युवालाई रोजगारी दिएर गाउँमै रोक्ने योजना

दैलेख । दैलेखको महाबु गाउँपालिकाले कोरोना महामारीका वेला गाउँ फर्किएका युवालाई गाउँमै रोक्न रोजगारी सिर्जना गर्ने अभियानमा जुटेको छ ।

यसका लागि गाउँपालिकाले रोजगारी सिर्जना गर्ने योजनासमेत बनाएको छ । कोरोना महामारीका वेला दुई हजार सात सय युवा गाउँ फर्किएका छन् । चालु आर्थिक वर्षमा सञ्चालन गर्ने सबै विकास गतिविधिमा ठूला मेसिनको प्रयोग बन्द गर्ने र विकास निर्माणका काममा सम्बन्धित गाउँकै युवाको समिति बनाएर काममा लगाउनेजस्ता योजना बनाइएको गाउँपालिकाका अध्यक्ष जङ्गबहादुर शाहीले बताउनुभयो ।

“कृषि, पशुपालनसँगै गाउँ र वडामा हुने सबै विकास निर्माणका काममा अनिवार्य रूपमा युवालाई परिचालन गर्ने रणनीति बनाएर काम शुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “गाउँपालिकाले नीति बनाएर अध्यक्ष रोजगार कार्यक्रमसँगै प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रममा युवा परिचालन गरेर गाउँमै रोक्ने तयारी थालेको छ ।”

यो गाउँपालिकामा कोरोना सङ्क्रमण कम देखिएकाले दसैँ र तिहारकै वेलामा युवालाई विभिन्न रोजगारीका काम दिएर आम्दानीका स्रोत व्यवस्थापन गर्ने तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले जानकारी दिनुभयो । यस्ता रोजगारमूलक कार्यक्रममार्फत गरिब तथा विपन्न वर्गको जीवनस्तर फेरिने अपेक्षा गाउँपालिकाले लिएको उहाँको भनाइ छ ।

कोरोना व्यवस्थापनमा रु दुई करोड ७६ लाख खर्च
कोरोना भाइरस नियन्त्रणका लागि रु दुई करोड ७६ लाख खर्च भएको महाबु गाउँपालिकाले जनाएको छ । क्वारेन्टिन व्यवस्थापन, खाना खर्च, सामग्री खरिद, औषधि खरिदलगायत विभिन्न शीर्षकमा रु दुई करोड ७६ लाख रकम खर्च भएको हो ।

स्वास्थ्य शाखा प्रमुख रमेश दशौदीले विदेशबाट आएका युवालाई ल्याउनका लागि मात्रै यातायात व्यवस्थापनमा रु ३६ लाख खर्च भएको बताउनुभयो । भारत, तेस्रो मुलुक र नेपालकै अन्य जिल्लामा कामको खोजीमा गएका दुई हजार सात सयभन्दा बढी नागरिक कोरोना महामारीको समयमा गाउँपालिकामा आएको उहाँले बताउनुभयो ।

विभिन्न शीर्षकमा भएको खर्च रकममध्ये पूरै भुक्तानी दिन नसकिएको र केही रकम उधारो रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मल्लले जानकारी दिनुभयो । गाउँपालिकाले उपचार सेवा प्रभावकारी बनाउन गाउँपालिकामै रु २५ लाखको अत्याधुनिक आइसोलेसन अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याएको छ । कोरोना सङ्क्रमण मात्र नभएर अन्य बिरामीका लागि पनि अस्पताल प्रयोगमा आएको अध्यक्ष शाहीको भनाइ छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।