सुरक्षा विधि अपनाएर जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार

काठमाडौँ, असार १ गते । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार शुरु भएको छ । बन्दाबन्दीले रोकिएको काम वैशाख पहिलो सातापछि सुरक्षाका विधि अपनाएर शुरु भएको थियो । जेठ पहिलो साता नगरपालिका–४ र ७ मा गरी दुई जना सङ्क्रमित भएपछि दुवै वडा सिल गरिएको थियो ।

सङ्क्रमितसँग सम्पर्कमा आएका र परिवारका सदस्यलाई पनि आरडिटी एवं पिसिआर विधिबाट परीक्षण गर्दा प्रतिवेदन नेगेटिभ आएपछि सडक विस्तारको काम शुरु भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताउनुभयो । गत आर्थिक वर्षमै सक्ने गरी विसं २०७२ मै ठेक्का भएको सात किमी सडक पाँच वर्षदेखि अलपत्र छ । सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिई काम अघि बढाउन नदिने भनी विरोध गरेपछि विस्तार हुन सकेको थिएन । केन्द्रविन्दुबाट दायाँबायाँ ११÷११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो ।

सात किमीको दूरीमा पर्ने करिब ९०० घरका धनीले ठेक्का अनुसार विस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रविन्दुबाट दायाँबायाँ सात÷सात मिटर विस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११÷११ मिटर नै विस्तार गर्ने सहमति भएको नगरपालिकाका प्रवक्ता ढुङ्गानाले जानकारी दिनुभयो ।

सहमतिसँगै चालु आर्थिक वर्षको अन्त्यसम्म काम सक्ने गरी म्याद थपिएको थियो । रु ५८ करोड लागतमा भइरहेको काम असार मसान्तसम्म नसकिने निश्चित भएको बिस्तार आयोजना प्रमुख गुरुप्रसाद अधिकारीले बताउनुभयो ।

बन्दाबन्दीका क्रममा सडकमा पर्ने रुख हटाए पनि विद्युत्को पोल, तार लगायत संरचना हटेको छैन । सडकको काम नसकिँदा यस वर्ष पनि वर्षाद्का समयमा हिलो र हिउँदमा धुलोमा यात्रा गर्न बाध्य हुनुपर्ने अवस्था आएको स्थानीयवासी पार्वती तामाङले गुनासो गर्नुभयो । यसैबीच जोरपाटी चोकबाट सुन्दरीजलतिर जाने मुखका स्थानीयवासी मुआब्जाको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा हालेपछि हाल त्यहाँको काम रोकिएको छ ।

अन्य स्थानमा भने हाल सुरक्षाका विधि अपनाएर एक समूहमा १० जना मानिसले गर्ने एवं यन्त्रले गर्न सकिने ढलका लागि हिमपाइप राख्ने काम भइरहेको आयोजनाले जनाएको छ । त्यहाँभन्दा बढी कामदार जम्मा हुने काम भने हुन सकेको छैन । वर्षा अघि नै सडकमा ग्राभेलसम्म गर्न सकिने गरी काम अघि बढाइएको नगरपालिका वडा नं. ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले सुनाउनुभयो ।

ग्राभेल हालेर डोजर र रोलरले सम्याएर वर्षाका समयमा हिलो एवं धुलो नहुने गरी काम गराउन नगरपालिकाले दबाब दिँदै आएको जनाइएको छ । निर्माणको ठेक्का पाएको सिएम कन्स्ट्रक्सनका इञ्जिनीयर सनम श्रेष्ठ बन्दाबन्दी शुरु भएपछि सुरक्षित तरीकाले काम गर्न कामदार पाउन नसकिएको बताउनुहुन्छ । यही महीना काम सकिनुपर्ने भएपनि हालसम्म मुस्किलले ४० प्रतिशत मात्र काम भएको निर्माण कम्पनीले जनाएको छ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।