आन्तरिक पर्यटकलाई लोभ्याउँदै विजारे पाटन

जितेन्द्र थापा /दैलेख,४ असोज । वरिपरी हरियाली वातावरण, बीचमा भकुण्डो आकारको मनै लोभ्याउने विजारे पाटन । यहाँबाट मौसम सफा भएका बेला वरपरको वातावरणका मनमोहक दृश्य देख्न पाइन्छ । अझ हुस्सु र सूर्यले खेल्ने लुकामारी खेलले जो कोहीलाई लोभ्याउँछ ।

गुन्यूँ चोलीमा सजिएकी युवती साँझ बिहान घाँस दाउरा काट्न जाँदा फर्किंदा लागेको लस्करले पाटनलाई झनै मनमोहक बनाउँछ । पाटनका बीचमा एउटा आर्कषक सुन्दर भकुण्डो आकारको विजारे ताल पनि अवस्थित छ । दैनिकजसो यहाँ आन्तरिक पर्यटक मनमोहक दृश्य हेर्नलाई पनि पुग्छन् । कोही वर्षौंदेखि आफ्ना हितैषी मित्रसँग भेटिँदाका अन्तर हृदयमा गुम्सिएका कुरा पाटनमा बसेर मस्तले गफिन्छन् । अझ भनौँ, पाटनमा गाई चराउने केटाकेटी विभिन्न खेल खेलेर रमाउँछन् भने महिला पुरुष एकान्त ठाउँमा आफ्ना दुःखका वेदनालाई स्मरण गर्दै ठाडी भाका गाउँछन् ।

वैशाख र जेठमा काफल ऐँसेलु टिप्न जानेको घुइँचो हुन्छ । अझ वसन्त ऋतुमा त चराचुरुङ्गीको चिरबिर आवाज र पालुवा पलाउँदा विजारे पाटन झनै मनमोहक देखिन्छ । पर्यटकलाई कोहिलीको मिठो स्वरले झनै मन्धमुग्ध बनाउँछ । सुनिरहुँ लाग्छ ।

विजारेमा सडक पुगेसँगै बस्ती पनि बस्न थालेका छन् । पहिले फाट्टफुट्ट रूपमा देखिने घर अहिले बढ्दै गएका छन् । पश्चिम दैलेखका अधिकांश विद्यालयबाट यहाँ वनभोज खान आउने गरेका स्थानीय जीतबहादुर विष्ट बताउँछन् । ‘चिसो दिनभन्दा गर्मी दिनमा वनभोज खान धेरै आउँछन्, ‘विष्टले भने, ‘गर्मीयाममा घामले तातेका शरीरलाई सररर चल्ने चिसो हावाले शीतल प्रदान गर्ने भएकाले धेरै पर्यटक आउँछन् ।’

विजारे नजिकै महत्वपूर्ण मानिने धौलापडा गुफा, ठूला छहरा, थुल्छडी झरनाले पनि दर्शकलाई लोभ्याउने गरेको छ । समुद्र सतहदेखि करिब २३ सय मिटर उचाइमा रहेको विजारे पाटनमा वर्षको एक पटक हरितालीका तीजको अवसरमा मेला लाग्छ । हरितालीका तीजको अवसर पारेर चामुण्डा, आठबीस नगरपालिकादेखि थुप्रै चेलीहरु तीजमा नाच्न यहाँ पुग्छन् ।

प्रसारप्रसारको कमि र ओझेलमा पर्दै गएको पर्यटकीयस्थल विजारेमा पुग्न पर्यटन मन्त्रालयको पार्ट २ कार्यक्रम अन्र्तगत ट्रयाक खालेपछि गाउँपालिकाले वर्षेनी विजारेको सडक निर्माणका लागि बजेट विनियोजन गर्ने गरेको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले बताए ।

आन्तरिक तथा बाह्य पर्यटकलाई विजारे पुग्नका लागि असजिलो नहोस् भन्नका लागि सडक स्तरोन्नती गर्न बजेट विनियोजन गरिएको र यसै आर्थिक वर्षबाट काम सुरू हुने अध्यक्ष शाहीको भनाइ छ ।

दैलेखमा रहेका दुईवटामध्ये द्वारी झरना, क्षेत्र १ को सदरमुकामबाट सात कोष टाढा पर्छ । थुल्छडी झरना पाटनबाट एक दशमलव पाँच किलोमिटर खोचमा छ । करिब तीन घण्टा पैदल यात्रा गरेर ठाटीकाँध–३ मा रहेको मदान तालमा पुग्न सकिन्छ । यहाँ नाघे गुफा, व्यउली लेख तीनचुलीको अग्लो शीरजस्ता डाडाहरू देख्न सकिन्छ ।

विजारे पाटनदेखि राजापुर बर्दिया, बझाङको अपि सैपालसहितका विभिन्न हिमालहरू देख्न सकिने स्थानीय प्रेम रामजाली बताउँछन् । ठाटीकाँध–२, ३ र ५ मा राष्ट्रिय चरा डाँफे मुनाल, मयुर, बाघ, रतुवा, घोरललगायतका विभिन्न प्रजातिका चराचुङ्गी र जनावरको बास्थान भएको ठाउँ भएको स्थानीय बताउँछन् ।

विजारेदेखि करिब तीन घण्टाको पैदल यात्रापछि छिमेकी पालिका चामुण्डावीन्द्रासैनी नगरपालिका ३ स्थित जलगुफामा पुगिन्छ । करिब २५ मिटर लामो गुुफा प्रचारप्रसार संरक्षण अभावमा ओझेलमा परेको स्थानीय हिमाल रसाईली बताउँछन् । संरक्षण अभावमा गुफाभित्र रहेका हात्ती, वाघ, भगवान शिवपार्वती र अन्य जनावरका मूर्ति चोरी भएका र भग्वावशेष भएको स्थानीय रसाईलीको भनाइ छ ।

कर्णाली राजमार्गबाट दायाँ रामघाट सिंहासैन सडकखण्डको १९ किलोमिटरमा विजारे पाटन पर्छ । ठाटीकाँध बजार हुँदै भीमपाइला पुगिन्छ । यहाँको भीमगुफा पनि ओझेलमा छ । यहाँदेखि २० मिटर उकालो पैदल यात्रापछि विजारे पाटन भेटिन्छ ।

दैलेखमा रहेका पर्यटकीय स्थलहरूमध्ये पञ्चदेवल, शीरस्थान, बेलासपुर मन्दिर, कोटिला, नाभिस्थान, पादुका मन्दिर, नेपाली भाषाको पहिलो शिलालेख भएको दुल्लु पाथर नाउली पौवा र महाबुधाम पर्यकटको रोजाइमा पर्न थालेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।