ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म गङ्गा दशहरा स्नान मेला शुरु

काठमाडौँ, ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म वाग्मतीलगायत देशभरका विभिन्न तीर्थमा लाग्ने गङ्गादशहरा मेला आजदेखि शुरु भएको छ । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित वाग्मतीमा शैलमती मिसिएर बनेको तीर्थ सिद्धगयाको प्राकृतिक सुन्दरतालाई थप आकर्षक बनाइरहेका दुई झरनाको नजिकमा बिहानैदेखि स्नान गर्ने भक्तजन भेला भएका छन् । वाग्मती र शैलमतीको सङ्गममा गङ्गादशहरा स्नान गरी भगवान् शैलमतेश्वरको दर्शन गरेमा पापमोचन भई मुक्ति प्राप्त हुने धार्मिक विश्वास छ ।

नयाँ भेरियन्टसहितको कोरोना भाइरसबाट बच्न जारी निषेधाज्ञाका कारण सीमित भक्तजन भौतिक दूरी कायम गरी स्नान गर्न भेला भएका छन् । गत वर्ष पनि यस पर्वका अवसरमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएकाले थोरै भक्तजन मात्र मेलामा उपस्थित भएका थिए । दश प्रकारका पाप हरण गर्न ज्येष्ठ शुक्ल दशमीका दिन स्वर्गबाट पृथ्वीमा भागीरथिले गङ्गा अवतरण गराएको सम्झनामा देशभरका नदीमा दशहरा स्नान गरिन्छ ।

ज्येष्ठ शुक्ल दशमीका दिन गङ्गा वा नदी किनारमा गई स्नान गरेमा १० प्रकारका पाप नाश हुने धार्मिक विश्वास छ । कसैले नदिई कुनै वस्तु लिनु, विनायज्ञ हिंसा गर्नु, परस्त्री गमन गर्नु, कठोर वचन बोल्नु, असत्य बोल्नु, परनिन्दा गर्नु, बेमतलवको प्रलाप गर्नु, अरुको सम्पत्ति हडप्ने इच्छा राख्नु, अरुलाई हानी पु¥याउने इच्छा राख्नु र विनाकारण दुराग्रह राख्नेजस्ता पाप दशहराका दिन गङ्गा, त्रिवेणी वा नदीमा गई स्नान गरेमा नाश हुने शास्त्रीय मान्यता छ ।

सिद्धगयाका साथै काठमाडौँको हत्यामोचनघाट, रसुवाको गोसाइँकुण्ड, कपिलवस्तुको वाणगङ्गा, नवलपरासीको त्रिवेणी सङ्गमलगायत देशभरका नदीमा दशहरा स्नान मेला लाग्ने गर्दछ । शरीर, मन र वचनले गरिने दश प्रकारका पाप आजका दिन स्नान गरेर नाश हुने विश्वासमा गङ्गा दशहरा भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको सङ्गमस्थित वाग्मती नदी किनारमा रहेको हत्यामोचनघाटमा पनि स्नान मेला लागेको गङ्गा दशहरा स्नान एवं पूजा समितिका अध्यक्ष रोहित लिम्बूले जानकारी दिनुभयो । कोरानाकालअघि जति भक्तजनको भीड जम्मा हुन नदिए पनि नजिकैका भक्तजन दूरी कायम गरी स्नान गर्न आएको उहाँले सुनाउनुभयो ।

पौराणिक कथाअनुसार परशुरामले पिता ऋषि जमदग्निको आदेशानुसार माता रेणुकाको हत्या गरेपछि यही स्थलमा स्नान गरी हत्याको पापमोचन गरेकाले यो स्थानलाई हत्यामोचनघाट भनिएको विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

यसअघि परशुरामले भारत वर्षका हजारौँ तीर्थमा स्नान गर्दा पनि मातृ हत्याको पापमोचन भएको थिएन । पापमोचनस्वरुप परशुरामकी आमा रेणुकाले पुनर्जीवनसमेत पाएको पौराणिक कथन छ । दशहराका दश दिने अवधिमा जेठ महिना, शुक्ल पक्ष, दशमी तिथि, बुधबार, हस्ता नक्षत्रलगायत दश योग पर्ने गरेको छ ।

पौराणिककालमा यही दश दिन लगाएर स्वर्गबाट गङ्गा पृथ्वीमा अवतरण भएको शास्त्रीय मान्यता छ। गङ्गा किनारस्थित भारतको काशीको दशाश्वमेधघाट पनि यो दश दिने अवधिमा विशेष मेला लाग्छ ।

यसैगरी त्रेतायुगमा भगवान् रामले सेतुबन्धमा स्थापना गरेको रामेश्वरघाटमा यस अवसरमा मेला लाग्ने गर्छ । यी तीर्थमा स्थान गरी भगवान्को दर्शन गरेमा दश प्रकारको पाप नाश हुने धार्मिक विश्वास छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।