हराउँदै भैलीको मौलिकता

तारानाथ आचार्य/बलेवा, १८ कात्तिक (रासस) : सोह्र वर्षको उमेरमा भैली खेल्दा जम्मा भएको चामल बोराभरि बोकेर सातगाउँ डुल्नुभएका बागलुङको गलकोट नगरपालिका–४ का भवदत्त न्यौपानेलाई अहिले पनि भैलेनीको खुब याद आउँछ । सत्तरी वर्षीय न्यौपानेलाई उहिलेको भैलेनी सम्झिँदा अहिले पनि मारुनी बनेर नाचौँ नाचौँ लाग्छ । महिलाको वेशमा पुरुषले सोरठी गीतमा नाच्नुलाई मारुनी भनिन्छ ।

गाउँभरिका तन्नेरी जम्मा भएर भैली खेल्दा, मारुनी नाच्दा रमाइलो हुन्थ्यो । कात्तिके दान जसको घरमा जे छ, त्यही दिने चलन थियो । चामल, धान कोदोलगायतका अन्न धेरै दान पाइने भएकाले बलिया युवा भैलेनीमा खोजी हुन्थे । बारीका कान्ला हुन् वा बाटोका पर्खाल भैलेनीमा हिँडेका युवाले जरक्कै भारी बोकेर पार लगाउँथे ।

बलिराजाका कथा सोरठीको भाकामा गाउँदै मारुनी नाच्दा सातगाउँ डुलेको र रात कटेको पत्तै हुँदैनथ्यो रे उहाँलाई । राँको बालेर अक्करे भीरको बाटोमा हल्ला गर्दै हिँडेको तन्नेरी जोश अहिले बुढ्यौलीमा झल्झली याद आउँछ तर अहिले न्यौपानेले भैलेनी नदेखेको धेरै वर्ष भयो । आफूले गाउन नाच्न नसके नि अहिलेका नयाँ पुस्ताले भैलेनी खेलेको हेर्ने न्यौपानेको रहर छ ।
“न भैलेनीका गीत सुनिन्छ न नाच भैलेनीको जस्तो छ”, न्यौपानेले भन्नुभयो, “अहिले त गीत र नाच पनि सबै अर्कैका हुन्छन्, चन्दा माग्न हुल बाँधेर आएजस्तो, हरियो गोबरले लिपेको लक्ष्मीको पूजा गरेको कथा जस्तै हुन थाल्यो ।”

बागलुङको जैमिनी नगरपालिका–१० का खगेन्द्र पौडेल पनि उ बेला भैलेनीका प्रखर गायक हुनुहुन्थ्यो । पचास वर्षीया पौडेल गाउने, नाच्ने र भट्याउने सबै कला भएका कलाकार हुनुहुन्थ्यो । गाउँमा विद्यालयका लागि सहयोग गर्न होस् वा गोरेटो बाटो बनाउन किन नहोस्, राजनीतिक पार्टीको खर्च चलाउनेसम्मका कामका लागि भैली खेल्ने गरेको उहाँको अनुभव छ । पौडेलले पनि धेरै भयो सामाजिक भाव राखेर खेलिएको भैलो नदेखेको ।

“कति हिँडियो, कति गाइयो नाचका कुरै नगरौँ, भैलीको आफ्नै मौलिकता थियो”, पौडेल भन्नुहुन्छ, “आजभोलि त हिन्दी र अङ्ग्रेजी गीतमा नाचेर भैलो भन्छन् ।” विशेषगरेर तिहार पर्वमा खेलिने भैलो हराउँदै गएकामा पुराना पुस्ता चिन्तित छन् । भैलीको आफ्नै मौलिक पहिचान र इतिहास छ तर नयाँ पुस्ताले एकातर्फ भैलीको मौलिकतामाथि प्रहार गरिरहेको छ भने अर्कोतर्फ भैली खेल्ने संस्कृति नै लोप हुने अवस्थामा छ । अहिले भैलेनी आँगनमा आउँदैन, आँगनको फेरो हालेर भैलेनी नाच्दैनन् । डेक र स्पिकरमा घन्केका गीतमा हुने नृत्यले न त तिहार सम्झाउँछ न भैलोको कुनै छनक दिन्छ ।

विक्रम संवत्को १४ औँ शताब्दीबाट भैली खेल्ने परम्परा सुरु भएको हो । लोकसाहित्यका जानकार प्राध्यापक डा दीनबहादुर थापा भन्नुहुन्छ, “उ बेलाको बृहत् खस राज्यबाट यो प्रचलन सुरु भएको हो । त्यतिबेला खस राज्यका प्रभावशाली राजा बलिले सामाजिक कामका लागि सेवा भावले चन्दा उठाउन बठाएको कथासँग भैलो जोडिएको छ ।”

उहाँका अनुसार भैलोमा सोरठी गाउने चलन छ । खस राज्यमा गाइने सोरठी पनि दुई प्रकृतिको हुन्थ्यो । मङ्गोल समुदायले ढिलो सोरठी गाउँथे । सोरठीमा जयसिंह राजाको कथा गाइन्थ्यो भने आर्य समुदायले अलि छिटो गाउँथे । आर्य समुदायले राम चरित्रमा आधारित गीत गाउँथे । “ताल, नाच, लय भाव एउटै थियो, मात्रै गीतको गति र विषयवस्तु फरक रहेको पाइन्छ”, थापाले भन्नुभयो, “भैलोसँग कला संस्कृति, परम्परा र समाजसेवा धेरै क्षेत्रसँग जोडिएको छ ।”

अहिले भैलोको मर्म मारेर भैलो खेलिने गरेको थापाको बुझाइ छ । समाजसेवाका लागि दान सङ्कलन गर्न गाइने भैलो अहिले सीमित स्वार्थ पूर्तिका लागि प्रयोग हुने गरेको उहाँले गुनासो गर्नुभयो । “पहिले पनि माग्थे, अहिले पनि माग्छन्, मनोरञ्जनका लागि खेलिने भैलोमा पहिले र अहिलेमा फरक छैन”, थापा भन्नुहुन्छ, “मात्रै पहिले विशुद्ध समाजसेवा र मनोरञ्जनसँग जोडिएको भैलो अहिलेको तडकभडकले कहाँ पु¥यायो ।” भैलोमा आएको विकृति सुधार गर्दै संस्कृतिको संरक्षण गर्नुपर्ने तर्क छ उहाँको ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।