पहिराेले अवरुद्ध बेसीसहर-चामे सडक सूचारु
लमजुङ, १३ कात्तिक /बेमौसमी वर्षापछिकाे पहिराेले अवरुद्ध बेसीसहर-चामे सडक सूचारु भएको छ । २ कात्तिकमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियोे । तिमाङ झरनामा पुल निर्माण भएपछि मनाङभर सडक सुचारु भएको छ । तिमाङ झरनाको पुल मर्मत सम्पन्न भएसँगै बेसीसहर-चामे-खाङसार सडक पूर्णरूपमा सुचारू भएको जिल्ला प्रसाशन कार्यालय मनाङले जनएको छ ।
बाढीपहिरोले क्षति पुर्याएकाे ठाउँमा मर्मत गर्नुका साथै खोला तथा खोल्सीमा अस्थायी काठेपुल निर्माण गरी आउजाउलाई सहज बनाएको प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताए । उनका अनुसार जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधिले बाटो खुलाउन भूमिका निर्वाह गरेका थिए । प्रजिअ आचार्यका अनुसार भ्राताङभीर साथै भ्राताङ र तलेखुबीचको सडकमा विस्फोटक पदार्थ प्रयोग गरी सडक मर्मत गरिएको थियो ।
अहिले माथिल्लो मनाङमा नेपालको जुनसुकै ठाउँबाट सीधै आउन सकिन्छ । बाढीपहिरोले चामे गाउँपालिकाको कोतो नजिकैको भीर, थान्चोक र तिमाङबीचको खोला, स्याल्क्युखोलाको अस्थायी काठे पुल, तिमाङखोला, बगरछाप एक्लेभट्टि, खोत्रो, निगालाघारी लगाायत १२ ठाउँमा क्षति पुर्याएकाे थियो । सडक मर्मत गरिएपछि बेसीसहरदेखि मनाङ जाने सडक खुलेको डुम्रे–बेसीसहर–चामे सडक योजनाका प्रमुख इन्जिनियर अच्युतविलास पन्तले बताए । ६५ किलोमिटरको बेसीसहर–चामे सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्छ ।
यो पनि पढ्नुहोस्..बन्दीपुरका किसानलाई आलु बीउ वितरण
तनहुँ, १३ कात्तिक । बन्दीपुर गाउँपालिकाकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत आलुको बीउ वितरण गरेको छ । विभिन्न कृषक समूह, सहकारी, सामूहिक खेती र व्यक्तिलाई समेत गरी नौ हजार ३०० किलोग्राम आलुको बीउ वितरण गरिएको हो ।गाउँपालिकाले एमएस ४२ निलो र गजुरी रातो उन्नत जातका आलुको बीउ वितरण गरिएको जनाएको छ । विभिन्न व्यावसायिक संस्थामा आबद्ध कृषकलाई पाँच हजार ३०० र समूह र सहकारीमा आबद्ध भएका किसानलाई चार हजार किलोग्राम आलुको बीउ वितरण गरिएको हो । प्रतिकिलो रु ५४ पर्ने आलुको बीउमा गाउँपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लगानीमा आलुको बीउ वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुबेदीले जानकारी दिनुभयो ।
गाउँपालिकाभित्रका किसानका लागि आवश्यक पर्ने आलुको बीउको लागि सूचना प्रकाशित गरी किसानको मागअनुरुप बीउ मगाएर वितरण गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । गाउँपालिकाका किसानलाई तरकारी खेतीतर्फ आकर्षित गरी आत्मनिर्भर बनाउनुको साथै उनीहरुको आयआर्जनमा सबल बनाउन गाउँपालिकाले सक्रिय भूमिका खेल्दै आएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो ।
किसानलाई अनुदान, उन्नत बीउ, कृषि यन्त्रकोक्षेत्रमा समेत सहयोग गर्दै आएको उहाँले बताउनुभयो । किसानका लागि अनुदानका कार्यक्रम ल्याएपछि थप उत्साहित भएर कृषि पेसामा लाग्न थालेको उहाँले बताउनुभयो । गाउँपालिकाभित्रका किसानलाई बाख्रा, कुखुरा, फलफूल तरकारी, दुग्ध उत्पादनलगायतका क्षेत्रमा अनुदान प्रदान गरेर उत्प्रेरणा जगाउने कार्यको समेत गाउँपालिका कार्यालयले सुरुआत गरिसकेको छ ।


