व्यावसायिक पशुपालनमा लाग्न प्रेरणाका स्रोत बने नराल दाजुभाइ

तनहुँ, व्यास नगरपालिका–१३ स्थित पोखरीभञ्ज्याङ निवासी तरुण दल तनहुँका सचिव दयानिधि र पुस्तक व्यवसायी वीरेन्द्र नराल दुई दाजुभाई मिलेर व्यावसायिक पशुपालनमा लागेका छन् । नराल मल्टिपर्पोज प्रालीद्वारा सञ्चालित पशु तथा कृषि फार्म दर्ता गरेर गत साउन महीनादेखि पाडा, बाख्रा र लोकल कुखुरा पाल्न थाल्नुभएको हो । विश्व नै आक्रान्त हुने गरी कोरोनाले लामो समय बेकामे भएर बस्नुपरेपछि दुई दाजुभाइले गत वर्षको चैतदेखि व्यावसायिकरुपमा पशुपालनतर्फ लागेका हुन् ।

कोरोनाका कारण लगाइएको बन्दाबन्दी खुकुलो बन्दै गएपछि शुरुमा रु एक करोड लगानी गरेर व्यवसाय थालिएको पुस्तक व्यवसाय गर्दै आउनुभएका भाइ वीरेन्द्र नरालले बताउनुभयो । हाल फार्ममा २० पाडा, १०० बाख्रा र ७०० लोकल जातको कुखुरा रहेका छन् । उहाँले भन्नुभयो, “वार्षिक १०० पाडा बिक्री गर्ने लक्ष्य रहेको छ ।”

भैँसीका पाडा, बाख्रा र कुखुरा स्थानीयस्तरमा उत्पादन गरिएको ल्याइएको छ । उहाँले भन्नुभयो, “स्थानीय खरी जातको बाख्रालाई बोयर जातको बोका क्रस गराउने उद्देश्यले बोयर बोका खरीद गरेर ल्याइएको छ ।” आत्मनिर्भर बनेको अवस्थामा लकडाउन, बन्द, हड्ताललगायतको हुँदा पनि कुनै प्रभाव नपर्ने देखिएकाले पशु कृषि व्यवसायबाट केही गर्नुपर्छ भनेर शुरुआत गरिएको नराल दाजुभाई बताउनुहुन्छ ।

पाडा र बाख्रा बिक्री गर्न केही समय लाग्ने भए पनि करीब रु डेढ लाख मूल्य बराबरको कुखुरा बिक्री भइसकेको बताइएको छ । फार्मबाट दैनिक एक खसी, बोका, दैनिक १० क्रेट अण्डा र दैनिक १० वटा कुखुरा बिक्री गर्ने लक्ष्यसहित प्रक्रिया अघि बढाइएको दाजु दयानिधि नरालले बताउनुहुन्छ ।

पशुपालनका लागि करीब ७५ रोपनी जग्गामा फार्म तथा घाँस लगाइएको उहाँले बताउनुभयो । फार्म अवलोकनमा आउने कृषकलाई सुरक्षा अपनाएर टाढैबाट हेर्न मिल्ने गरी व्यवस्था मिलाइएको छ । फार्ममा कार्यरत तीन जना कामदारले पनि चुना र सेनिटाइजर प्रयोग गरेर मात्रै प्रवेश गर्ने गरेका छन् ।

फार्ममा रहेका पाडालाई खोरेत, बाख्रालाई पिपिआर र कुखुरालाई रानीखेतविरुद्धको भ्याक्सिन वडा कार्यालयबाट उपलब्ध गराएपछि लगाइएको कृषकद्वय बताउनुहुन्छ । बन्दाबन्दीका कारण ज्याला मजदूरी गर्न जान नपाउँदा अधिकांशलाई बिहान बेलुकाको हात मुख जोर्न पनि धौधौ भएको बेला यी दाजुभाइले शुरु गरेको व्यवसायलाई सबैले प्रशंसा गरेका छन् । कोरोनाका कारण सुरक्षित रहन नेपाल सरकारले करीब नौ महीनासम्म बन्दाबन्दी गरेको समयमा पनि यी दाजुभाइले आर्थिक उपार्जन गरी नै रहे ।

जीविकोपार्जनका लागि स्वदेश वा विदेशमै रोजगारी नै गर्नु पर्दछ भन्ने मान्यतालाई चुनौती दिंदै आफैंले व्यावसायिक कृषि तथा पशुपालन गरी उल्टै अरुलाई समेत रोजगारी दिन सकिने हुँदा नयाँ पुस्ताको सोचमा परिवर्तन आउनु जरुरी रहेको नराल दाजुभाइ बताउँछन् । राजनीतिलाई मर्यादित बनाउन पनि व्यावसायिक उद्यमशीलताको खाँचो रहेको वीरेन्द्रको भनाइ छ । तीनै तहका सरकारदेखि विभिन्न सङ्घसंस्थाहरुले कृषि र पशुपालनलाई उच्च प्राथमिकता दिएको अवस्थामा नराल दाजुभाइले जस्तै गाउँका अन्य युवा पनि विस्तारै व्यावसायिक कृषितर्फ आकर्षित हुन थालेका छन्।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।