८८ विद्यालय भवन पुनःनिर्माण

म्याग्दी, २३ साउन । भूकम्पले क्षति पुगेका म्याग्दीका ८८ वटा विद्यालयका भवन पुनःनिर्माण भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विसं २०७२ को भूकम्पले भत्किएका र जीर्ण बनेका विद्यालय भवन पुनःनिर्माण गरेको हो । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) म्याग्दीका प्रमुख तुलाराज चौलागाईले २०७८ असार मसान्तसम्म ८८ वटा विद्यालयमा २८२ वटा कक्षा कोठा भवन पुनःनिर्माण भएको जानकारी दिनुभयो ।

“एक सय पाँच विद्यालयका ३४४ कक्षा कोठा, ५० शौचालय र २७ वटा खानेपानी आयोजना पुनःनिर्माण गर्ने लक्ष्य रहेको थियो”, उहाँले भन्नुभयो, “८८ विद्यालयका २८२ कक्षा कोठा, ४५ शौचालय र २५ वटा खानेपानी पुनःनिर्माण सकिएको छ ।” तीस वटा दुई कोठे, १० वटा तीन कोठे, ४८ वटा चार कोठे भवन पुनःनिर्माण भएको छ । पैतीस वटा भवन गत आर्थिक वर्ष २०७७÷७८ मा निर्माण सकिएका हुन् । गत वर्ष ३७ वटा चार कोठे, तीन वटा तीन कोठे, १० वटा दुई कोठे भवन पुनःनिर्माणका लागि विद्यालय व्यवस्थापन समितिसँग सम्झौता भएको थियो ।

गत आवमा २४ वटा चार कोठे, एक वटा तीन कोठे र दश वटा दुई कोठे भवन निर्माण सकिएका छन् । पैतालिस शौचालय र २५ वटा खानेपानीका योजना निर्माण भएको छ । गत वर्ष सम्झौता भएका १७ वटा भवन, पाँच वटा शौचालय र दुई वटा खानेपानी आयोजनाले पूर्णता पाउन बाँकी छ । तेह्र वटा चार कोठे, दुई वटा तीन कोठे र दुई वटा दुई कोठे भवन निर्माणाधीन अवस्थामा छन् ।

एक वटा चार कोठे भवनको दोस्रो तला ढलान बाँकी छ भने अरु सबै रङरोगन गर्ने अवस्थामा रहेका एकाइका इञ्जिनीयर विष्णु रिजालले बताउनुभयो । आव २०७७÷७८ मा ३० शौचालय र २७ वटा खानेपानीका योजना निर्माणका लागि सम्झौता भएको थियो । पाँच शौचालय र दुई खानेपानीका योजना निमाणाधीन अवस्थामा छन् । आव २०७३÷७४ देखि जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)मार्फत विद्यालय भवन पुनःनिर्माण कार्यको थालनी भएको थियो । विसं २०७६ साउन १ मा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) स्थापना भएपछि म्याग्दीमा विद्यालय भवन, शौचालय र खानेपानी पुनःनिर्माणले थप तीव्रता पाएको हो ।

कोरोनाको जोखिम, वैशाख तेस्रो सातादेखि गरिएको निषेधाज्ञा र जेठको अन्तिम सातादेखि शुरु भएको बर्सातले ग्रामीण सडक अवरुद्ध भएर निर्माण सामग्री ढुवानी गर्न नसक्दा विद्यालय भवन पुनःनिर्माणका योजना प्रभावित बनेका हुन् । कतिपय विद्यालयमा दोस्रो चरणमा भवन निर्माण भइरहेको छ । सुविधा सम्पन्न भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन निर्माण भएपछि पठनपाठन सहज र विद्यार्थीले सुरक्षित महसुस गरेका हिमाञ्जल मावि नागीका प्रअ रमन पुनले बताउनुभयो । जीर्ण भवनमा जोखिम मोलेर त्रासपूर्ण वातावरणमा पठनपाठन गर्नु÷गराउनुपर्ने विद्यार्थी र शिक्षकको बाध्यता हटेको अमर ज्योति मावि डाडागाउँका प्रअ वीरबहादुर पुनले बताउनुभयो ।

भूकम्प प्रतिरोधी क्षमताका विद्यालय भवन अपाङ्गमैत्री छन् । खानेपानी आयोजनाका संरचनालाई बालमैत्री बनाइएको छ । शौचालयका योजना छात्रामैत्री छन् । विद्यालय भवन पुनःनिर्माणका लागि म्याग्दीमा हालसम्म करिब रु ६० करोड खर्च भएको छ । आव २०७७÷७८ मा पूँजीगत शीर्षकमा रु २६ करोड १९ लख ५१ हजार बजेट विनियोजन भएकोमा रु २४ करोड ९९ लाख खर्च भएको एकाइका लेखा प्रमुख नारायप्रसाद सुवेदीले बताउनुभयो । भौगोलिक विकटता, वैदेशिक सहायता शीर्षकबाट दाताले प्रतिबद्धता जनाएको बजेट समयमा नआउने र स्थानीयस्तरमा पर्याप्त मात्रामा दक्ष मजदुरको अभाव विद्यालय भवन पुनःनिर्माणका क्रममा म्याग्दीमा देखिएका चुनौती हुन् । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।