तातोपानी भन्सारका हाकिम लगायतले गरे साढे १० करोड भ्र’ष्टा’चार !
काठमाडौं । तातोपानी भन्सार कार्यालय, सिन्धुपाल्चोकको प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ मागदाबीसहित शुक्रबार विशेष अदालत काठमाडौंमा प्रमुख भन्सार अधिकृत बस्नेतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
भोजपुर षडानन्द नगरपालिका वडा नम्बर ११ स्थायी घर भइ हाल काठमाडौं महानगरपालिका–४ धुम्बराही बस्ने बस्नेत २०४५ सालमा लेखापाल पदमा सार्वजनिक सेवामा प्रवेश गरेका थिए । हाल उपसचिवको रुपमा तातोपानी भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतको रुपमा कार्यरत बस्नेतले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अख्तियारको अनुसन्धानमा खुल्न आएको छ ।
बस्नेतले आफ्नो जेठान नबिनकुमार गौली लगायतका आफन्तको नाममा समेत सम्पत्ति लुकाएको तथ्य अख्तियारले फेला पारेको छ ।
अख्तियारका अनुसार सार्वजनिक सेवा प्रवेश गरेदेखि २०७६ असार मसान्तसम्मको बस्नेतको समग्र आय र व्यय तथा लगानीको विश्लेषण गर्दा पारिश्रमिक बचत, घरजग्गा बिक्री, ऋण सापटी, घर बहाल, शेयर लाभांश, कृषि आय, भ्रमण भत्ता, सुन बिक्री, अंशबण्डाबाट प्राप्त आय, कमिशन तथा पुरस्कार, बिमा समेतबाट १ करोड ७८ लाख २० हजार ९ सय ७५ रुपैयाँ देखिन आएको छ ।
सोही अवधिमा निजको व्यय तथा लगानीतर्फ हेर्दा जग्गा खरिद तथा घर निर्माण, सुनचाँदी खरिद, ऋणको साँवा ब्याज भुक्तानी, सवारी साधन खरिद, विदेश भ्रमण, शेयर खरिद, छोराछोरीको अध्ययन खर्च, विभिन्न कर भुक्तानी, घर बहाल, सापटी, विद्युतिय उपकरण खरिद, बिमा प्रिमियम भुक्तानी, बैंक तथा सहकारीमा रहेको नगद मौज्दातसमेत गरी ३ करोड १३ लाख ५९ हजार ९ सय ९३ खर्च गरेको सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।
सो अवधिमा उनको आय भन्दा व्यय १ करोड ३५ लाख ३८ हजार ८ सय १७ रुपैयाँ देखिन्छ । उक्त रकम भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।
त्यस्तै बस्नेतले आफू प्रमुख भन्सार अधिकृतको रुपमा कार्यरत रहँदा बिदेशबाट नेपाल आयात गर्ने सामानहरुको भन्सार छुटाउँदा विभिन्न व्यापारी, क्यारिङ्ग ब्यबसायी एवम् भन्सार एजेन्टहरुसँग गैरकानूनी रुपमा घुस उठाएको पनि खुलेको छ ।
उनले त्यस्ता गैरकानूनी रकमहरु विभिन्न व्यवसाय गर्ने व्यक्तिहरु, विभिन्न पेशा व्यवसायमा काम गर्ने कर्मचारीहरु, व्यापारी एवम् भन्सार एजेन्टहरुमार्फत संखुवासभा खाँदबारी १ निवासी आफ्ना जेठान नबिनकुमार गौलीले प्राप्त गर्ने गरी निज र निजको परिवारका सदस्यहरु एवम् खाँदबारी स्थित विभिन्न व्यापारीहरुको बैंक खाता समेतमा ९ करोड २१ लाख ५२ हजार ७ सय ९२ रुपैयाँ जम्मा गर्न लगाएको अनुसन्धानमा खुलको सहायक प्रवक्ता अधिकारीले जानकारी दिए । ।
त्यसरी जम्मा गरिएका कतिपय रकमहरु कृष्णबहादुर बस्नेतले विभिन्न व्यक्ति तथा कम्पनीमा नगदै बुझाउने र सम्पत्ति शुद्धिकरण गर्ने र लुकाउने उद्देश्यले कम्पनीकै नामको बैंकको चेक एवं कम्पनीमा कार्यरत कर्मचारीमार्फत् समेत नबिनकुमार गौलीले प्राप्त गर्ने गरी चेक तथा नगद जम्मा गर्ने गरेको समेत पाइएको छ ।
बस्नेतले जेठान नबिनकुमार गौलीको नाममा जग्गा जमिन खरिद गरी बकसको रुपमा फिर्ता लिने गरेको र गौलीले प्राप्त गर्ने गरी पठाएको रकमहरु गौलीले खाँदबारीबाटै झिकी जग्गा खरिद, होटल व्यवसाय र अन्य व्यवसायमा लगानी गर्ने गरेको देखिन आएको छ ।
‘नबिनकुमार गौलीले बस्नेत बिराटनगर भन्सार कार्यालयमा कार्यरत रहँदाको अवधिमा खाँदबारी बजार र आसपास क्षेत्रमा करिब १०० रोपनी जग्गा खरिद गरेको, खाँदबारीमा नै करिब १० करोडको लागतमा आरती होटल निर्माण गरेको, निजको नामबाट अर्बिट इनर्जी प्रालिमा २ करोडभन्दा बढी लगानी गरेको देखियो’, अख्तियारको आरोप पत्रमा भनिएको छ, ‘यसरी गरीएको लगानी रकम नबिनकुमार गौलीको ऋण, कृषी आय, जग्गा बिक्री समेतका विभिन्न शीर्षकबाट प्राप्त आयको तुलनामा अस्वाभाबिक रुपमा बढी देखियो ।’
बस्नेतको आफ्नै श्रोत नपुगेको रकम र जेठान गौलीको नाममा पठाएको श्रोत नखुलेको रकम समेत गरी १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको अख्तियारको आरोप छ ।
मुद्दामा उनका जेठान नविनकुमार गौली, उनकी श्रीमती सकुन्तला गौली, छोरा शुलभ गौली र बस्नेतकी श्रीमती श्रीमती सबिता गौलीलाई प्रतिवादी बनाइएको छ ।
बस्नेतको हकमा १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ र जेठानको हकमा ९ करोड २१ लाख ५२ हजार ७ सय ९२ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
त्यस्तै बस्नेतकी श्रीमती सबिता गौली बस्नेत, जेठान गौलीकी श्रीमती सकुन्तला गौली र छोरा सुलभ गौलीको हकमा उनीहरुको नाममा रहेको स्रोत नखुलेको घरजग्गा लगायत चल अचल सम्पत्तिहरु जफत गरिने सहायक प्रवक्ता अधिकारीले जानकारी दिए । उनका अनुसार ज्वाईँ–जेठान दुवैलाई प्रचलित कानुन बमोजिम कारवाही हुनेछ । मकालु खबरबाट


