केराको थाम र फूलमालाको व्यापार बढ्यो

सञ्जीतकुमार मण्डल/जलेश्वर, १८ कात्तिक (रासस) ः दीपावलीका अवसरमा महोत्तरीका जलेश्वरसहित मिथिला क्षेत्रमा केराको थाम र फूलमाला बिक्री गर्नेहरुको भीड बढेको छ । बिहीबार बिहानैदेखि जलेश्वरसहित जिल्लाका प्रायः सबै बजारमा केराका थाम र फूलमाला बिक्री वितरण गर्ने किसानको भीड बढेको हो । जलेश्वर बजार क्षेत्रका व्यापारिक प्रतिष्ठान र पसलहरुमा लक्ष्मी पूजाका दिन फूल र केराका थामको प्रयोग गरी स्वागतद्वार बनाउने चलन छ । योसँगै केरा थामको कारोबारमा समेत वृद्धि भएको छ ।

दिपावली पर्व केरा खेती गर्ने किसानका लागि विशेष अवसर बनेको छ । दिपावली (तिहार) पर्वको मुख्य दिन मानिने लक्ष्मीपूजाका दिन घर–घरमा केराका थामबाट स्वागतद्वार बनाइने आम प्रचलनले किसानका लागि यो पर्व आयआर्जनका लागि विशेष अवसर बनेको हो । दिपावली पर्वमा लक्ष्मी पूजाका लागि स्वागतद्वार बनाउन केराको बोट सजाइने मैथिल परम्पराअनुसार जिल्लाका गाउँनगर बस्तीमा केराका थामको माग बढ्ने गरेको छ । आज बिहानैदेखि लाखांैको केराको बोट बिक्री भएको छ ।

लक्ष्मीपूजाका दिन जिल्लाको प्रत्येक गाउँ सहरमा अवस्थित पसल, बजार, प्रष्ठिान, वित्तीय संस्था र घर अगाडिसमेत केराको बोट गाडिने प्र्रचलन रहेको कारण आाज बिहानै महोत्तरीमा रु पाँच लाख बढीको केराको थाम बिक्री भएको जलेश्वर उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले बताउनुभयो ।

लक्ष्मीपूजाको दिन हरेक पसल, व्यापारिक प्रतिष्ठान र घर अगाडि केराको बोट रोपेर झिलिमिली बत्ती बाल्दा लक्ष्मी आउने र धन प्राप्ति हुने जनविश्वास अनुरुप जिल्लाभरिका प्रत्येक पसल, व्यापारिक प्रतिष्ठान र घर अगाडि केराको बोट लगाइएको छ । यसका लागि लाखांैको केराको बोट बिक्री भएको जलेश्वर उद्योग वाणिज्य सङ्घ जलेश्वरका अध्यक्ष लवराजा सिंहले बताउनुभयो ।

यस क्रममा जिल्लाको जलेश्वर, बर्दिबास, गौशाला, पिपरा, मनरा, मटिहानी, बलवा, सरपल्लो, भ्रमरपुरालगायतका बजारमा गरी रु पाँच लाखभन्दा बढी मूल्य बराबरको केराको बोट बिक्री भएको व्यवासायीले बताएका छन् । लक्ष्मी पूजाको दिनलाई विशेष लक्षित गर्दै जिल्लाको सुन्दरपुर, औरही, मनरा, बेलालगायतका गाउँमा प्रत्येक वर्ष व्यावसायिक केराको बोट लगाएर लक्ष्मी पूजाको दिन लाखौंको केराको बोट बिक्री गर्ने गरिएको छ ।

आज बिहान ४ बजेदेखि नै जिल्लाको सदरमुकाम जलेश्वरसहित विभिन्न बजारमा केराका बोट बेचेका रघुनाथपुरका किसान राधेश्याम यादव, मनराका किसान दुखरण दास, महादेवपट्टीका किसान लोथवा महतो र श्रीपुरका किसान मनोहर मण्डलले आफूहरु एक÷एक लाखको केराको बोट बेचेको बताएका छन् । उनीहरुले व्यावासायिक रुपमै केराको थामको खेती नै गरेर बर्सेनि लक्ष्मी पूजाको दिन लाखौं रुपैयाँको कारोबार गर्दै आएका छन् भने अन्य स–साना व्यवसायी पनि सानो परिमाणमा थाम उत्पादन गरेर हजारौं आम्दानी गर्ने गरेको पाइएको छ ।

आजका दिन महोत्तरीका विभिन्न हाट बजारमा एउटा केराको बोट रु एक सय देखि १७५ मा र जोडाको रु दुई सयदेखि ३०० सम्ममा बिक्री भएको महोत्तरी उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

मिथिला क्षेत्रमा दिपावली र छठपर्वका अवसरमा स्वागतद्वार बनाउन परम्परागतरुपमा अनिवार्यजस्तै रहँदै आएको केराको थाम शुभ र लाभदायक हुने, केराका थामबाट बनाइएका स्वागतद्वारबाट लक्ष्मी गृह प्रवेश गर्ने विश्वासले यसको महत्व बढेको मिथिला संस्कृतिका जानकारहरुले बताएका छन् । बैदिककालदेखि नै प्रचलनमा रहेको यो परम्परा मिथिला लोक संस्कृतिको अभिन्न अङ्ग नै बनिसकेको उनीहरुको भनाइ छ ।

दिपावली र छठपर्वसमेतमा जिल्लाभरि गत वर्ष केराका घरी र थामसमेत गरी रु ३० लाखभन्दा बढीको कारोवार भएको जलेश्वर उद्योग वाणिज्य सङ्घको अनुमान छ । यसपालि एक साताअघि नै थामसँगै पर्वविशेषकै लागि घरीको समेत खरीद बिक्री शुरु भएकाले कारोवार रकम अझै बढ्ने छाँट देखिएको बताइएको छ । जिल्लामा पर्व विशेषमा हुने केराको थाम र घरी बिक्रीको आकर्षणले यसको खेती गर्ने किसानको सङ्ख्या र क्षेत्रफलमा समेत वर्षेनी बढ्दै गएको छ । अहिले जिल्लामा तीन हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा व्यावसायिकरूपमै केरा खेती हुँदै आएको कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।