालय भवनको सांसद गुरुङद्वारा उद्घाटन
दोलखा । शैलुङ गाउँपालिका वडा नं. १ स्थित कल्लाबारी माध्यमिक विद्यालयको नवनिर्मित भवन संघीय सांसद पार्वत गुरुङले उद्घाटन गरेका छन् ।
आइतबार नवनिर्मित भवन उद्घाटन गर्दै सांसद गुरुङले विद्यालयको भौतिक संरचना आत्यधुनिक भएको बताउँदै शैक्षिक गुणस्तरलाई माथि उकास्नु जरुरी रहेको औल्याए । उनले कार्यक्रम बीच विद्यालयमा रहेको खेलमैदानको अभावलाई हटाउन आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

एसियाली विकास बैंक (एडिबी) को ६ करोड भन्दा बढीको सहयोगमा निर्मित दुई भवनमा २० वटा कोठा र अपाङ्गमैत्री २ वटा शौचालय रहेका छन् ।
अत्याधुनिक भवनमा पुस्तकालय, कम्प्युटर ल्याब, प्रशासनिक कक्ष, प्रधानाध्यापक कक्ष, बैठक कोठा र खानेपानीको सुविधा रहेका छन् ।
समरोहमा गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलाल, उपाध्यक्ष लालमाया योन्जन, नेकपा शैलुङ गाउँपालिका अध्यक्ष थिरबहादुर मोक्तान, वडाध्यक्ष बिर्खबहादुर तामाङ लगायत स्थानीय नेता, बुद्धिजीवी, समाजेवीहरुको उपस्थिति रहेको थियो ।
उद्घाटन तथा हस्तानतरण कार्यक्रमलाई सम्बोधन गर्दै अतिथिहरुले अब कल्लाबारी माध्यामिक विद्यालयले अत्याधुनिक भवन पाएसँगै भौतिक पूर्वाधारमा सुधार भएको र शैक्षिक गुणस्तर उकास्नका लागि अब सुधारको पालो भनेको शिक्षकहरुको रहेको आसय व्यक्त गरेका थिए ।
प्रधानाध्यापक चन्द्रलाल घिसिङले वि.सं. २०२१ सालमा स्थापित विद्यालयले विगत देखिनै गुणस्तरीय शिक्षामा जोड दिँदै आएको बताउँदै आफ्नै कार्यकालमा पक्की भवन बनाउन पनि सफल भएको जानकारी दिए ।


