यसरी हुन्छ मध्यरातमा कालीगण्डकीको दोहन

पर्वत /बिहीबार रातको ठिक १२ बजेको थियो । कालीगण्डकी किनारमा रहेको राजमार्ग पोखरा–मालढुङ्गा र मालढुङ्गा– बेनी सडकमा सवारी गुड्न बन्द भइसकेका थिए । कालीगण्डकी आफ्नै बेगले बगिरेहको थियो, जताततै सुनसान थियो । नागरिक निद्रामा मस्त थिए ।

यही समयमा बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुलमुनिको राजाको बगर भएर दुईवटा जेसिभी कालीगण्डकी नदीमा ओर्ले । दिनभर आफ्नै गतिमा बगेको कालीगण्डकीलाई रातमा बिथोलिन खोजिन्छ । कालीगण्डकी सभ्यता, कालीगण्डकी डाइभर्सन र चुरे अहिले जोडतोडले उठेको विषय हो । अन्य स्थानमा कालीगण्डकी दोहन रोकिए पनि पर्वत र बागलुङ खण्डमा दोहनले मध्यरातमा निरन्तरता पाइरहेको छ ।

सोही रात कालीगण्डकी सभ्यता बचाउन अभियानकर्मी आरके अदिप्त गिरीसहितका युवा, पत्रकार तथा अधिकारर्मीसहितको टोली कालीगण्डकी दोहनको अवलोकन गर्न कालीगण्डकीमाथिको पुलमा पुगेको थियो । कालीगण्डकी नदीको अवैध दोहन गर्न पुगेका जेसिभी, दायाँबायाँ हेरालु र वारिपारि सुराकीहरु परिचालन गरिएको थियो । लाग्छ उनीहरु नेपाल प्रहरीभन्दा बढी क्षमतामा दोहनको सुरक्षा गरेका थिए । राजाको बगरमा भएको दोहन त एक उदाहरण मात्रै हो । लस्ती बगर, दम्मुवाखोला, कालाखोला बगर, मालढुङ्गाको वारिपारि बगर र जलजलाका अधिकांश स्थनामा रातभर नदी दोहन हुने गरेको छ ।

राज्यले ठेक्का लगाएको समयमा दिउँसै अवैध उत्खनन गर्ने कालीगण्डकी दोहनकर्ताहरु ठेक्का नलगाएको बर्खाको समयमा मध्यरातमा कालीगण्डकी लुटिरहेका छन् । कालीगण्डकीको छातीमा दोहनकर्ताले रातभर रजाइँ गरेको श्रव्यदृश्यसमेत मध्यरातमा अवलोकनका लागि पुगेको उक्त कालीगण्डकी बचाऊ अभियान टोलीले कैद गरेको छ ।

रातको १२ बजेदेखि २ बजेसम्म राजाको बगरमा कालीगण्डकी दोहन हुन्छ, भोलिपल्ट दोहनबाट निकालिएको बालुवा बिक्री गरिन्छ । दोहनकै समयमा धवलागिरिको साविक सदरमुकाम रहेको बागलुङ बजारबाट कालिका मन्दिरसम्म प्रहरीको गस्ती भइरहेको हुन्छ भने दोहन गरिरहेको नजिकै मालढुङ्गामा प्रहरीसमेत भए पनि उनीहरु मौन बस्ने गरेका छन् ।

कालीगण्डकीलाई लुटेर खान पल्केका विरुद्ध कालीगण्डकी बचाऊ अभियानको निरन्तर खबरदारी हुने कालीगण्डकी बचाऊ अभियानका मुख्य अभियानकर्मी तथा प्राकृतिक विषयमा पत्रकारिता गर्ने गिरीले बताए । “हामीले निरन्तर नदी दोहनको विषयमा आवाज उठाइरहेका छौँ, केही स्थानमा सकरात्मकरूपमा दोहन रोकिएको अवस्था छ, तर पर्वत खण्डमा नदी दोहन रोक्न सकिएको छैन, प्रहरीले २४सै घण्टा नदी दोहनको अनुगमन गरेको बताएको छ तर रातको १२ बजे नदीमा स्काभेटर लगाइन्छ, हामीले साङ्केतिकरूपमा रातको १ बजे बत्ती बालेर दोहनस्थलमा विरोध जनाएका छौँ”, गिरीले भने, “यसमा बागलुङ, म्याग्दीसहित अन्य जिल्लाका युवा तथा पत्रकारको समेत साथ र सहयोग छ, हाम्रो अभियान अझै सशक्त बन्दै जानेछ ।”

असार १ देखि भदौ १५ सम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने गण्डकी प्रदेशको कानून भए पनि राज्यसत्ताको मिलेमतोमा मध्यरातमा कालीगण्डकी दोहन भइरहेको प्रत्यक्षदर्शी अधिकारकर्मी तथा अधिवक्ता राम शर्माले बताए ।

नेपालकै पुरानो सभ्यतामध्येको एक कालीगण्डकी सभ्यता पछिल्लो समय लोप हुने खतरा रहेकाले विश्वमै एक मात्र शालिग्राम पाइने नदीको संरक्षण हुनुपर्ने जनस्तरबाटै आवाज उठ्न थालेको छ । पर्वत प्रहरीले २४सै घण्टा नदी किनारामा प्रहरी खटाइएको दाबी गर्दै आएको छ । प्रहरीले २४सै घण्टा दोहन नियन्त्रणमा लिनका लागि प्रहरी खटाएको र केही मात्रमा दोहन नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।

“म पर्वत आएको एक महिना भयो, दोहन पूर्णरूपमा रोक्ने हाम्रो नीति छ, अहिले पनि किनारामै सवारीसहित प्रहरी परिचालन भएको छ, रातभर दोहन भइरहने राजाको बगरबाट दोहनमा सहभागीलाई पक्राउ गरी जरिवाना तिराएका छौँ, पुनः सोही स्थानमा दोहन भइरहेको गुनासो छ”, बुढाथोकीले भने, “हामीलाई दोहन भइरहेको समेत सही सूचना आवश्यक छ, राति बत्ती निभाएर दोहन गर्दा कतिपय स्थानमा प्रहरीले नदेखेको समेत हुनसक्छ, यसरी नै नागरिकस्तरबाट दबाब सिर्जना भए कालीगण्डकी बचाउन सम्भव छ ।”

यसैगरी नदीको दोहन भइरहने हो भने कालीगण्डकी सभ्यता र यस वरपर रहेका मठ, मन्दिर र देवालयको अस्तित्व सङ्कटमा पर्ने कालीगण्डकी बचाऔँ अभियानमा सक्रिय रुपेस सापकोटाले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।