अस्पतालमा बन्धक बनेका शिशुको उद्धार

झापा, २५ साउन । उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनेका मेचीनगर–१० खयरडाँगीका चार महिने शिशु सुहान चौधरीलाई आइतबार उद्धार गरेर नेपाल ल्याइएको छ । आन्द्रा दोब्रिएर पेट फुलेका कारण शिशुलाई साउन १५ गते उपचारका लागि भारत पश्चिम बङ्गालको सिलिगुडीस्थित पारामाउन्ट अस्पतालमा लगिएको थियो । शिशुको अवस्था बुझ्न जानुभएका पत्रकार मोहन काजीले उपचारमा लागेको खर्च १५ दिनभित्र तिर्ने कागजमा सही गरेपछि अस्पतालले सुहानकी आमा शर्मिला चौधरीलाई शिशु फिर्ता दिएको थियो ।

अक्सिजन सपोर्टसहित एम्बुलेन्समा नेपाल ल्याइएको शिशुलाई आइतबार राति नै थप उपचारका लागि बिर्तामोडको बिएन्डसी अस्पतालमा भर्ना गरिएको छ । बिर्तामोडका केही निजी अस्पतालले बच्चालाई राख्ने आइसियु कक्षा नभएको भन्दै शिशुलाई फर्काइदिएपछि बिएन्डसी अस्पताल लगिएको थियो ।

सिलिगुडीको अस्पतालले उपचारमा लागेको रु छ लाख ८०० भुक्तानी नगरेसम्म बच्चा लैजान नदिने भन्दै शिशुलाई बन्धक बनाउँदै आएको थियो । अस्पतालले उपचारमा रु चार लाख ६८ हजार र औषधितर्फ रु एक लाख ३२ हजार ८०० बिल देखाएको छ । शिशुकी आमा शर्मिलाले पारामाउन्ट अस्पतालमा अहिलेसम्म रु दुई लाख ८८ हजार बुझाइसकेको बताउनुभयो । अब सो अस्पताललाई रु तीन लाख १२ हजार बुझाउन बाँकी छ ।

“चौधरी परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा छुट गरेर बच्चा फिर्ता दिन धेरै आग्रह ग¥यौँ, तर अस्पतालले मानेन,” शिशु फिर्ता गराउन रकम तिर्ने कागजमा सही गर्नुभएका पत्रकार काजीले भन्नुभयो, “अरु केही उपाय नलागेपछि १५ दिनभित्र रकम बुझाउने कबुलियतनामामा सही गरेर शिशुको उद्धार गरेका छौँ ।” उपचारको रकम असुल्न आमाबुबालाई घर पठाएर चार महिनाको शिशुलाई बन्धक बनाएर दैनिक बिल बढाउने अमानवीय कार्य सो अस्पतालले गरेको पत्रकार काजीले बताउनुभयो । अस्पतालका वरिष्ठ व्यवस्थापक पिन्टु रुस्तागीले तोकिएको समयमै बक्यौता नबुझाएमा घरसम्मै रकम असुल्न आउने चेतावनी दिँदै नागरिकता प्रमाणपत्रको प्रतिलिपिसमेत राखेको उहाँले बताउनुभयो ।

अस्पतालले बच्चा फिर्ता दिँदा अक्सिजन सपोर्टमै राखिएको थियो । शल्यक्रिया गरेपछि पेट तथा पिसाब नलीमा लगाइएको पाइप नखुस्काइएका कारण बच्चाको अवस्था अझै पनि गम्भीर छ । गरिबीका कारण नेपालमा भइरहेको उपचारको खर्चसमेत बेहोर्न सक्ने चौधरी परिवारसँग आर्थिक क्षमता छैन । राससमा आइतबार शिशु बन्धक बनेको समाचार प्रकाशित भएपछि विभिन्न सञ्चारमाध्यममा समेत सोही समाचार प्रकाशित भएको थियो ।

शर्मिलाले उपचारमा आर्थिक सहयोग गरेर आफ्नो शिशुको जीवनरक्षा गरिदिन दातासँग अपिल गर्नुभएको छ । भारत जानुअघि नेपालका विभिन्न अस्पतालमा शिशुको उपचार गराउँदा रु ५० हजार खर्च भएको उहाँले बताउनुभयो । अस्पतालमा अहिलेसम्म परिवारले बुझाएको रु दुई लाख ८८ हजारमध्ये रु ५४ हजार चन्दा सङ्कलनबाट जुटेको र बाँकी रकम परिवारले ऋण काढेर ल्याएको हो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।