जब एसएसपी नै यात्रु बनेर सार्वजनिक यातायातको अवस्था बुझ्न गए

काठमाण्डाै । सार्वजनिक यातायातको अवस्था बुझ्न महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० भीमप्रसाद ढकाल बिहीबार अपराह्न सादा पोशाकमा सार्वजनिक सवारीमार्फत काठमाण्डौका विभिन्न क्षेत्र घुम्नुभयो ।

उहाँले सार्वजनिक सवारीको चालकका गतिविधि, सहचालकले यात्रुप्रति गर्ने व्यवहार, गाडीको अवस्था, भाडा र आरक्षणको प्रयोगबारे गाडीको यात्रा गरेरै अनुगमन गर्नुभयो । ट्याक्सी चालकले गर्ने व्यवहारदेखि सडकमा ट्राफिक प्रहरीले सवारी व्यवस्थापनमा गरेको गतिविधि पनि उहाँले नियाल्नुभयो ।

‘हरेक दिनजसो नै सर्वसाधारणबाट गुनासो आउन थाल्यो, कसैले आरक्षण सिट पाएन, कसैले सहचालकले गाली गर्‍यो, कसैले जथाभावीरूपमा ओराल्यो भनेर पटक–पटक गुनासो आइरह्यो, त्यसैले अवस्था के रहेछ त भनेर बुझेँ’, ढकालले भन्नुभयो ।

बिहीबार अपराह्न झण्डै २ बजे सिमसिम पानी परेकाले मौसम चिसो थियो । उहाँले काठमाण्डौको पुतलीसडक, बानेश्वर, रत्नपार्कलगायत क्षेत्रमा सार्वजनिक सवारीमा चढेर यात्रा गर्नुभयो । कहिले सार्वजनिक बस त कहिले ट्याक्सीमा चढेर चालकको आनीबानी, यात्रुलाई गर्ने व्यवहार र भाडा दरबारे नजिकबाट नियाल्नुभयो ।

‘विगतको भन्दा सार्वजनिक यातायात धेरै सुध्रिएको देखियो, तर अझै समस्या भने कायमै छ’, एसएसपी ढकालले अनुभव सुनाउनुभयो ।

यतिले मात्रै पुग्ने नदेखिएको भन्दै अझै धेरै गर्न बाँकी रहेको उहाँले प्रतिक्रिया दिनुभयो । ढकालका अनुसार सार्वजनिक सवारी साधानको सिट घुँडा राख्न नमिल्ने गरी साँघुरो पाइएको छ । ट्याक्सी चालकले हत्तपत्त मिटरमा नजाने गरेकोसमेत पाइएको उहाँले बताउनुभयो ।

रत्नपार्कबाट उहाँले प्रदेश ३–०१००२ ज ५९९७ लेखेको ट्याक्सी चढ्नुभयो । ‘सिंहदरबारसम्मको कति भाडा?’, उहाँले सोध्नुभयो, ‘त्यही दुई सय जति दिनुस् न मिलाएर’, चालक रामेछापका केशव श्रेष्ठले जवाफ फर्काउनुभयो । ‘यति नजिक पनि २०० मिटर छैन’, उहाँले फेरि सोध्नुभयो, ‘भए पनि थोरै पैसा उठ्छ नि सर, त्यही भएर’, चालकको जवाफ आयो ।

एकछिन कुरा गरेपछि चालकले मिटरमा जाने भए मिटर पनि लगाउँछु भन्दै मिटर अन गर्न पुगे । अन्ततः मिटरमा ६० रुपैयाँ उठ्यो । ढकालले पैसा तिरेर आगामी दिनमा यसरी बढी भाडा नभनी मिटरमा जान चेतावनी दिनुभयो । अनुगमनका क्रममा यात्रुलाई सहचालकले गर्ने व्यवहार राम्रो नभएको देखिएको र यात्रुलाई बस्नसमेत सकस भएको पाइएको बताउँदै यसलाई नियन्त्रणका लागि आवश्यक पहल गरिने प्रतिक्रिया दिनुभयो ।

पैसा लिएपछि यात्रुलाई त्यही अनुसारको सेवासुविधा दिन सक्नुपर्छ, सरसफाइ र सिटको सहज व्यवस्था गर्नुपर्छ, यसतर्फ अझै ध्यान नपुगेको पाइएको उहाँले बताउनुभयो । धेरै ट्याक्सीले मिटरमै गएको पाइए पनि छोटो यात्रामा भने मिटरमा जान नमान्ने गरेको समेत उहाँले बताउनुभयो ।

उहाँका अनुसार यात्रुलाई यात्राका समयमा एउटा समस्या हो तर चालकले ट्राफिक नियम पालना नगरेका कारण दुर्घटना बढ्ने अर्को जटिल समस्या छ । नियमानुसार गाडी चलाउने हो भने झण्डै ६० प्रतिशत दुर्घटना आफैँ रोकिने प्रहरीको अनुमान छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।