निषेधाज्ञा र वर्षाकाबीच वाग्मती सफाइ महाअभियान जारी

काठमाडौँ,नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञा र वर्षासँगै वाग्मती सफाइ महाअभियानलाई निरन्तरता दिइएको छ । सफाइ महाअभियानको ४२२ औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलको नेतृत्वमा काठमाडौँ महानगरपालिका वडा नं. ९ का सदस्य टेकराज अधिकारी, सफाइ अभियानकर्मीद्वय चक्रबहादुर चन्द र दुर्गा रावलले पशुपति क्षेत्रमा सफाइ गर्नुभएको छ ।

सफाइको क्रममा पशुपति क्षेत्रको वाग्मती किनारमा धेरै फौहर भेटिएको उहाँले सुनाउनुभयो । कोरोनाबाट र सामान्य अवस्थामा निधन भएका गरी दैनिक सयौँको सङ्ख्यामा शवदाह गर्न पशुपति क्षेत्रमा ल्याउन थालेपछि नदीक्षेत्र प्रदुषित बनेको हो । शवदाहमा प्रयोग भएका सामग्री नदी किनारमा सफाइ नगरी फालिएको अवस्थामा भेटिने गरेको अभियानकर्मीको गुनासो छ ।यसैगरी शङ्खमूल क्षेत्रमा पनि सफाइ गरिएको छ ।

यस क्षेत्रमा अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ भएको हो । निषेधाज्ञाकाबीच अभियानकर्मीले घरनजिकको नदी किनारमा सफाइ अभियानलाई निरन्तरता दिनुभएको छ । नदी किनारभन्दा टाढा निवास भएका अभियानकमर्मीले टोल सफाइ एवं जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुभएको छ । बिहान वर्षा भएपछि अभियानकर्मी छाता ओढेर भएपनि सफाइ महाअभियानलाई निरन्तरता दिन जुटेका थिए ।

विसं २०७० जेठ ५ गते शुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा देशका लागि दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ जारी छ । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मतीलाई स्वच्छ एवं स्नानयोग्य बनाउन उद्देश्यकासाथ शुरु भएको अभियान वर्षा, जाडो, गर्मी, भूकम्प, नाकाबन्दी, कोरोना महामारी, चाडपर्वका दिनसमेत निरन्तर हुँदै आएको छ।

काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदीसहित २० स्थानमा सफाइ हुन थालेको छ । वाग्मतीका विभिन्न भागका साथै रुद्रमती, विष्णुमतीका विभिन्न भाग, मनोहरा, हनुमन्ते, गोदावरीखोला, चक्रपथका विभिन्न भाग, सांस्कृतिक सम्पदा क्षेत्रमा सफाइ भइरहेको छ ।

यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य शहर, नदी एवं सम्पदास्थलमा पनि सफाइ अभियान जारी छ। काठमाडौँ उपत्यका र बाहिर गरी हाल १०७ भन्दा बढी स्थानमा सफाइ अभियान चलिरहेको छ। कोरोनाबाट बच्न जारी निषेधाज्ञाकाबीच भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सफाइ अभियानलाई निरन्तरता दिइएको हो । आठ वर्षदेखि स्वयंसेवी अभियानका रुपमा सफाइ जारी रहेपनि स्थानीय सरकारले भने सहयोग नगरेको अभियानकर्मीको गुनासो छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।