काभ्रेपलाञ्चोकमा निषेधाज्ञा एक हप्ता थप

बनेपा, २७ वैशाख । कोरोना भाइरस सङ्क्रमणको दर उच्चरूपमा बढिरहेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले यसअघि गरिएको निषेधाज्ञालाई अर्को एक हप्ताका लागि थप गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आइतबार सूचना जारी गर्दै कोभिड–१९ को सम्भावित सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी आइतबार राति १२ बजेदेखि आगामी जेठ २ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा थप गरिएको बताउनुभयो ।

यसअघि वैशाख १९ गते राति १२ बजेदेखि एक हप्ताका लागि जारी गरिएको निषेधाज्ञा सङ्क्रमण दर बढ्न थालेपछि समय थप गर्नुपरेको उहाँले बताउनुभयो । निषेधाज्ञाको समयमा यसअघि निर्धारण गरिएको समयबाहेक कार्यालय सञ्चालनको हकमा थप कडाइ गरिएको छ । सो समयमा सरकारी कार्यालयले न्यूनतम कर्मचारी उपस्थित भएर सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने, बैंक तथा वित्तीय संस्थाहरुको हकमा राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा लघुवित्त कम्पनी र बिमा समितिबाट इजाजतप्राप्त बिमा कम्पनीहरुले माथिल्लो निकायको स्वीकृति लिई आलोपालो सेवा प्रणालीमा अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ ।

निषेधित क्षेत्रमा सञ्चालित सहकारी संस्थाहरुले अत्यावश्यक कार्यका लागि बढीमा हप्ताको दुई दिन कार्यालय सञ्चालन गरी सेवा प्रदान गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । सो समयमा सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, विद्युत्, सञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापनसम्बन्धी अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले प्रयोग गर्ने निजी सवारी साधनका हकमा कार्यालयले जारी गरेको परिचयपत्र र कार्यालयमा आउनुपर्ने पालो सूचीका आधारमा मात्रै आवतजावत गर्न पाउने प्रजिअ पोखरेलले बताउनुभयो ।

भक्तपुर र काभ्रेपलाञ्चोकको सिमाना अरनिको राजमार्गको साँगादेखि बनेपा बजार, धुलिखेल सरदमुकाम, पाँचखाल नगरपालिकाको बजार क्षेत्र हुँदै दोलालघाटसम्म सडकको दायाँबायाँ ५०० मिटर क्षेत्रमा निषेधाज्ञा गरिएको छ । त्यस्तै विपी राजमार्गको धुलिखेल चोकदेखि काभ्रेभञ्ज्याङ, भकुण्डे हुँदै मङ्गलटारसम्म सडकको दायाँ बायाँ २०० मिटर, बनेपा तीनदोबाटोदेखि नाला भगवती मन्दिरसम्मको सडक दायाँ बायाँ ५०० मिटर क्षेत्र, बनेपा–पनौती–खोपासी सडक खण्डको ५०० मिटर दायाँ बायाँ क्षेत्र र पाँचखाल नगरपालिकाको जिरोकिलोदेखि कुन्ताबेँसीसम्मको सडक दायाँ बायाँ क्षेत्रको २०० मिटर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । उता ग्वार्को–नमोबुद्ध सडक खण्डको मानेदोभान–कुशावेदी–सुनथान–शङ्खुपाटीचौर–नमोबुद्ध गुम्बा क्षेत्रको दायाँ बायाँ २०० मिटर, नगरकोट–कुन्ताबेँसी सडक दायाँ बायाँ २०० मिटर, पनौती–बाँसडोल–भैंसेपाटी सडक क्षेत्रको दायाँ बायाँ तथा नाला करुणामाई मन्दिरदेखि भक्तपुर सडकको भञ्ज्याङसम्मको सडक दायाँ बायाँ २०० मिटर क्षेत्रमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले निषेधाज्ञा जारी गरेको छ ।

जिल्लाभित्र प्रयोग हुने निर्माणका सामग्री ढुङ्गा, गिटी, बालुवा र अन्य निर्माण सामग्रीहरु ढुवानी गर्ने सवारी साधनहरु राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । अत्यावश्यक सामग्री खाद्यान्न, डिपार्टमेन्टल स्टोरको ग्रोसरी मात्र सञ्चालन गर्ने समय बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि राति ७ बजेसम्म मात्रै निर्धारित स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गरी सञ्चालन गर्न पाउने भएको छ । अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री उत्पादन र बेचबिखन गर्ने उद्योग तथा पसललगायत अत्यावश्यक सेवासम्बन्धी व्यवसाय निर्धारित स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गरी सञ्चालन गर्न पाइने जनाएको छ ।

यसैबीच बनेपा नगरपालिकाले नगर कार्यालयसहित सबै वडा कार्यालयबाट हुने सबैखाले सेवा अनिश्चितकालका लागि बन्द गरेको छ । आइतबार नगरपालिकाले सूचना जारी गर्दै कोभिड–१९ व्यवस्थापनसम्बन्धी कार्य र फोहोरमैला व्यवस्थापनको काम मात्रै सञ्चालन हुने नगरका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले जानकारी दिनुभयो । आइतबारसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ९९ जना रहेको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।