जसले नगद र चेकसहित भेटाएको झोला फिर्ता गरे

म्याग्दी । म्याग्दीका एक युवा व्यवसायीले बाटोमा भेट्टाएको नगद र चेकसहितको महत्वपूर्ण सामग्री सम्बन्धित व्यक्तिलाई नै हस्तान्तरण गरेका छन् ।

अन्नपूर्ण गाउँपालिका–३ दानाकी रिया थापाले बेनीदेखि दानातर्फ जाने क्रममा जिपको झ्यालबाट खसेर बिहीबार अपराह्न हराएको झोला फेला पारेका रघुगंगा गाउँपालिका–२ पञ्चासेका झलक शर्माले सम्बन्धित व्यक्तिको खोजी गरी सो सामग्री हस्तान्तरण गरेका हुन् ।

बेनी–गलेश्वर सडकखण्डअन्तर्गत जलेश्वरको बीचसडकमा भेटिएको सो झोलामा रहेको रु. ५० हजार २२५ नगद, ५९ हजारबराबरको बैंकको चेक, दुई थान नेपाली नागरिकताको प्रमाणपत्र, औषधि, मोबाइललगायतका सामग्रीलाई गलेश्वर प्रहरीचौकीमा जनप्रतिनिधिको रोहवरमा शर्माले सम्बन्धित व्यक्तिलाई उपलब्ध गराएका हुन् ।

बेनीमा मेघावान कन्ीट्रक्सन व्यवसाय सञ्चालन गर्दै आएका शर्माले मोटरसाइकलमार्फत यात्रा गर्दा सडकमा झोला भेटिएको थियो । भेटिएको झोलामा नगद, चेक, मोबाइल र नागरिकतालगायतका महत्वपूर्ण कागजात देखेपछि सम्बन्धित व्यक्तिको खोजीमा लागेका शर्माले चेकको पछाडि लेखिएको मोबाइल नम्बरमार्फत सम्बन्धित मान्छे पत्ता लगाएका थिए ।

‘शुरुमा चेक नम्बरमा रहेको मोबाइल नम्बरमा सम्पर्क गरेँ, फोन उठाउँदासम्म उहाँलाई आफ्नो सामान हराएको जानकारीसमेत रहेनछ, पछि तपाईंको सामग्री हेर्नुहोस् भन्दा उहाँले झोला हराएको थाहा पाउनुभयो, उहाँले भनेका आफ्नो झोलामा रहेका सामान र भेटिएको झोलामा रहेका सामान मिलेपछि प्रहरी र जनप्रतिनिधिको रोहवरमा हस्तान्तरण गरेको हुँ,’ शर्माले भने ।

जिप चढेर बैसरीमा पुग्नुभएकी थापा आफ्नो सामान हराएर पनि कसैले फेला पारेको सूचना पाएसँगै सामान बुझ्न गलेश्वर फर्किएकी थिइन् । आफ्नो हराएको सामग्री फेला पारी उपलब्ध गराएकोमा उनले शर्मालाई धन्यवाद ज्ञापन गरिन् । हराएको सामग्री फेला पारेर आफैँले सम्बन्धित मान्छे खोजी गरी सामान फिर्ता गरेर शर्माले इमान्दारिताको नमुना पेस गरेको भन्दै बनेपा–९ का वडाध्यक्ष बेलबहादुर चोखालले धन्यवाद ज्ञापन गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖