दसैं लिएर फर्किए ‘कालापारे’

रुद्र सुवेदी/ नेपालगञ्ज, १७ असोज । खेती लाएर तीन महिनाअघि कामका लागि भारत ‘कालापार’ छिरेका कालापारे दसैं, तिहार मनाउन घर फर्कन थालेका छन् । उनीहरू स्वदेश फर्कदाको लर्कोले सीमा क्षेत्रमा समेत दसैंको रौनक ल्याएको छ ।

त्यसबेला महामारीको बीचमै भोको पेटले दिएको पीडा सहन नसकेर उनीहरू ‘कालापार’ छिरेका थिए । तर परिवारका अरु सदस्य यतै भएकाले सँगै चाडबाड मनाउन घर फर्काएको उनीहरू बताउँछन् । जमुनाह नाकामा भेटिएका पश्चिम रुकुमका राजु केसीले सँगै ल्याएको झोलातिर हेर्दै भने‘ कालापार आए पेट पनि पालियो दसँै पनि लिएर आएँ ।’ उनले सिमा क्षेत्रमा हुने अनेकन झन्झटले फेरि फर्केर न आउँ जस्तो लाग्ने भए पनि नआई नहुने बाध्यता सुनाए ।

उनी भारतको हिमाञ्चल प्रदेशको कुल्लु मनाली गएका थिए । ‘गाउँमा रोजगारी थिएन भोकै मर्नु भन्दा रोजगारी खोज्न हिडिँयो । तीन महिनाअघि सिमला गएको थिए । आज फर्कदँै छु’ हातमा भएको गम्छाले पसिना पुछ्दँै उनले भने । उनीसँग गाउँकै आठ जनाको समूह सँगै फर्किएको छ ।

सल्यान कुभिण्डेका जंगबहादुर खड्काको टोली पनि हस्याँङफस्याँङ गर्दै जमुनाह नाका हुँदै स्वदेश छिरेको छ । उनी पनि गत जेठमा मकै रोपेर भारतको सिमला गएकोे बताउँछन् । ‘गाउँमा काम थिएन । भारत नगई सुखै भएन, गइयो अलिअली जोहो गरी आइयो,’ आफ्नो शरीरभन्दा ठूलो भारी बोकेका उनले भारी बिसाउँदै भने । सल्यान खलंगाका रिमबहादुर गिरी पनि साथीहरूसँगै दसंै मनाउन लद्दाखबाट घर फर्किएका छन् । उनी गत असार दोस्रो साता कामको खोजीमा लद्दाख पुगेका थिए ।

माथि उल्लेखित व्यक्ति प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरू जस्तै दैनिक हजारभन्दा बढी ‘कालापारे’को लर्को अचेल जमुनाह नाकामा भेटिन्छ । भारतमा कामको खोजीमा जानेहरूलाई यहाँका बासिन्दा ‘कालापारे’ भन्छन् ।

नाकामै कोरोना परीक्षण
जमुनाह नाकामा भारतबाट आउनेलाई कोरोना परीक्षण गरि घर पठाइने व्यवस्था छ । नाकाको हेल्थ डेस्कमा उनीहरूको एन्टीजेन प्रविधिबाट कोरोना परीक्षण हुन्छ ।

कर्णाली प्रदेशको सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, रुकुम, कालीकोट, जुम्लालगायत सुदूरपश्चिम प्रदेशको अछाम र लुम्बिनी प्रदेशका दाङ, रुकुम पश्चिम, रोल्पा र प्यूठानका सर्वसाधारण जमुनाह नाका भएर आउने गर्छन ।

जमुनाह नाकाबाट दैनिक सरदर एक हजार पाँच सय नेपाली स्वदेश फर्किने गरेको इलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले पर्व लक्षित सुरक्षा पोष्ट बढाउनुको साथै उनीहरूलाई सहज र सरल तरिकाले गन्तव्यसम्म पठाउन निर्देशन दिएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।