कोरोना सङ्क्रमित नभएका पालिकाका विद्यालय खुले

बैतडी, ३१ साउन । भारतसँग सीमा जोडिएको बैतडी जिल्लाका विद्यालय खुल्न थालेका छन् । कोरोनाका सक्रिय सङ्क्रमित शून्य रहेका स्थानीय तहहरुले विद्यालय सञ्चालन गरिरहेका हुन् । जिल्लाको मेलौली नगपालिकामा गत साउन १० गतेदेखि विद्यालय खुलेका हुन् भने शिवनाथ गाउँपालिकाले भदौ २ गते बुधबारदेखि विद्यालय पुनः सञ्चालन गर्ने जनाएको छ । यी दुवै स्थानीय तहमा हाल कोरोनाका सक्रिय सङ्क्रमित नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोना महामारीका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा बालबालिकामा नकारात्मक प्रभाव परेकाले विद्यालय पुनः सञ्चालन गर्ने निर्णय भएको गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले बताउनुभयो । कोभिडको सङ्क्रमण कम हुँदै गएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा ल्याउने निर्णय भएको हो । शिवनाथमा हाल कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य छ । “शिक्षणका वैकल्पिक माध्यम पनि प्रभावकारी नभएकाले विद्यालय पुनः सञ्चालनको निर्णय भएको हो”, उहाँले भन्नुभयो, “भौतिकरूपमै कक्षाकोठामै पठनपाठन हुन्छ, स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइन्छन् । जोखिम हुनसक्ने भएकाले प्रत्येक विद्यालयमा मास्क र स्यानिटाइजरको व्यवस्थाका लागि रकम पठाइसकेका छौँ ।”

शिवनाथ गाउँपालिकामा ३५ वटा सामुदायिक विद्यालय छन् । शिवनाथ विद्यालय पुनः सञ्चालन गर्ने जिल्लाको दोस्रो स्थानीय तह बन्ने भएको छ । यसअघि जिल्लाको मेलौली नगरपालिकाले पनि साउन १० गतेदेखि विद्यालय सञ्चालनमा ल्याइसकेको छ । मेलौलीमा कोरोना जोखिम भएका क्षेत्रमा सामुदायिक कक्षा र टोल कक्षा सञ्चालन भइरहेका र जोखिम नभएका ठाउँमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन भइरहेका जनाइएको छ । मेलौलीमा ४६ वटा सामुदायिक विद्यालय छन् ।

जिल्लाको पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर मावि खोड्पेले टोल शिक्षण सिकाइ सञ्चालनमा ल्याएको छ । कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि विद्यालयको सेवा क्षेत्रमा रहेका टोलमा कक्षा सञ्चालन गरिएको जनाइएको छ ।

बैतडीका अन्य स्थानीय तहले पनि विद्यालय पुनः सञ्चालनको तयारी गरिरहेको शिक्षा विकास तथा समन्वय समिति बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “केन्द्र सरकारले स्थानीय सरकारलाई कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय पुनः सञ्चालन गर्नसक्ने अधिकार दिएको छ, सोहीअनुसार तयारी गरिरहेका हुन् ।”

जिल्लामा अहिले २८ सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा २० रहेका छन् । यस्तै पाटन नगरपालिकामा दुई, पुर्चौंडी नगरपालिकामा दुई, सिगास गाउँपालिकामा दुई, दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकामा एक÷एक जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण बैतडीमा हालसम्म १८ जनाको मृत्यु भइसकेको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।