चाडबाड नजिकिँदा आउँछ परदेशी छोराको याद

सुशीला रेग्मी/रामपुर (पाल्पा), २६ असोज (रासस) ः “नमुछे आमा दहीमा टीका नछरे जमरा ।
दैवले पर्दा उठायो आमा आउँदिन फर्केर ।।”

दसैँका समयमाा बज्ने प्रसिद्ध गायक नारायण रायमाझीको यो गीत सुन्दा कसको पो मन भक्कानिँदैन र ? स्वदेशमा रोजगारीका अवसर नहुँदा विदेसिन बाध्य लाखौँ नेपाली युवाका परिवारमा यतिखेर दसैँ, तिहार, छठ जस्ता महान् चाड नजिकिँदै गर्दा खुसीभन्दा पनि चिन्ता भरिएको देखिन्छ ।

परदेशमा रहेको छोरा दसैँको बेला घर नआउँदा आमाको मन नराम्रोसँग कँुडिएको छ । घरको पिँढीमा बसेर त्यही परदेशी छोरालाई सम्झेर बस्नु यतिखेर उनीहरूको दैनिकी जस्तै बनेको छ ।

“दसैँ लाग्यो यसपालि पनि घर आउन पाइएन आमा भनेर छोराले फोनमा भन्यो, सबैका छोरा घरमा आउँदा परदेशमा भएको छोरालाई सम्भmेर मन साह्रै रुन्छ”, यस्तै बिलौना पोख्नुहुन्छ, रामपुर नगरपालिका५ स्थित सुन्दरटोलकी ६२ वर्षीया अम्बिका न्यौपाने ।

उहाँका पाँच भाइ छोरा र एक छोरीमध्ये साथमा दुई छोरा मात्रै घरमा छन् । अरू सबै परदेशी भूमिमा छन् । वर्षदिनमा एकपटक आउने ठूलो चाडपर्वले परदेशमा भएका छोराछोरी घर नफर्कंदा बेलाबेलामा मन भक्कानिएर आउने गरेको उहाँ बताउनुहुन्छ ।

“तीन भाइ छोरा कुबेत र दुबईको रोजगारीमा छन्, एक छोरी घरजम गरेर भारतमा बसोबास गर्छिन्, यसपालि पनि परदेशमा भएका सबै छोराछोरी घर नआउने भए,” दुःख व्यक्त गर्दै उहाँले भन्नुभयो, “दसैँमा घर आउन मन थियो तर छुट्टी पाइएन आमा नरोइर्कन दसैँ मनाउनु भनेर छोराछोरीले फोन गरेर भने, त्यो भनेपछि झनै मन थामिएको छैन ।”

चाडपर्वका बेला मिठोमसिनो घरमा पाक्दा पनि रातदिन परदेशमा रहेका छोराछोरीलाई उहाँ सम्झनुहुन्छ । उहाँलाई दसैँ नजिकिँदै गर्दा घरमा भएको छोरा परदेशमा झोला बोकेर निस्कँदा झन् पीडाबोध भएको छ । “दुई भाइ छोरा परदेशमा थिए, अर्को घरमा भएको छोरा पनि घटस्थापनाको अघिल्लो दिन मात्रै परदेशको बाटो लाग्यो, बुबाआमालाई सधैँ छोराछोरी काखमै भए हुन्थ्यो भन्ने लाग्छ, तीनै परदेशी छोराछोरीलाई सम्झेर रुँदै दिनरात बितेको छ,” उहाँले आँसु पुछ्दै भन्नुभयो ।

घरभित्र उमारिएका जमरा, छरछिमेकका छोराछोरी घरमा भित्रँदा बुबाआमालाई अझ बढी आफ्ना सन्ततिको यादले झस्काइदिन्छ । यतिबेला दसैँ पर्व मनाउन स्वदेश तथा विदेशमा रहेका नेपाली घर फर्कंदा गाउँमा चहलपहल छ । सहर बजार सुनसान बनेका छन् ।

स्वदेशमा जागिर पाइएन, विदेश पठाउनुपर्ने बाध्यता चाडपर्व आउँदा छोराछोरीकै झल्को आउने ७४ वर्षीय चुडामणि न्यौपाने बताउनुहुन्छ ।

“नातिनातिना र बुहारीलाई हेरेर चित्त बुझाउने त होला नि, कमाई पनि गर्नै प¥यो तर ठूलाठूला चाडपर्वमा छिमेकीका छोराछोरी झोला बोकेर घर आउँदा हाम्रा पनि आइदिए हुन्थ्यो भन्ने लाग्दोरहेछ”, उहाँले भन्नुभयो ।

उहाँ भन्नुहुन्छ, “हाम्रा पालामा त विदेश जाने चलन नै थिएन, गाउँमै कुटो कोदालो गरेर जीवन धानियो, अहिले त गाउँमा बसेर कोही काम गर्दैनन्, विदेशमा पैसा रूखमै टिप्न पाइने झैँ गरेर उतै दौडिन्छन् ।” “ए परदेशी आऊ है गाउँमै दसैँ तिहार आइसक्यो झल्को लाइसक्यो,” लोकगायिका विष्णु माझीको यो गीतले पनि परदेसिएका नेपालीका परिवारको मन झस्काइदिएको छ । परदेशमा रहेका सन्तति, श्रीमान्, आफन्तसँगसँगै बसेर दसैँ मनाउने रहर कस्लाई पो नहोला र ?

परदेशको जागिर भनेको समयमा छुट्टी नमिल्दा दसँै पर्वमा घर जान नपाउँदाको पीडा परदेशीका पनि उत्तिकै छन् । यसपालीको दशैँमा पनि परदेशीको छुट्टी नमिल्दा चाडपर्व आउँदा पनि नरमाइलो लागेको अनुभव सुनाउनुहुन्छ, लिमिसरा राना ।

“गाउँमा जताततै चाडपर्वको रौनक छ, श्रीमान् परदेशमा हुनुहुन्छ, मनमा पीर त हुन्छ नै तर पनि चित्त बुझाउनै प¥यो,” उहाँले भन्नुभयो ।

चाडपर्व घरपरिवारसँगै रमाइलो गरी मनाउने रहर भए पनि मनभित्रै पीडा र वेदनालाई लुकाएर परदेशी भूमिमा बस्नु परेको पाल्पा रामपुरका कमल पराजुलीले बताउनुभयो ।

अर्काको अधीनमा बसेर काम गर्नुप¥यो, भनेको समयमा घर जान नपाइने, चाडपर्वको बेला घरपरिवार, आफन्त र गाउँको बढी याद आउने गरेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार विदेशमा रहे पनि नेपाली मुलुकका साथीभाइबीच एकापसमा सँगै बसेर परम्परा र संस्कृति धान्दै दसैँ मनाउने गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।