चुनावी चहलपहल ;जिल्लाका नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी दावी गर्न शुरु

चितवन, नेपाली कांग्रेसको चौधौैँ महाधिवेशनका लागि वडा तहबाट शुरु हुने अधिवेशनको चहलपहल शुरु भएको छ । जिल्लाका नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी दावी गर्न शुरु गरेका छन् । जिल्ला सभापतिमा मात्रै हालसम्म आठ जनाले उम्मेदवार हुने जनाएका छन्। यो सङ्ख्या घटबढ हुनसक्ने बताइएको छ ।

कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आफ्नो उम्मेदवारी केन्द्रीय सदस्यमा हुने जनाएपछि उपसभापति कैलाश कोइराला र सचिव उत्तम जोशी सभापतिको दौडमा हुनुहुन्छ । पूर्वसांसद एवं तत्कालीन भरतपुर नगरपालिकाका उपप्रमुख वरिष्ठ अधिवक्ता जगन्नाथ पौडेल, नेपाल विद्यार्थी सङ्घका जिल्ला पूर्वअध्यक्ष एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्ट्रार प्रा डा सूर्यकान्त घिमिरे तथा प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठले सभापतिको उम्मेदवारी दिने बताउनुभएको छ ।

चितवन क्षेत्र नं १ का महासमिति सदस्य राजेन्द्र बुर्लाकोटी, क्षेत्र नं २ का राजेश्वर खनाल र क्षेत्र नं ३ का विजय भुषाल सभापतिको चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँहरु मध्ये कतिपयले १३औँ महाधिवेशनपछि जिल्ला सभापतिमा चुनाव लड्ने भन्दै तयारी गर्दै आउनुभएको छ ।

जिल्ला सभापति श्रेष्ठ वडादेखि केन्द्रसम्म उम्मेदवार हुनेहरुले आफ्नो चुनावी प्रचार थालिसकेको बताउनुहुन्छ । चुनाव हुन्छ या हुँदैन भन्ने दोधारका बीच मिति तय भएपछि कोभिडको अवस्थामा पनि उम्मेदवारहरु आफ्नो पक्षमा मत तान्न लागिपरेका छन् । जिल्लामा २७ हजार ८५५ क्रियाशील सदस्य रहेका छन् । तीमध्ये १० हजार ८०७ जना नयाँ हुन् । आजसम्म पुरानाको नवीकरण हुने भएकाले ३०÷४० जना थप हुने अनुमान छ ।

सबैभन्दा बढी भरतपुर महानगरपालिकामा १५ हजार ६५८ क्रियाशील सदस्य रहेका छन् । दोस्रो धेरै रत्ननगर नगरपालिकामा चार हजार ४०१, खैरहनीमा तीन हजार सात, राप्तीमा एक हजार ३४५, कालिकामा एक हजार ६७८, माडीमा ९०६ र इच्छाकामना गाउँपालिकामा ८६० जना क्रियाशील सदस्य छन् । यसअघि सम्पन्न अधिवेशनमा १९ हजार ६०० क्रियाशील सदस्य रहेकामा १७ हजार १०० को नवीकरण भएको कांग्रेस चितवनले जनाएको छ ।

नेपाली कांग्रेसको आगामी साउन १२ गते वडा तहमा अधिवेशन हुँदैछ । वडा समिति र क्षेत्रीय प्रतिनिधि वडाबाट चयन हुनेछन् । साउन १६ गते हुने पालिका अधिवेशनबाट पालिका कार्यसमिति र अपाङ्गहरुको क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् ।

साउन २० गते क्षेत्रको प्रदेश समितिको अधिवेशनले प्रदेश कार्यसमिति, प्रदेश महाधिवेशन प्रतिनिधि चयन गर्नेछ । साउन २३ गते हुने क्षेत्रको अधिवेशनले क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन गर्दैछ । साउन २६ गते हुने जिल्ला अधिवेशनले जिल्ला कार्यसमिति चयन गर्नेछ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।