विद्युत खपत बढाउन धेरैले दिए मूल्य घटाउन सुझाव
काठमाडौं, ७ पुष । बढ्दै गएको विद्युत उत्पादनका कारण अर्को वर्षदेखि विद्युत सरप्लसमा जाने अवस्था छ । त्यसैले विद्युत प्राधिकरण विद्युत खपत बढाउने योजनामा छ । प्राधिकरणले ग्राहकहरुलाई बढीभन्दा बढी विद्युत खपत गर्न भनेपनि महशुल दर घटाउन धेरैले सुझाएका छन् ।
अर्को वर्ष ४ सय ५६ मेगावटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना सम्पन्न भएसँगै वर्षातको समयमा विद्युत बढी हुने अवस्थामा छ । यस कारण विद्युत प्राधिकरणले विद्युतको खपत बढाउन अहिले वितरण प्रणाली संरचनमा सृदृढ गर्न लागि परेको छ । तर, महशुल दर घटाउने योजना बनाएको छैन । अहिले जति धेरै विद्युत खपत ग¥यो त्यति धेरै महशुल दर छ । अर्थात, प्राधिकरणको नीति विद्युत खपत बढाउने भन्दा निरुत्साहित गर्ने खालकोछ ।
हाल, २० युनिटसम्म विद्युत खपत गर्नेले न्युनतम सेवा शुल्क ३० रुपैयाँ र त्यसपछि प्रतियुनिट थप ३ रुपैयाँका दरले महशुल तिर्नुपर्छ । त्यस्तै, २१ देखि ३० युनिट खपत गर्नेले न्यूनतम ५० र थप ७ रुपैयाँ शुल्क छ । २५१ देखि ४०० युनिट विद्युत खपत गर्नेले न्यूनतम १५० रुपैयाँ र १३ रुपैयाँ इनर्जीशुल्क लाग्छ ।
त्यस्तै, ६० एम्पियरको एमसीबी जडीत घरमा २० यूनिट खपत गर्नेलाई सेवा शुल्क १२५ रुपैयाँ र इनर्जी शुल्क ६ रुपैयाँ छ । जसमा ४०० युनिट सम्मको खरिद गर्नेले २७५ रुपैयाँ सेवा शुल्कमा थप १३ रुपैयाँ महशुलदर लाग्दै आएको छ । वर्षाको समयमा विद्युत बढी हुने अवस्था आएकाले प्राधिकरणले बैज्ञानिक महशुल दर तोक्ने गृहकार्य अघि बढाएको जनाएको छ । नयाँ दरमा २० देखि १०० युनिट सम्म खपत गर्नेसम्म ७ रुपैयाँ, र मात्र तोक्ने प्राधिकरणको तयारी छ ।
विद्युत महशुल दर हेरफेर गर्न विद्युत प्राधिकरणले प्रस्ताव गर्छ र विद्युत नियमन आयोगले महशुल दर निर्धारण गर्छ । नेपालले दश वर्ष भित्र १५ हजार मेगावट विद्युत उत्पादन गरी १० हजार आन्तरिक बजारमै खपत गर्ने र ५ हजार निर्यात गर्ने लक्ष्य छ ।


