सभामुखमा अग्‍नि सापकोटा ! : उपसभामुखका लागि काँग्रेसले कमण्डलु नबोक्ने

अग्‍नि सापकोटा सभामुखमा निर्विरोध निर्वाचित

काठमाडौं, १२ माघ । नेकपाका सांसद अग‍्‍नि सापकोटा सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले सापकोटालाई सर्वसम्मत रुपमा सभामुख चयन गरेको हो ।

नेकपाका उपनेता सुवास नेम्बाङले उनलाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर सोमबार प्रतिनिधिसभाको बैठकमा प्रस्ताव पेश गरेका थिए। नेम्बाङको प्रस्तावमा नेकपाका प्रमुख सचेतक देव गुरुङ,पूर्व सभामुख ओनसरी घर्तीमगर र राजपाका सांसद लक्षमणलाल कर्णले समर्थन गरेका थिए।

उपसभामुखका लागि काँग्रेसले कमण्डलु नबोक्ने

नेपाली काँग्रेसले उपसभामुख पदका लागि ‘कमण्डलु’ लिएर माग्न नजाने प्रष्ट पारेको छ । आइतबार प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद डाक्टर मीनेन्द्र रिजालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)संग कांग्रेसले उपसभामुख पदका लागि बार्गेनिङ नगर्ने प्रष्ट पार्नु भएको हो ।

उहाँले भन्नुभयो, ‘चर्चा चल्या छ कि कांग्रेसले उपसभामुख पदका लागि बार्गेनिङ गरेर सभामुख पदमा उम्मेद्वारी दिएन । एउटा कुरा प्रष्ट भन्न चाहन्छु, संविधानमा सभामुख र उपसभामुख अलग–अलग पार्टीको हुनुपर्ने प्रष्ट प्रावधान र मान्यता छ ।

संविधानमा लेखिदा कतैबाट खोजेर कुन–कुन पार्टी छन् भनेर लेखिएको होइन, कताबाट लेख्दा सजिलो पर्ला सत्तालाई ?भनेर संविधानमा लेख्या पनि होइन । संविधानमा अलग–अलग पार्टी हुनुपर्छ भनेर लेख्दा स्वभाविक रुपले त्यसले एउटा मर्म र भाव प्रस्तुत गरिएको छ । त्यो मर्म र भाव नेपाल कम्युनिष्ट पार्टीले बुझ्ला÷नबुझ्ला, बुझेर बुझ पचाउला÷नपचउला त्यो हाम्रो सरोकारको विषय भएन ।’

त्यसपछि उहाँले कांग्रेस कमण्डलु लिएर उपसभामुख माग्न संसदमा प्रस्तुत नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले यो कुरालाई पनि प्रष्ट रुपमा भन्न चाहन्छु, हामीसँग मत पनि छैन, कमण्डलु बोकेर पनि आउने छैन, उपसभामुख पदका लागि ।’

यसैसँग जोडिएको अर्को विषयमा उहाँले अगाडि भन्नुभयो, ‘केहीदिन पछि त हामी एउटै पार्टी हुन्छौं, आज दुई वटै छौं । त्यसैले प्राविधिक रुपले हामी एउटै पार्टी हुन आँटेका सम्झौता गरिकसेकाले दुई वटै पद दिएपनि हुन्छ, भन्ने व्याख्या यहाँ लामो समय रह्यो । त्यो परिस्थिति छैन । फेरिनु पर्छ । एउटै पार्टीको हुनु हुँदैन, हामीले भन्दा खेरी अदालतमा रहेको विचराधीन मुद्दालाई प्रभावित गर्न खोजियो, भनेजस्तै गरी अदालतमा भएको मुद्दालाई प्रभावित गर्न सक्ने गरी हाम्रो के संख्या छ र !’

उहाँले फेरि भन्नुभयो, ‘हिजो गलत काम भा’थ्यो । लोकतन्त्रको एउटा सुन्दर पक्ष के छ भन्दा , लोकतन्त्रले आफ्नो प्रक्रिया र पद्धति समात्दा सभामुख निर्वाचन गर्ने काम पुष ४ देखि आज माघ १२ सम्म आइपुग्यो ।

यसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई केही शिक्षा भा’छ/छैन, नेकपाले जान्ने विषय हो । हामीलाई चाँही एउटा शिक्षा भा’छ । गलत प्रवेश गरेको विषय पनि लोकतान्त्रिक पद्धतिमा जर्निङ हुँदाहुँदा बाहिर निस्कदा आम देशभर एउटा मत बलियोसँग थाहा छ । व्यक्तिको बारेमा हाम्रो मत छैन, थिएन ।’

त्यस्तै उहाँले निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेको पक्षमा अप्रत्यक्षरुपमा समर्थन गर्दै भन्नुभयो, ‘नेपाली राजनीतिमा, नेपाली समाजमा महिला सशक्तीकरणको आवाज अत्यन्त बलियो छ, महत्वपूर्ण छ । यसलाई कुनामा पन्छाएर राख्न पाइदैन, भन्ने आम नागरिकलाई थाहा छ । यसले हामीलाई शिक्षा दिएको छ ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।