बेलहियाबाट दैनिक चार सय नेपाली भित्रिंदैः नेपालीलाई एन्टीजेन र विदेशीलाई पीसीआर अनिवार्य

बुटवल, १९ असोज । सीमानाका खुलेपछि रुपन्देहीको बेलहिया नाका हुँदै दैनिक झन्डै चार सय नेपाली भारतबाट स्वदेश फर्किन थालेका छन् ।

१८ महिनादेखि बन्द रहेको बेलहिया नाका गत आइतबारदेखि सुचारु भएसँगै सीमा क्षेत्रमा चहलपहल बाक्लिएको छ । कोभिड-१९ का कारण १० चैत ०७६ देखि नेपाल-भारत सीमा बन्द थियो । बीचमा सरकारले नाका सुचारु हुने संकेत गरे पनि कोभिडकाे दोस्रो चरण सुरु भएसँगै बन्द थियाे ।

इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक नवीन पौडेलले स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै स्वदेश आउने नेपाली एवं विदेशी पर्यटकलाई प्रवेश अनुमति दिइएको जानकारी दिए । ‘अहिले दैनिक करिब चार सयजना नेपाल प्रवेश गरिरहेका छन्, उनीहरूलाई स्वास्थ्य मापदण्ड अपनाएर मात्रै गन्तव्यतर्फ जान दिएका छौं,’ उनले भने ।

सीमा क्षेत्रबाट प्रवेश गर्ने नेपाली यात्रुको हकमा सामान्य ज्वरो नापेर शंकास्पद देखिए एन्टीजेन परीक्षणको व्यवस्था गरिएको छ । एन्टीजेन परीक्षणमा पोजेटिभ आए पीसीआर परीक्षण गरिने र पीसीआरको नतिजाको आधारमा यात्रुको व्यवस्थापन गरिने प्रहरी निरीक्षक पौडेलले बताए ।

भारतीय पर्यटकले भने ७२ घन्टे पीसीआर रिपोर्ट देखाई जिल्लास्तरीय कोभिड नियन्त्रण विशेष समिति (सीसीएमसी) द्वारा निर्धारित फारम भरेर नेपाल प्रवेश गर्न पाउने उनको भनाइ छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार भारतीयको हकमा पूर्ण खोप भने अनिवार्य छैन । यसैगरी, तेस्रो मुलुकका पर्यटकको हकमा ७२ घन्टे पीसीआर रिपोर्टसहित कोभिडविरुद्धको पूर्ण खोप लगाएको कागजात पनि आवश्यक पर्ने तिवारीले जानकारी दिए । भारतीय पर्यटक र यात्रुसहित निजी भारतीय सवारी नेपाल भित्रिन थालेपछि यहाँका पर्यटन व्यवसायी तथा होटल व्यवसायीसमेत उत्साहित बनेका छन् ।

कोभिडका कारण लामो समयदेखि थला परेको पर्यटन व्यवसाय नाकामा आवागमन सहज हुन थालेसँगै उकासिने उनीहरूको भनाइ छ ।

अहिले सीमानाकाबाट विशेषगरी दशैं मनाउने नेपालीहरू प्रवेश गरिरहेका छन् । तीमध्ये गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा, कास्कीलगायत पहाडी जिल्लाका युवाहरू धेरै रहेको बेलहियाका प्रहरी प्रमुख पौडेलले बताए । नेपालीहरू धेरै ठूलो संख्यामा स्वदेश फर्किन थालेपछि स्वास्थ्य जाँचमा पनि समस्या पर्ने गरेको उनको भनाइ छ । भारतबाट फर्किएका नागरिकलाई गन्तव्यसम्म पुर्‍याउनेदेखि उनीहरूको गुनासो सम्बोधनका लागि बेलहिया नाकामा नागरिक सहायता कक्षसमेत स्थापना गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।