अस्पतालको बेडबाटै प्रधानमन्त्री ओलीको यस्तो भिडियो सन्देश – हेर्नुहोस्
काठमाडौं, १६ मंसिर । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य सुधार भइरहेको जानकारी दिएका छन् । एपेन्डिसाइटिसको शल्यक्रियापछि एक सातादेखि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरको आईसीयूमा भर्ना भएर स्वास्थ्य उपचार गराइरहेका छन् । सोमबार सामाजिक सञ्जाल ट्वीटरमार्फत भिडियो सन्देश जारी गरेका प्रधानमन्त्री ओलीले आफू बोल्न, हिँड्न सक्ने भएको बताएका छन् ।
एपेन्डिसाइटिस अचानक आइलाग्ने रोग भएको र आफूलाई पनि अप्रत्यासित नै लागेको भन्दै उनले एपेन्डिसाइटमा मात्रै नभएर बाहिर पनि इन्फेक्सन भएको जानकारी दिए । बाहिर फैलिएको इन्फेक्सनका कारण अस्पताल भर्ना भएर बस्नु परेको भन्दै उनले अहिले बोल्नेदेखि समाचार हेर्न सक्ने अवस्थासम्ममा पुगेको बताए ।

आइतबार उद्घाटन भएको १३औं सागको प्रत्यक्ष प्रशारण हेरेको प्रधानमन्त्री ओलीले बताए । तर, प्रधानमन्त्री ओलीको सो भिडियो सन्देश पोष्ट गरेको केही मिनेटमै ट्वीटरबाट हटाइएको छ । ट्वीटरबाट भिडियो हटाउनुको कारण भने खुलाइएको छैन ।
उनको सम्बोधनको पूर्ण पाठ : मेरो स्वास्थ्य अवस्था
‘एपेण्डीसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन । यो अचानक आइलाग्छ । मलाई पनि अप्रत्यासित रुपमा त्यसैगरी आइलाग्यो । त्यसमा इन्फेक्सन भएछ । र, त्यो बाहिर पनि फैलिएछ ।
त्यसमा मात्रै इन्फेक्सन सिमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो । बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनु पर्यो। त्यस कारण उपचारका क्रममा हप्ता दश दिन लाग्ने भयो । तर, मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ । एउटा मेजर अपरेशनपछि तपाईंहरु देखिरहनु भएको छ– मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु ।
हिजो मैले १३ औं ‘साग’को उद्घाटन समारोह पनि पूरै हेरेँ । हुन सक्छ कि सक्दैन भन्ने दुविधा समाप्त भएकामा खुसी लाग्या छ । म राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनु भएकोमा, अरु सबैलाई सहभागि हुनु भएकोमा धन्यवाद भन्न चाहन्छु । मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरु र सार्क क्षेत्रका खेलाडीहरु, सबैलाई आग्रह गर्दछु ।’
–केपी शर्मा ओली – प्रधानमन्त्री
(मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसीयु कक्षबाट)


