बंगुर व्यवसायीको पीडा : नगरपालिकाको निर्णयले १७ करोड लगानी डुब्ने भयो

भक्तपुर, १५ कात्तिक/फाँटमा आँखैले नभ्याउने जस्ताको टहरा, टहराभित्र राखिएका छन् बंगुरहरू । त्यही टहरा (बंगुरको खोर)भित्र बंगुरका पाठा नाच्दै छन् त कुनैमा माउ बंगुर आफ्ना पाठालाई सुम्सुम्याउँदै । कसैले केही खानेकुरा दिन्छन् कि भनेर हेरिरहेका बंगुर । यो दृश्यलाई नजिकैबाट नियाल्दै छन्, सुरेश लामा । विगत पाँच वर्षदेखि बंगुर फार्म सञ्चालन गर्दै आएका उनले अहिले करिब २५ लाखभन्दा बढी लगानी गरिसकेका छन् । चाँगुनारायण नगरपालिका–९ ताथलीका चुनदेवीमा उनीसँगै ३५ वटा परिवारले बंगुर पाल्दै आएका छन् ।

उनको हरेक दिन बंगुरको स्याहारसुसारमा समय बित्ने गर्छ । उनलाई मानिसले भन्दा पनि बंगुरले बढी चिन्न थालिसकेको छ । तर, अब ती बंगुरलाई पनि कहिले छोडेर जानुपर्ने हो, कुनै टुंगो छैन । उनी भन्छन्, ‘चाँगुनारायण नगरपालिकाले केही दिन अगाडि बंगुर फार्म बन्द गर्न सूचना जारी गरेको छ । सूचना अनुसार हामीले बंगर पाल्न नपाइने भयौँ ।’

अनुहार मलिन पार्दै उनले भने, ’जीवनभरीको पसिनाको कमाइ यसैमा लगानी गरेका छौँ । यतिधेरै लगानी छाडेर हामी कहाँ जाउँ, कसरी जाउँ । भर्खर जन्मिएका पाठाहरू छन् । उनीहरूलाई कहाँ कसरी स्थानान्तरण गरौँ ?’

केही दिन अगाडि चाँगुनारायण नगरपालिकाले बंगर पालन बन्द गर्न निर्देशन दिएको छ । सूचनाअनुसार ३० दिनभित्र बंगुर फार्म नहटाए पालिकाले कारबाही गर्नेछ । तर, पालिकाले गरेको सो निर्णय अपरिपक्व रहेको व्यवसायीहरूको दाबी छ । पालिकाले कृषकलाई प्रोत्साहनको लागि सहयोग र अनुदान दिनुको साटो स्थापित भएका व्यवसायीहरूलाई नियमविपरीत उठाउन खोजेको उनीहरूको गुनासो छ ।

वैदेशिक रोजगारीबाट कमाएको पैसा फार्ममा लगानी गरेको र फार्मको ऋण अझ तिर्न बाँकी रहेको सुरेश लामा दुखेसो पोख्छन् । उनीसँगै कुमार लामाले पनि सोही क्षेत्रमा बंगुर पालन गरेका छन् । उनका फार्ममा सयभन्दा बढी बंगुरहरू छन् । मलेसियाको तातो खडेरीमा पसिना बगाएर कमाएको पैसा बंगुर फार्ममै खन्याए । नगरपालिकाको उक्त सूचना देख्नेबित्तिकै उनले भने, ’गरिबको पीडा बुझ्ने को नै छ र ? ’ उनले नगरपालिकाले पटकपटक बंगुर पाल्ने व्यवसायीलाई मर्कामा पार्दै आएको गुनासो गरे ।

‘हामीलाई नगरपालिकाले गैरनागरिक जस्तो व्यवहार गरेको छ । तर, हामी पनि यही देशको नागरिक हौँ । हाम्रो बंगुरबाट स्थानीयलाई असर गरेको छैन । नगरपालिकालाई मात्र कसरी ग¥यो ?’, उनले भने, ‘लगानी उठेको छैन । ऋणमै छौँ । त्यो पैसा कसरी चुक्ता गर्ने ? हामीमाथि नगरपालिकाले अन्याय गरेको छ ।’

करिब ४० रोपनी क्षेत्रफलमा फैलिएको सो फार्ममा करिब १७ करोड लगानी गरिएको दाबी उनीहरूको छ । नगरभित्र मात्रै करिब पाँच सयवटा फार्म सञ्चालनमा रहेको अनुमान पालिकाको छ । स्थानीय जनस्तरबाट बंगुर फार्मबाट फोहोर भएको र स्वास्थ्यमा नकरात्मक असर परेकोले पालिकाले सो सूचना जारी गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए ।

मानववस्ती र बंगुर पालन सँगसँगै बस्न नहुने भएकोले पटकपटक बंगुर फार्म सार्नको लागि निर्देशन गर्दै आएको बताए । तर, नगरपालिकाको निर्णयलाई नै चुनौती दिएकोले अहिले बन्द गर्न निर्देशन गरेको उनले बताए ।

नगरपालिकाको सार्वजनिक सूचनाअनुसार ५ मंसिरभित्र नगरभित्रका सबै बंगुर व्यवसायीले फार्म पूर्ण रुपमा बन्द गर्नुपर्ने छ । नगरसभाबाट नै नगरभित्रका बंगुर फार्म बन्द गर्ने निर्णय गरेको उक्त सूचनामा उल्लेख गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।