सावनको डोलामा पिङ खेल्दै राना थारु गाउँका दिदीबहिनी

राजेन्द्र पनेरु/कञ्चनपुर, १० साउन (रासस) : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीका राना थारु समुदायका व्यक्तिहरुले गाउँको बीच भागमा दिदीबहिनीहरुका लागि डोला (पिङ) राखेका छन् । साउनको पहिलो सातामै राना समुदायले डोला राखेका हुन् । यो राना थारु समुदायको परम्परागत चलन हो ।

राना थारु बसोवास गर्ने गाउँमा साउनमा सार्वजनिक स्थानमा पिङ राख्ने गरिन्छ । परम्परागत पहिरनमा सजिएका राना थारु महिलाहरु आफ्नै स्थानीय भाषा र परम्परागत शैलीमा गीत गाउदै पिङमा मच्चिएर आनन्द लिने गर्दछन् । सामूहिक भेला हुने सार्वजनिक ठाउँमा दाजुभाइले दिदीबहिनीहरुका लागि पिङ राख्ने चलन पुरानै रहेको भलमन्सा रामप्रसाद रानाले बताउनुभयो । “यो चलन परम्परागतरूपमा चल्दै आएको छ”, उहाँले भन्नुभयो, “दिदीबहिनीहरुले पिङमा मच्चिँदै रमाइलो गर्दै माङ्गलिक गीतहरु गाउने गर्दछन् । पिङलाई रानाथारु भाषामा डोला भन्ने गरिन्छ । चारवटा काठको खाँबोमा डोरीमा काठको फल्याक बाँधेर पिङका रूपमा प्रयोग गरिन्छ ।”

पिङ खेल्ने दिदीबहिनीको उत्साह थप्नका लागि ठूलो आवाजमा दाजुभाइले गीत गाउने चलन यस समुदायमा रहेको छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच आत्मीयता बढ्ने भएकाले यसलाई बढी महत्व दिइने गरिएको राना थारु अगुवा गेंदुराम रानाले बताउनुहुन्छ ।

दिदीबहिनीले पानीसमेत नपिएर निराहार बसी दाजुभाइको दीर्घायुको कामना गर्ने गर्दछन् । यसै अवसरमा उनीहरुले तीज मनाउने गर्दछन् । निराहार बसेका दिदीबहिनीले प्रसादका रूपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाउने गर्दछन् ।

गडरौंदा जातको घाँसमा विवाहिताले सात गाँठा र अविवाहिताले पाँच गाँठा पारी चाँदीको गहनाले काटेर नदीको बीच भागमा पुगेर बत्तिसँगै विसर्जन गर्ने चलन रहेको छ । विसर्जन गर्ने बेला दिदीबहिनीले दाजुभाइलाई धन सम्पत्ति, उन्नति र नदीको धार जस्तै दाजुभाइको आयु बढोस् भनी वरदान माग्ने गर्दछन् । जति टाढा घाँस बगेर जान्छ त्यति बढीनै दाजुभाइको आयु बढ्ने विश्वास यस समुदायमा रहेको छ । विसर्जन गर्न जाने बेला गाँउका युवाहरुले दिदीबहिनीहरुलाई बाटोमा लामो डोरीमा बेरेर घेर्ने प्रयत्न गरी हँस्यौली ठट्यौली र मनोरञ्जन लिने गर्दछन् । यसलाई राना थारु भाषामा झुड्की छिराउने भन्ने गरिन्छ ।

माइतीलाई भेट्न नपाएका दिदीबहिनीहरु यसै अवसरको सदुपयोग गर्दै भेटघाट गर्न आउने भएकाले यसलाई वर्षभरिको सुखदुःख साटासाट गर्ने अवसरका रुपमा लिने गर्दछन । यस अवसरमा घरघरमा बनाइएका परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला आफन्तलाई बाँड्दै घरका सबैले सँगै बसेर खाने चलन यस समुदायमा रहेको छ । तीजका अवसरमा महिलाहरुले घंघरिया, अंगिया, फतुइ र घुँगट लगाउने गर्छन् भने आभूषणमा पैडा, कठुला, हरवालगायत घाँटीदेखि खुट्टासम्म लगाउने गर्दछन ।

कैलाली र कञ्चनपुरमा मात्रै बसोबास भएका राना समुदायको यो महत्वपूर्ण पर्वका रूपमा रहेको छ । दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै यस पर्वलाई मनाउँछन् । साउनको शुक्ल तृतीयाका दिन यस पर्वको विधिवत्रूपमा समापन गरिन्छ ।

दाजुभाइले तीज पर्व आउन १५ दिन अगावै दिदीबहिनीको घरमा गएर निम्ता दिई बोलाएर ल्याउनुपर्ने चलन रहेको छ । परम्परागत राना थारु समुदायका महिलाहरुले मनाउने यो पर्व साउन महिनाभरि मनाइने गरिन्छ । आधुनिक परिवेशसंँगै यस पर्वको मौलिकता खस्किँदै जान थालेको छ । युवा पुस्ताले यस पर्वलाई महत्व नदिँदा ओझेलमा समेत पर्न थालेको छ । केही राना थारु गाउँमा जागरुक युवाहरुले परम्परागत संस्कृति र चालचलन जोगाउनका लागि समाजमा जागरणका माध्यमबाट कार्यक्रम अगाडिसमेत बढाउँदै आएका छन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।