छैन देउसी भैलोको रौनक

म्याग्दी, २० कात्तिक (रासस) :झिलीमिली उज्यालो, मखमली फूल र देउसीभैलोको सङ्गीतमय वातावरणले तिहार पर्वलाई उत्सवमय बनाउँछ । तिहारमा देउसीभैलो गीत गाउँदै नाच्दै आशिष दिने र घरधनीले क्षमताअनुसार दान दिने चलन छ । भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने बरदान पाएका बलिराजाले ‘भलो होस्’ भनी घरघरमा आशिष गीत गाउन लगाएको सम्झनामा देउसीभैलो खेल्न थालिएको धार्मिक विश्वास रहँदै आएको छ । पछिल्लो दुई वर्षयता म्याग्दीमा तिहारको बेला खेलिने देउसीभैलोको रौनक विगतका वर्षको जस्तो छैन । गत वर्षको तिहारमा कोरोना भाइरस महामारीले देउसीभैलो खेलिएन । यसपालि कोरोना महामारीको त्रास घटे पनि स्थानीय प्रशासनले रोक लगाएपछि देउसीभैलो खेल्नेको सङ्ख्या कम भएको हो ।

जिल्ला प्रशासन कार्यालयले कात्तिक १४ गते सूचना नै जारी गरेर मेला जात्रा, देउसीभैलो, खेलकुदजस्ता भीडभाडजन्य क्रियाकलाप गर्न रोक लगाएको थियो । बेनी बजारका हरिप्रसाद पौडेलले मेलाजात्रा र खेलकुद कार्यक्रम निर्वाधरूपमा चले पनि तिहारको सांस्कृतिक पक्ष देउसीभैलोलाई मात्र प्रशासनले हस्तक्षेप गरेको गुनासो गर्नुभयो ।“प्रशासनले खुला समाज र सांस्कृतिक उत्सवमाथि नै हस्तक्षेप गरेको छ”, उहाँले भन्नुभयो ।
बेनी बजारमा एउटा द साइनिङ नृत्य समूहको मात्र देउसीभैलो आयोजना गरियो । विगतमा आठदेखि १० वटा समूहले देउसीभैलो खेल्दथे । यसपालि विगतको जस्तो देउसीभैलोको रौनक नहुँदा तिहार खल्लो बनेको बेनी बजारका नैनकुमार श्रेष्ठले बताउनुभयो । “कोरोना भाइरसको महामारीका कारण गत वर्ष सुनसानजस्तै बनेको तिहारमा यसपालि केही चहलपहल बढे पनि दुई वर्षअघिको जस्तो रौनक छैन”, उहाँले भन्नुभयो, “अर्कातर्फ तिहारमा खेलिने देउसीभैलोमा पश्चिमा संस्कृतिको प्रभाव बढेको छ ।”

चर्को स्वरमा गीत बजाउने र रेकर्ड गरिएको गीतमा नृत्य देखाउने तथा आर्थिक सङ्कलनको मात्र स्रोत बनाइँदा देउसीभैलोको मौलिकता ओझेल परेको श्रेष्ठको गुनासो थियो । हिजो आज सामुदायिक विद्यालय सञ्चालन, अक्षयकोष स्थापना, सामाजिक तथा सार्वजनिक महत्वका सङ्घसंस्थाको संस्थागत विकासजस्ता उद्देश्य राखेर देउसीभैलो खेल्ने गरिन्छ तर आयोजकहरुले आम्दानी खर्च विवरण सार्वजनिक गरेको पाइँदैन ।

रेकर्ड गरिएका थाली, कौरा, सिरफुले, सालैजोजस्ता मौलिक गीत तथा नृत्य पनि समावेश गरेर आर्थिक स्रोत जुटाउने माध्यम बनाइएको छ । सामाजिक परिवर्तनको प्रभाव देउसीभैलोमा पनि पार्नुलाई स्वाभाविक मानिए पनि देउसीभैलोको खास महत्व र मर्म भने हराउन नदिन सचेत बन्नुपर्ने बेनीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठको भनाइ थियो ।

“आधुनिकताको अनुशरणसँगै मौलिक बाजा र भाकाको संरक्षण गर्न सकेमा कला र संस्कृतिको महत्व जीवन्त रहन्छ”, उहाँले भन्नुभयो, “देउसीभैलोको नाममा जबर्जस्ती पैसा माग्ने, पश्चिमा गीत तथा नृत्य प्रस्तुत गर्ने र सङ्कलित पैसाको दुरुपयोग गर्ने विकृति नियन्त्रणमा सबै पक्षले ध्यान दिनुपर्छ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।