क्वारेन्टाइन कथा: कतै बिजोग, कतै रहरलाग्दो

घोडाघोडी, असार १ गते । विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस समुदायस्तरमा फैलिन नदिन स्थानीय तहले पालिकामा रहेका विद्यालयलाई क्वारेन्टाइनका रूपमा विकास गरेर भारतलगायत विभिन्न ठाउँबाट आएकाहरूलाई व्यवस्थापन गरिरहेका छन् । कैलालीमा विभिन्न पालिकामा स्थापना गरिएका क्वारेन्टाइन मापदण्डअनुसार नहुँदा भने जोखिम पनि बढेको छ ।

स्थानीय पालिकाले मापदण्ड विपरीतका क्वारेन्टाइन निर्माण गरेर व्यवस्थापन गरिरहेको जिकिर गरिरहँदा सुदूरपश्चिममा कोरोना सङ्क्रमण देखिएकाहरू अधिकांश क्वारेन्टाइनमै बसेकाहरू रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीले बताउनुभयो । निर्देशक अवस्थीका अनुसार मापदण्ड विपरीतका क्वारेन्टाइन कोरोना सङ्क्रमणको केन्द्र बनेकाले व्यवस्थित बनाउनुपर्छ ।

घोडाघोडी नगरपालिका–३ मा रहेको सरस्वती आधारभूत विद्यालयमा सञ्चालित क्वारेन्टाइनको अवस्था दयनीय छ । एउटै कोठामा १५ जनासम्म बसेका छन् । क्वारेन्टाइन स्थलमा शौचालय नहुँदा राति बाहिर गएर शौचालय गर्नुपर्ने बाध्यता छ । शुद्ध पिउने पानीको अभाव, विद्युत्, गर्मी जस्ता समस्या क्वारेन्टाइनमा रहेको छ । यो घोडाघोडी नगरपालिकाको क्वारेन्टाइनको उदाहरण मात्र हो । नगरपालिकाले पालिकाका सामुदायिक विद्यालय तथा सार्वजनिक भवनलाई प्रयोग गरेर ६५ क्वारेन्टाइन बनाएको छ ।

नगरपालिकाले सञ्चालन गरेका एकदुई क्वारेन्टाइनबाहेक हरेकमा समस्या छ । क्वारेन्टाइनको मापदण्ड पूरा नभएका कारण क्वारेन्टाइनबाटै सङ्क्रमण फैलने जोखिम पनि छ । घोडाघोडीमै केही राम्रा व्यवस्थापन भएका क्वारेन्टाइन पनि छन् । नगरपालिका वडा नम्बर १० मा रहेको कान्ति माविमा सञ्चालित क्वारेन्टाइनमा बसेकाहरू पारिवारिक वातावरणमा बस्न पाएको बताउँछन् ।

क्वारेन्टाइनमा बसेर भर्खरै घर फर्किनुभएका घोडाघोडी–१० का नीरज नेपाली भन्नुहुन्छ, ‘बिहानै चिया खाजा, अनि खाना दिउँसो खाजा, फेरि साँझ खाना खाइन्थ्यो क्वारेन्टाइनमा, यस्तो राम्रो व्यवस्थापनमा बस्न पाइएला सोचेकै थिएनाँै’ । स्वयंसेवकहरुको आत्मीय व्यवहारले क्वारेन्टाइन बसाइ झनै सजिलो भएको नेपालीको भनाइ छ ।

गौरीगंगा नगरपालिका–९ का तीन विद्यालयमा रहेका क्वारेन्टाइन जिल्लाका अरु ठाउँका भन्दा फरक छन् । त्यहाँका क्वारेन्टाइनको व्यवस्थापनमा युवाहरू स्वतःस्फूर्त लागेका छन् । हरेक क्वारेन्टाइनमा प्रत्येक दिन बिहान योग प्रशिक्षण गराइन्छ । मनोविमर्शकर्ताबाट क्वारेन्टाइनमै मर्नोपरामर्श दिइन्छ र प्रत्येक दिन बेलुकी शारीरिक व्यायाम गर्न प्रेरित गरिन्छ ।

वडामा सञ्चालित क्वारेन्टाइन व्यवस्थापनमा लागेका युवाको नेतृत्व गर्नुभएका मिलन ओली ‘विपत्को बेला सबै एकजुट भएर अघि बढ्नुपर्ने हुँदा युवाहरू मिलेर व्यवस्थापन तथा खटनपटनमा लागेका हौँ’भन्नुहुन्छ ।

क्वारेन्टाइनमा बसेकाहरूका लागि मनोविमर्शकर्ताबाटै क्वारेन्टाइन स्थलमै मनोपरामर्शको व्यवस्थापन गर्ने आफूहरु मात्र भएको जिकिर गौरिगंगा–९ का वडाध्यक्ष हरिप्रसाद तिवारी गर्नुहुन्छ ।

भारतबाट आउने क्रम बढ्नु तथा देशभित्रै अन्य स्थानबाट जिल्ला भित्रिने क्रम वृद्धिले क्वारेन्टाइनमा बस्नेको सङ्ख्या एक्कासि बढेपछि मापदण्ड कायम गर्न नसक्दा सामूहिक बसाइले जोखिम बढेको व्यवस्थापनमा लागेकाहरु नै बताउँछन् ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।