युवाको अगुवाईमा गाउँमा बत्ती जडान
तनहुँ, १९ कात्तिक/तनहुँमा युवाहरु मिलेर गाउँ उज्यालो बनाएका छन् । भिमाद नगरपालिका–८ अरौदीका युवाले तिहारको बेला सडक बत्ती जडान गरेर गाउँँ उज्यालो पारेका हुन् । अजम्बरी युवा क्लबले आफ्नै कोषको रकम खर्चिएर सडक बत्ती जडान गरेको क्लबका अध्यक्ष नरविर आलेले बताए । २० ठाउँमा सडक बत्ती राखिएको उनले जानकारी दिए ।
आलेका अनुसार सडक बत्ती खरिद र जडानमा ८० हजार रुपैयाँ खर्च भएको छ । ‘क्लबको कोषमा रहेको रकम खर्च गरेका छौँ’, उनले भने, ‘नगरपालिकासँग पनि सडक बत्ती राख्न बजेट माग गरेका थियौं , सुनवाई भएको छैन् ।’ बजेट पाएको खण्डमा अझ धेरै स्थानमा सडक बत्ती राख्ने आलेले बताए ।
सडक बत्ती जडान गरेपनि मर्मत सम्भारका लागि बजेट अभाव हुने भएकाले क्लबले प्रत्येक घरधुरीसँग महिनामारी शुल्क उठाउने योजना बनाएको छ । क्लबले साँस्कृतिक, सांगीतिकलगायतको कार्यक्रम गरेर कोषमा रकम जम्मा गर्ने गर्दछ ।
नेपाल संवत्ले आपसी सद्भाव अभिवृद्धि गर्ने राष्ट्रपतिको विश्वास
काठमाडौँ, १९ कात्तिक (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल संवत् ११४२’ ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
‘नेपाल संवत् ११४२’ प्रारम्भ भएका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि आज शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले लिच्छवी राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरिब जनतालाई ऋणमुक्त गरी शङ्खधर साख्वाले संवत्लाई प्रचलनमा ल्याएको उल्लेख गर्नुभएको छ ।
“साख्वाले कृषिलाई प्राथमिकता दिएको कुरासमेत स्पष्ट हुन्छ । राष्ट्रिय विभूति साख्वाको लोककल्याण एवं परोपकारी कार्यको स्मरण गर्दै निस्वार्थ भावले समाजको हित, उन्नति र प्रगतिका लागि क्रियाशील रहन हामी सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ, “आदिकालदेखि नै नेपाली समाज सभ्य र सहिष्णु रहिआएको छ । हाम्रा चाडपर्व र यस खालका असल परम्पराले यसलाई थप सुदृढ बनाउँदै लगेका छन् । सांस्कृतिक एवं भाषिकरूपमा विविधतायुक्त नेपाली समाजमा सहिष्णुता र एकताको प्रवद्र्धन गर्ने उत्सवका रूपमा नेपाल संवत् मनाउन सबैमा आह्वान गर्दछु ।”


